भिडियो कोचमा मात्र चढेको यात्रुहरू सिन्कीकोचे यात्राको नाम मात्र सुने भने पनि छक्क पर्दा हुन् र भन्दा हुन् कस्तो होला त्यो सिन्कीकोचे यात्रा ? हामीले भिडियो हेरेझंै त्यहाँ सिन्कीको पोका देखाइन्छ होला या बास्नादार सिन्की सुघाइन्छ होला या बस चलाउँदा चलाउँदै मेसिनबाट सिन्की पेलिन्छ होला भनेर खुल्दुलीले मनभित्र खलबल मच्चाउन सक्छ । बिचराहरूलाई के थाहा सिन्कीकोचे यात्राको बारेमा । सिन्कीकोचे ट्राभल एण्ड टुरको यात्रामा रमिता नहेरेसम्म ।

बसको हरेक कुना कोप्चेरासम्म भरी छ, यात्रुहरूको निधारबाट पसिनाको झरी छ, धकेलाधकेल छ, पेलापेल छ र बलिया बाङ्गाको मनपरी छ । घरी यता जा, घरी उता जा भन्दै खलासीले अझ धकेल्छ । गल्लीमा पनि जतासुकै भीडभाड र घुइँचो छ, धक्कैधक्काले अडिरहेछ । अझ त्यसमाथि सिमेन्टका बोरा, चामलका बोरा, गन्हाउने कुखुराका दानाका बोराहरूको ओइरो, धुइरो गराउँदै जबरजस्ती जहाँ पायो त्यही हुत्याँइदिएकोछ । बस अझै खाली छ, अलि पर सर्नुुस् न भन्दै कराउन थाल्छ । कति आइमाईहरू त अलि पर सर्नुस् न भन्दै साप्रैमा आएर बस्न थाल्छन् । रङ्गिन श्वासप्रश्वासको ओहोरदोहर पनि उस्तै छ । कसैको रुवाइ, कसैको वान्ता गराइ र कसैको नजर जुधाइ त छँदैछ । बोतलको टुप्पामा चोचो जुधाइ । चुरोटको धुवाँको मपाइँले पनि ग्वाम्म छोपिएको छ । चाँडै गर ढिलो भो भन्दै एउटा यात्रु चिच्याउँछ । तर बस अझै चल्दैन । मानौं बस पूरै खाली छ र कमाइ हुँदैन कि भन्ने पीरमा छ त्यो प्वाँकप्वाँके चालक । बस छुटने समय बितेर पनि आधा घण्टा बढी गइसक्यो तर प्वाँकप्वाँक मात्र पारिरहेछ एकहोरो । असिनापसिना भएर शरीर मसिनजस्तो तात्तिए पनि न प्वाँकप्वाँकले चलाउँछ, न त खलासीले ढ्याप्प पार्छ । बरू अर्को बसको सिटमा बसेकालाई पनि सस्तो भाडाको लोभ देखाउँदै आफ्नो छतमा ओसार्छ ।

छतभरि, सिटभरि, गल्लीभरि, क्याबिनभरि जतासुकै सामान र मान्छेले बस नै कुच्चिएला जस्तो हुन थालेपछि बल्ल बल्ल बस स्टार्ट हुन्छ । पाँच मिनेटसम्म पाँच मुरी धुवाँ फालिसकेपछि फेरि स्टार्ट बन्द हुन्छ । स्टार्ट पटकपटक गर्न खोज्छ तर मर्न लागेको ठसठसी कन्ने बुढोभैंसीजस्तो गर्न थाल्छ । झर्नुस्, झर्नुस् उभिएका, कोच्चिएका र छतका झर्नुस् र बसलाई बेस्करी धकेल्नुस्’ भन्दै खलासी चिच्याउन थाल्छ । यात्रुहरू जाँड खाएजस्तो जाँगर नलागी नलागी झरेर धकेल्न थाल्छन् । जब स्टार्ट हुन्छ, फेरि चढ्नुस् भन्दै चिच्याउन थाल्छ । यात्रुहरू हत्त न पत्त स्वाँस्वाँ न फ्वाँफ्वाँ गर्दै र कराउँदै चढ्न थाल्छन् । केही परसम्म त ब्वाँङ्ब्वाङ्ती धुुलो उडाउँदै गुडन थाल्छ तर केही क्षणमै रोकिन्छ । केही बेरमा फेरि ‘छतका झरेर गाडीलाई धक्का मार्नुस्’ भन्दै ढ्याप ढ्याप पार्दे चिच्याउँछ । बसभित्र फेरि नजर नै तिर्मिराउने, कान ने जुर्मुराउने तमासा भइरहेको हुन्छ ।

एउटाले भन्छ ‘मेरो शरीरमा किन ह्वालह्वाल्ती वाकिस् ? थुइक्क मर्न नसक्ने पाजी’ भन्दै उफ्रिरहेको हुन्छ । ‘ए ! यो बड्डोले त मेरो पाइन्टमा पिसाब गरिदियो’ अर्को कराउँछ । ब्रेक पनि कस्तरी लगाएको झोल्टुङेले, मेरो त पूरै दाँत उछुट्टिएर कता खस्यो कता ! छ हजार हालेर बनएको पो त !’ भन्दै एक जना बाजे चिच्याउँछन् । अझ अर्कोले ‘मेरो चस्मा काँ खस्यो हँ’ भन्दै खोज्न थाल्छ । भर्खर बिहे भएर माइतमा पाइला फर्काउन हिडेकी दुलही ‘मेरी सिक्री भर्खरको भर्खर कसले लग्यो लौ ? कहाँ खस्यो लौ ! बरबादै भयो नि ! छापावाल सुनको डेढ तोलाको सिक्री पो हो त’ भन्दै रूँदै कराइराख्या हुन्छे । मैले छोडनेवाला छैन, कसले लग्यो एक–एकबाट ठीक गर्छु भन्दै उ¬सको लोग्ने कराइराखेको हुन्छ । ‘मेरो सिटमा बस्ने तपाई को ? यो नम्बरको सिट त मेरो पो हो, सिट नछोडे पर्छ अहिल्यै गोदागोद’ भन्दै एउटा यात्री अर्को यात्रीमाथि जाइलाग्न खोज्छ । अचानक बस स्टार्ट हुन्छ, बसभित्र यात्रीहरू अगाडि हुित्तन पुग्छ । एउटा डण्डीमा झुण्डिरहेको यात्री एकाएक उछुट्टिएर एउटा आइमाईको छेउमा पुग्छ । ‘तँ मेरो श्रीमतीलाई धक्काउन किन आइस् !’ भन्दै उसको श्रीमान् उफ्रिन थालेपछि भनाभन हुन्छ, भनाभनपछि तानतान हुँदै लौ जा हानाहान पो हुन्छ । बसभित्र होहल्ला र चित्कार गुन्जनमय हुन थाल्छ ।

उता बस भने एक किलोमिटर यात्रा पार नगर्दै थप यात्री बसमा कोच्नको निम्ति प्वाँकप्वाँक पार्दे ध्याँच्च बे्रक लगाउँछ । एकछिन पछि कछुवा गतिमा कहिले दायाँ ढल्किँदै त कहिले बायाँ ढल्किँदै बस अघि बढ्दै एउटा घुम्तीमा पुगेपछि बड्याङ्ग पड्केको आवाज आउँछ । बस झण्डै–झण्डै खोलामा हामफाल्छ । तर मुस्किलले एउटा रूखमा अड्किन्छ । सारा यात्रुको छातीमा ढ्याङ्ग्रो बज्न थाल्छ । ‘झण्डै मा¥यो पापीले !’ भन्दै यात्रुहरू कराउन थाल्छन् । ‘ल झर्नुस्–झर्नुस् बसको पट्टा भाँचियो’ भन्दै खलासी देखापर्छ र ठ्वाकठ्वाक न ठुकठुक ठोक्न थाल्छ । लगभग दुई घण्टा त्यही बित्छ । बल्लतल्ल गाडी अघि बढ्छ । लगभग चार किलोमिटर पार गर्दा नगर्दै ब्लास्टिङ गरेको जस्तो आवाज आउँछ । ड्राइभर फुत्त बाहिर हाम फाल्छ । ‘टायर त गएछ नि गाँठे’ भन्दै खितीतीती हाँस्न थाल्छ । ‘आज पनि बाटो त नकाटिने भो, उही हिजो अस्तिकोझैं बाटैमा बास’ भन्दै फेरि फिस्स दाँत देखाउँछ । ‘गाँठको त मूठैमूठा केको चिन्ता ? पुगौंला न त भोलि’ खुसुक्क ड्राइभरसँग भन्दै र गमक्क फुल्दै र दुई हातले सर्टको कलर उचाल्दै कन्डक्टरले छाती देखाउँछ ।

‘काम न बेकाम देखाइरहेको राम’ भन्दै कति यात्रीहरू उकुसमुकुसले धुम्मरधुुसजस्तो भएर कुरिरहेछन्, बसभित्र । बिरामीहरू ठसठसी कन्दै “अया, अया” भन्दै बसभित्रै डल्लिरहेछन् । जाँडको बोतलमा मुख चोब्नेहरू र गन्धैगन्धले नाक छोप्नेहरूको नजर हेराहेरबाट बाझाबाझा भइरहेछ । उही धकेलाधकेल छ, पेलापेल छ, आरोप प्रत्यारोप छ, चेँचेँ न चूँचूँ छ, वाक्क न उक्क छ, छ्याल्ल न ब्याल्ल छ । डर छ, त्रास छ, अनिश्चिता छ । सबै यात्रुहरू निस्सासिएको देखिन्छन् । मानांै बस बस्नकै निम्ति बनाएको जस्तो, मानांै यो यात्राका लागि नभएर यातनाको निम्ति हो । मानांै यी बसका यात्रीहरू अपराधी हुन्, र यिनीहरूलाई सजाय दिन नरक यात्रामा लगिँदैछ ।

रोल्पा