“आज पनि भुल्नु भयो है? रातभर सुत्न सकेको छैन ।” सधैं शान्त र सालीन रहने भाउजूको हप्काइ सुनेर कान ठाडो पारें मैले । “आफू त चिरिप्प लगाएर घ्वाँस घ्वाँस निदाए भैहाल्यो नि” घुर्की र आबेग रोकिएको थिएन भाउजूको ।

दाइ रमेश भाउजूको कुरा सुनेको नसुन्यै गरेर बाथरूम छिरे । भाउजू पनि के के गनगन गर्दै भान्छा कोठा छिरिन, उनको रिस रोकिएको रहेनछ भन्ने भान त भान्छाकोठा बाट आएको भाँडाकुडाको आवाजले जनाएकै थियो ।

आखिर छिमेकी नै त परें निकै चासो लाग्दो रैछ, आखिर ति भाउजूले के पो मगाएकी रहिछन् ? कि भित्रै भित्रै बिरामी पो छिन् कि ? ग्यास्ट्रिक गानोगोला रात निदाउन सकेकी छैन भनेकी छिन् । न घरमा उडुस् पो पर्यो कि, न तिनको मच्छरदानी (झूल) पो च्यातिएको छ । मलाई निकै खसखस लाग्यो। अझै आज दिउसो त एक्लै पारेर सोधुँ सोधुँ नलागेको पनि कहाँ हो र ? तर आँट नै आएन झनक्क पारो पो चढ्ने हो कि भनेर । वल्लोपल्लो घरका एक दुई जनासँग कुरो राखें पनि तर सबै जिब्रो काट्नेहरू मात्र । नुन तेल, मर मसलो त भाउजू आँफै सपिङ गर्छिन् बजार गएर केही त्यस्तो अभाव त पक्कै छैन घरमा । विवाह गरेको ३ वर्ष भैसकेको थियो तर बालबच्चा भएका छैनन् चाहेका छैनन् । आखिर भाउजूले दाइलाई के मगाएकी हुन् म सोचेको सोच्यै भएँ ।

एक दिन घरको गेट खोल्दै रमेश दाइ “ल सानु आज त मैले नभुली लिएर आएको छु, आज त चिरिप्प पनि लगाएको छैन, आजदेखि तिमी ढुक्क निदाउने भयौ” भन्दै दाइले गोजिबाट के हो सानो प्याक झिकेर दिनु भयो । भाउजूले पनि उत्निखेरै प्याकेट भित्रको प्लास्टिक च्यातेर के हो सानोसानो छेस्का जस्तो निकालिन् र कहिले हत्केलामा खेलाउँदै कहिले काननेर लगेर सुनेको जस्तै गर्न थालिन् । म त झन रहस्यमा पो परेँ । मनले के के पो सोचिसकेको थियो । मलाई त घरमा बस्न मनै लागेन, त्यसैले चिनी सकिएको निहुँ पार्दै छिरेँ उहाहरूकै घर कम्पाउन्डमा ।
आफ्नो उद्धेश्य पुरा गर्दै, भनेँ÷ “हैन हो भाउजू के खेलाउनु भएको छ हातमा ?”

मेरो प्रश्न भुइँमा खस्न नपाउँदै भाउजूले भनिन्– “हेर्नुस् न कल्पना नानी ! दाइ रातभर घुरेर सुत्नै सकेकी थिइनँ, त्यसैले एकजोर ईएर प्लग (भबच(उगिन) के जाती हो राती कानमा लगाउने ठेडी मगाएको थिएँ, त्यही हेर्दै छु ।”
अस्तु
१ अषाढ, २०७३