समय गतिशील छ निरन्तर चलिरहन्छ । यसलाई न कसैले रोक्न सक्छ । न कसैले छेक्न सक्छ । यसलाई रोक्न वा छेक्ने दुस्प्रयास गरेमा ऊ सधैं समयले लात मारेको अवस्थामा रहन्छ । समयभन्दा धेरै पछाडि धकेलिन्छ । समयको घोडा चढेर हिड्न जानेन भने समयले साउनको भेलमा नदी किनारामा छोडेका मुढाको हविगत हुन्छ । पहिले के के न गर्छु ? कहाँ कहाँ पुग्नेछु भन्दै कोही कसैलाई पनि गणना नगरी त्यसै त्यसै फुर्किएर संसार नै जितौला झै गरी पानीको छालसँगै उफ्रिदै नाँच्दै अग्ला अग्ला पानीका छालसँगै तीव्र गतिमा प्रवाह हुने मुढाको हालत अन्त्यमा किनारामा डङ्रङ्ग पछारिएर रहेको अवस्था खेप्नु पर्ला । तर त्यसो भनेर चुप लागेर बसिरहे पनि आफ्नो उन्नति प्रगति हुने कहिले ?

जीवन केवल एकपटक मात्र आउँदछ यसलाई समय सापेक्ष बनाउन सकिएन भनेपनि जीवन जिउनुको सार्थकता कहिले र कहाँ भेटिएला ? समयभन्दा अगाडि दौडन नसके पनि समयको प्रवाहमासँगै प्रवाहित हुन चाहिं अवश्य पनि जान्नु पर्ने हुन्छ । नत्र त साह्रै बुज्रुक स्वाँठ र गोबर गणेशमा नाम दर्लान् । सावधान रहनु होला ।

पितापुर्खाले जे गरे नयाँ पुस्ताले त्यही मार्ग समाएर हिड्नु पर्छ भन्ने त केही पनि छैन नि । त्यस समयमा विज्ञानका नयाँ नयाँ आविष्कारहरू केही पनि भएका थिएनन् । विलासिताका बस्तुहरू केही पनि थिएनन् । केवल जीवन जीउनका लागि अति आवश्यक पर्ने खाना, छाना र नानामा मात्र सीमित रहन्थे । जति समय हुन्थ्यो त्यही कुरामा व्यथित हुन्थ्यो । किनकि अर्को कुनै कुरामा भूलौ भने भूलिने कुनै साधन थिएन । मात्र खेती किसानी सानातिना उद्योग व्यापार व्यावसायमा लगाव राख्दथे । अन्य कुराहरू सोच विचार गर्ने त उनीहरूलाई फुर्सद नै थिएन । समय चलेकै थियो । जीवन गुजारा गरेकै थिए ।

नयाँ नयाँ प्रविधिहरूको आविष्कारको साथै मानिसमा सुख सविधा पनि थपिएको छ । साथै विकृति पनि अलग्गिन सकेन । यसै सेरोफेरोलाई आधार बनाएर उच्च माध्यामिक तहसम्म अध्ययन गर्ने छात्रछात्रालाई विद्यालय हाताभित्र थ्री एमको बन्देज लगाउन सकेको खण्डमा पढाइमा सुधार आउन सक्ने कुरालाई जोड दिदै उच्च माध्यामिक शिक्षा सुधारको प्रतिवेदन सरकार समक्ष पेश गरे । अर्काको नैसगिंक हक अधिकार हनन हुने गरी पेश गरिएको प्रतिवेदन वास्तव मै अन्यायपूर्ण छ । लोकतन्त्र जन्मेर हुर्केर वैश नचढ्दै बूढो हुन लागेको समयमा पनि कहाँको पुरातनवादी सोच लिएका होलान् । अर्काले जेसुकै पहिरन लगाउन् । जेसुकै सामान बोकेर हिडुन् ।अरुलाई के को टनक टनक भो । पढेकालाई योग्यता अनुसारको रोजगारी दिन नसकेर लाजमर्दो अवस्थामा रहेको नकचरो सरकारलाई गुणस्तरीय शिक्षाका लागि आचार संहिता बनाउन सुझाव दिएका छन् ।

‘विद्यार्थीले चुज पाइन्ट प्रयोग गर्न नपाइने, स्कर्टको तल्लो भाग घुँडाभन्दा दुई इन्च तलसम्म हुनुपर्ने ’यो पनि काही सुझाव हुन्छ । महङ्गीले सगरमाथा नाघ्न आँटेको बेला शरीर पुरै ढाक्ने कपडा किन्ने त पैसा पनि त हुनु पर्यो नि । यौवनले धपक्कै बल्ने उमेरमा कति सुन्दरी हुन्छन् । ‘बैसमा स्याल पनि घोर्ले हुन्छ’ भन्ने उमेरको मान्छेलाई प्राकृतिक नियम अनुसार आफूभन्दा विपरित लिङ्गीलाई आफूतिर तान्नको लागि आफ्ना सुडौल पिडुला हुदै सकेसम्म माथिका आकर्षक अवयवहरू पनि त प्रदार्शन गर्नै पर्यो नि । जीवनमा एक पटक आउने बैंसमा ठिटाहरूलाई आफूतिर आकर्षक गर्न सकिएन भने त जिन्दगी नै बेकामी हुन बेर लाग्दैन । फेरि पढ्न जाँदा जस्तोसुकै कपडा लगाए पनि के को पीर ? लाउनेलाई त आफूखुसी लगाउन दिनु पर्छ नि । हग्नेलाई त लाज छैन भने देख्नेलाई भुत्राको लाज ? विचराले राम्रो र शरीरलाई फिटिङ हुने किसिमको कपडा किन्न सकेकै त्यही छोटो कपडा होला त त्यही पनि लगाउन वन्देज गरिने हो भने अब के लगाएर जाने त ? कि प्रकृतिमा जस्तो जन्मियो उही रुपमा जाने ? के हाम्रा नेपाली हिरोइनहरूले आफू सुन्दर बन्न, चर्चित बन्न घुडाभन्दा दश इन्च माथिसम्म आउने कपडा लगाउँदा पनि हुने । सबै दर्शकले बडो चाख मानी मानीकन हेर्न हुने तर उच्चमा विमा अध्ययनरत छात्राहरूले चाहिं लगाउन नपाउने ? ‘कही नभएको जात्रा हाँडी गाउँमा ’भएन र ? पछिल्लो चरणमा आएर त झन् नेपाली चलचित्रहरूमा अभिनय गर्ने नायिकाहरू रातारात चर्चित बन्न कहाँको टपलेस रे कहाँको बेड सिन रे । कहाँको किस सिन रे । त्यस्तै के के हो के के हो रे । त्यस्ता हट सिन राखेमा कलाकारको चर्चा पनि धेरै हुने । निर्माताको लगानी पनि खेर नजाने । आर्थिक क्षेत्रमा रातारात ह्वात्त माथि उकासिने । बेलै देखि आफ्ना सुन्दर तनलाई बस्त्र विहीन बनाउन सिके पो त पछि गएर अंग प्रंदर्शन गर्न सकिन्छ । नेपाली चलचित्रमा अभिनय गर्ने मौका पाइनेछ । गाँठ पनि कमाइने । नाम पनि कमाइने । दुवै हातमा लड्डु हात पर्नेछ । विद्यालय भनेको शिक्षालय हो । यहाँ सबै कुरा सिक्नु पर्छ । त्यसैले काग कराउदै गर्छ पिना सुकाउदै गर्नु पर्छ ।

‘कक्षा ११र १२का विद्यार्थीले मोटरसाइकल प्रयोग गरेमा निजलाई निष्काशन गर्न सकिने ।’कस्तो सरम लाग्दो कुरा गरेका होलान् । दुनियाका छोराछोरीले आफ्नो बाबुको सम्पत्तिमा मोज गर्छन् । टाउको अर्कैको दुख्छ । नेताले राज्यको ढुकुटी रित्याएर करोडौं मूल्य बराबरको अत्याधुनिक गाडी हुइक्याउदै हिड्नु हुने । विचरा विद्यार्थी भाइ बहिनीले बाइक नाथे पनि चलाएर हिड्न नहुने ? उनीहरूका पनि कतिरहरहरू होलान् । कति इच्छा आकांक्षाहरू होलान् । आफूलाई मन पराउने मान्छेलाई वाइकमा सरर पारेर कुदाउने दाउ होला । वाइकमा बसेको बेलामा मनमा लागेका माया प्रीतिका कुराहरू साटासाट गर्ने ठूलो धोको होला । जीवनका अविस्मरणीय क्षण बनाउने सुवर्ण मोकाको खोजीमा बसिरहेका होलान् । के तिनीहरूका हर इच्छा र आकांक्षाहरू नेपालीले आशा गरेका नयाँ संविधान नपाएर त्यसै निरास भए झै आशाहरूलाई मनको दरवार भित्र नै कैद गरेर राखिरहुन् ।

