सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कार्की काकाको आक्रोश

Nepal Telecom ad

बजेट प्रस्तुत भएको केही दिनपछि चौबाटोमा अचानक कार्की काकाले मेरो बाटो छेके । कार्की काका कांग्रेसका पुराना नेता । खान्दानी कांग्रेस । परिवारै कडा कांग्रेस । उनी कम्युनिस्टको ‘क’ पनि सुन्न रुचाउँदैनन् । कांग्रेसका विरुद्ध बोल्नेको सातो उडाउँछन् । साहित्यमा रुचि राख्ने भएकाले मसँग उनको विशेष मित्रता छ ।

काकाले उत्तेजित स्वरमा मलाई सोधे, “भन्नूस् त गाम्नागेजी, ओलीले लिएको अडान ठीक छ कि छैन ?”
एक जना कट्टर कांग्रेसीले जे उत्तर खोजेको त्यही उत्तर दिएँ मैले, “ठीक छैन नि काका ।”

काका एक्कासि जंगिए, “किन ठीक छैन ? देशको विकास गर्छु भन्नु, विदेशीसँग घुँडा टेक्दिन भन्नु, देशलाई आत्मनिर्भर बनाउँछु भन्नु कसरी बेठीक भयो ?”

ल खा, म त फसेछु ! मैले हत्तपत्त भनेँ, “ठ.. ठ.. ठीक छ काका । ठीक छ ।”

काका बीच सडकमै पाखुरा सुर्कंदै आफ्नै पार्टीका नेताहरूलाई विदेशी दलाल, पैसा खाएर देश डुबाउन लागेका, भ्रष्ट, यिनीहरूले देशै बेच्छन् भन्दै वरिष्ठ वरिष्ठ नेताहरूका नामै काढेर गाली पो गर्न थाले । कान थुन्नु कि सुन्नु, मलाई पो आपत् भो ।

“यिनको त्यति बुद्धि थेन, देशको विकास गर्नुपर्छ भनेर दुई–चारवटा योजना ल्याउन सक्थेनन् ? यत्रा वर्ष सरकार चलाए, के हेरेर बसे खञ्चुवाहरू ? हसुरेर मात्रै बसे ? ओलीले विकास गर्छु भन्यो त के बिर्गायो ? वैकुण्ठेले गरोस् कि नीलकण्ठेले, हुनुपर्ने विकास होइन ? हजार वर्षसम्म कुर्सीकै लागि लडिराख्ने ? मुलुक बनाउने कुरा हो, हामी पनि साथ छौँ भनेर लागेको भए हामीले पनि समाजमा शिर ठड्याएर हिँड्न पाउने थियौँ । जनताले पनि मूल्यांकन गर्ने थे भोलि । बजेट चुहियो भनेर महाभारत मच्चाउँछन् । तिनका पालामा चुहिएको थेन ? बजेट कार्यान्वयन हुँदैन भनेर ग्यारेन्टी ठोक्छन्, जोतिषी हुन् यिनेरु ?”

काकाका कुरा सुन्ने श्रोता थपिँदै गए, काकाको आक्रोश अलि कम भयो । उनी कथा सुुनाउन थाले, एउटा दुष्ट लोग्ने थियो रे ! स्वास्नीले जति राम्रो गरे पनि गाली मात्रै गर्ने । लोग्ने दिनभरि तास खेलेर फर्किएछ । बिचरा स्वास्नी सकेसम्म उसलाई खुसी नै पार्न चाहन्थी । मीठो–मसिनो बनाएर खुवाउँथी । बेलुका लोग्नेलाई भातसँग अम्लेट बनाएर दिइछे । खाने कुरा मीठै थियो, दोष लाउने ठाउँ थिएन । फटाहाले यसो सम्झेर भनेछ, के खालकी आइमाई रैछे यो, अमलेट बनाइछ, उसिन्नु पर्दैन ? बिचरा स्वास्नी केही बोलिन । भोलिपल्ट चाहिँ स्वास्नीले अन्डा उसिनेर राख्दिछे । आज पनि उसले फत्तुर थापिहाल्यो, मलाई अम्लेट खान मन थियो, उसिनेर पड्किछे । बिचरा स्वास्नी रुनु न हाँस्नु भई । अर्को दिन स्वास्नीले बुद्धि र्पुयाइछ, एउटा उसिनेको अन्डा र एउटा अमलेट दिइछे । आज त बूढाको मुखमै बुझो लाग्यो भन्ठानेको बूढोले खानेकुरातिर हेर्दै भनेछ, थुक्क बेढंगे आइमाई, अमलेट बनाउनुपर्ने अन्डाचाहिँ उसिनिछे, उसिन्नुपर्नेलाई चाहिँ अमलेट बनाइछे ।

“कांग्रेस त्यही लोग्ने जस्तो भएको छ । हो कि हैन, ल भन्नूस् ?”
भीडले ‘हो हो काका’ भन्दै थियो । काकाको आक्रोश निख्रिसकेको थिएन, म भने उनका आँखा छलेर लुसुक्क निस्किएँ र बाटो लागेँ ।

नेपाल, २७ जेठ, २०७३

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे