जनस्वास्थ्य विशेषज्ञ डा. रवीन्द्र समीर भन्छन्, ‘फेसबुक व्यक्तिको नीजि पत्रिका हो, पोस्टहरू सूचना–समाचार अनि तपाईं त्यसको सम्पादक हो !’ यसको अर्थ हो— सामाजिक सञ्जाल अब कसैको निजी मामिला रहेन । के लेख्ने, के नलेख्ने, कस्तो तस्बिर ट्याग गर्ने, कस्तो भिडियो सेयर नगर्ने भन्ने कुरामा फेसबुकका प्रत्येक ‘सम्पादक’ ले सचेत हुनुपर्छ भन्ने गजुरियल ठम्याइ छ ।

आजको दुनियाँमा ‘अनलाइन इन्फोटेन्मेन्ट’ जति लोकप्रिय हुँदैछ, यसको आतंक पनि त्यति नै फैलँदो छ । किनभने सामाजिक सञ्जालको प्रयोगद्वारा सूचित हुनेहरूको संख्या जति छ, यसको दुरुपयोगबाट पीडित हुनेहरू त्योभन्दा बढी छन् । एकाउन्ट ह्याकिङ, फोटो ट्यागिङ, च्याट मिस युजिङ, फेमिली डिटर्बिङजस्ता कारणले मानिस नीकै पीडामा परेको छ । भलै त्यो पीडा अहिले छरपस्ट भएको छैन, तर मानसिक रूपमा भुसको आगोजस्तै सल्किइरहेको गजुरियल ठम्याइ छ ।

गलत समाचार, द्विअर्थी सन्देश, हिंस्रक सूचना, आतंकित भिडियो, डरलाग्दा तस्बिर अनलाइन आतंकका थप शैली हुन् । कमलो स्वभावका मानिसहरूमा कुन समाचार सही हो, कुन सूचना गलत हो भन्ने विश्लेषण गर्ने क्षमता कम हुन्छ । कुन सन्देशलाई मनमा ग्रहण गर्ने र कुनलाई एक कानले सुनेर अर्को कानले उडाइदिने ज्ञान नहुँदा हामी अनलाइन आतंकको चपेटामा परेका हौं ।

अनलाइन प्रयोगकर्ताहरूले बुझ्नुपर्छ, इन्टरनेटमा आएका सबै समाचार सत्य हुँदैनन् । तिनीहरू कतिपय नियतवश अपलोड गरिएका हुन्छन् । जस्तो कि कसैलाई लाइक बढाउनु छ, कसैलाई भिजिटर थप्नु छ, कसैलाई कसैको बेइज्जत गर्नु छ, कसैलाई कसैको प्रमोसन गर्नु छ आदि–इत्यादि । आफ्नो नीच स्वार्थ पूरा गर्न उनीहरू आकर्षक शीर्षकरतस्बिर कभरमा राखेर आफ्नो पेजमा र्पुयाउँछन् र हामीलाई गुमराहमा राख्छन् । यो ‘इमोसनल ब्ल्याकमेलिङ’ लाई हामीले बुझेनौं भने प्रविधिलाई हामीले होइन, हामीलाई प्रविधिले नियन्त्रण गर्नेछ ।

यो आतंकबाट जोगिने प्रयास नभएका पनि होइनन्, तर आतंककारीहरूले नयाँ–नयाँ तरिकाले आतंकित पारिहाल्छन् । कतै ‘फोटो लाइक गरे फल मिल्ने’ आश्वासन दिन्छन् । कोही भिडियो सेयर गरे भाग्य चम्कने सपना बाँड्छन् । यसरी उनीहरू हाम्रो भावनामाथि अनलाइन खेलबाड गर्छन् । कस्ता समाचार पढ्ने, कस्ता अस्वीकार गर्ने, कस्तालाई उजुरी गर्ने, यो हाम्रो मुख्य समस्या हो । यो समास्याबाट जोगिएनौं भने कालान्तरमा हामी व्यक्तिगत र मानसिक रूपमा भुत्ते हुनेछौं ।

त्यसैले अनलाइन आतंकबाट जोगिन यहाँ केही गजुरियल अनुभव सेयर गर्दैछु । पहिलो कुरा, आफूलाई चाहिनेबाहेक अरू अनलाइनहरू सस्क्राइब गर्दै नगर्ने कुरा व्यवहारमा लागू गरौं । जस्तो कि, विश्लेषणात्मक समाचारका लागि एउटा जेन्युन वेबसाइट हेरे पुग्छ । मनोरञ्जनका लागि कुनै चल्तीको अनलाइन भिजिट गर्ने । राजनीतिमा रुचि भएकाले दुई–तीनवटा अनलाइन हेरे लगभग नेपालको राजनीति बुझ्न थप साइटहरूको लोड लिइरहनु पर्दैन भन्ने गजुरियल अनुभव छ । त्यसैले गजुरियल विश्लेषक भन्छ, पाँच–सातवटा राष्ट्रिय र आठ–दसवटा अन्तर्राष्ट्रिय साइट हेरे पुग्छ ।

दोस्रो कुरा, कसैले तपाईंलाई अनावश्यक सेयर र ट्याग गर्छ भने त्यसलाई एकपटक अनुरोध गर्नुहोस्, दोस्रो पटक सुझाव दिनुहोस् र तेस्रो पटक सोझै ब्लक गरिदिनोस् । आफ्नो लिंकमा भएका सबै अनलाइनका समाचार पढ्न थालियो भने हाम्रो मन चञ्चल हुन्छ, मस्तिष्क अस्थिर हुन्छ र बुद्धि भ्रष्ट हुन पुग्छ । कुनै पनि समाचारको शीर्षक मात्र हेरेर विश्लेषण नगरौं वा कुनै निष्कर्षमा नपुगौं ।

अनलाइनमा आउने धेरै शीर्षक र त्यसको विस्तृत समाचारबीच कुनै सम्बन्ध देखिँदैन । याद राख्नोस्, तपाईं–हाम्रो मस्तिष्क पवित्र ज्ञानहरूको मन्दिर हो, अनावश्यक कुरा राख्ने कन्टेनर होइन ।

साप्ताहिक, जेष्ठ २३, २०७३