‘कक्षा ११र १२का विद्यार्थीले विद्यालय हाता भित्र मोबाइल फोन प्रयोग गर्न नपाउने ।’मोबाइल आविस्कारकले मोबाइलको आविस्कार किन गरे होलान् ? एक पटक ठण्डा दिमागले सोच्नुहोस् त । के मोबाइल सजावटका लागि बनाएका हुन् त ? कि कुनै पटमूर्खहरूलाई तह लगाउने यन्त्रको रुपमा आविष्कार गरे । सुझाव प्रदान गर्ने विज्ञहरूले के सोचेर यस्ता सुझाव दिए । कि मोबाइल कम्पनीहरू रातारात धनी भएको देखेर औडाहाले सहन नसकेर केही हदसम्म भएपनि मन भित्रको जलनलाई कम गर्न यस्तो सुझाव दिए । चोक चोक गल्ली गल्लीमा मोबाइलमा बिक्री केन्द्र एवं मर्मत केन्द्रहरू खोलेर दुनियाका पैसा सोहोरेर थुप्रै कुम्ल्याए भनेर यस्ता किसिमका सुझाव दिन विवश भए त । कि मोबाइल कम्पनीले जनताका आँखामा छारो हाल्न टावरको क्षमताभन्दा दुगुना, तीन गुना बढी रिमर सिम बिक्री गरेर गाँस कटाउदै जम्मा गरेको पैसा,दुःख गरेर कमाएको पैसा सबै लुड्यायो भनेर यस्तो प्रकारको अंकुस लगाएको त हैन ? नत्र भने यी सुझावदाताको कसले के गरेका थिए र । नूनको सोझो गर्न यस्ता गरेका हुन् भने कुनै आपत्ति छैन । हैन भने अर्काको मोबाइलमा व्यालेन्स सकिए पनि उसले व्यालेन्स हाल्दिनु पर्ने हैन । जतिसुकै फोन गरोस् । आफ्नो मोबाइल सेट जहाँसुकै बोकेर हिडोस् उसलाई अनावश्यक टाउको किन दखेको होला ? टाउको दुखेकै हो भने त घरको पर्खालमा टाउको ठोकेर मरे त भैहाल्यो नि । न गिनिज बुकमा नाम पो लेखिन्थ्यो कि ।

आफ्ना बाबा ममीलाई अनेक तवरले ललाई फकाई गरेर किनेको मोबाइल आफूले भनेको समय र स्थानमा लान पाइएन भने यसको के अर्थ रहृयो र । यही मोबाइलको प्रयोग गरी आफूलाई जीवन साथी छान्नु छ । मनमा लागको सबै कुराहरू प्रत्यक्ष भेटेर भन्न नसके पनि यसै साधनको माध्यमबाट भन्नु छ । आमालाई चाहिएको ज्वाइ वा बुहारी यसै साधनले टप्काउनु पर्नेछ ।

जसले जे भने पनि थ्री एमलाई छोड्नु हुदैन । थ्री एम विनाको मान्छे त गोडा भएर पनि लङ्गडो हुन्छ । लाटो हुन्छ । त्यसैले जे जसरी भए पनि थ्री एमको प्रयोग सकेसम्म धेरै गरौं । आरिसले जल्नेहरू जल्दै गरुन् । इष्र्याले मर्नेहरू मर्दै गरुन् । दुनियाको ठेक्का कसले लिएको छ र ?

मन्थली– २, सुन्दरबस्ती, रामेछाप