सरकारले वृद्धाश्रम बनाउँछु भनेको त राजनीति पो रहेछ । वृद्धभत्ता वितरक त गाउँ नपस्ने भएछ । सिङ्गो मुलुक नै वृद्धाश्रम भएपछि सरकारले वृद्धाश्रम बनाउनु नपर्ने भएछ । जुन गाउँमा पनि युवावर्ग नबस्ने रहेछ । केही मुख्य शहरबाहेक सिङ्गो मुलुक वृद्धाश्रम घोषणा गरे हुने भएछ । वृद्धावस्थामा सेवाशुश्रुषा गर्नुपर्ने सन्तति त सम्पति लिएर परमुलुकतिर पो गएछ ! सरकारले ‘मुलुकका सबै जिल्लामा वृद्धाश्रम बनाउनुपरयो’ भनेको त यही रहेछ ! हामीजस्ता वृद्धोन्मुखलाई पनि बुढेस कालको सहारा को हुने हो सोच्नै पर्ने भएछ । वृद्धाश्रम बनाउन त निकै सजिलो पो रहेछ । मुलुकभरीका युवालाई बेरोजगार बनाइदिएपछि मुलुकै वृद्धाश्रम हुने रहेछ ! सरकारले विद्यालयलाई सेनालयमा परिणत गरेझैँ मुलुकभरका युवाशक्तिलाई विदेश पठाएपछि गृहस्थाश्रमनै वृद्धाश्रम बन्ने रहेछ । एकत्रित आश्रम होइन एकल दुकल वृद्धाश्रम बनिरहेको रहेछ । दशक अघि र अहिलेको गाउँघरको अवस्था हेर्दा कहाली लाग्ने रहेछ ।
तपाइँका छोराछोरी कहाँ छन् नि भनेर गाउँले आमाबालाई सोध्नु भनेको आँसु सकिएका आँखाबाट फेरि आँसु झार्न लगाउनु जस्तो पो रहेछ ! गाउँले बूढाबूढीका पारिवारिक अवस्था नबुझी त सोध्नै नहुने रहेछ । दोहोरो बन्दुकको चेपुवामा परेका र मरेकाको, त्यही बेलामा भागेर जानुपरेको, आर्थिक समस्याले विदेसिनु परेको मानसिक खाटो बसेको घाउ त बूढाबूढीका अगाडि कोट्याउनै नहुने रहेछ । आर्थिक समस्या, पारिवारिक समस्या, पढेलेखेका छोरानातिले वास्ता नगरेर विदेश पसेको समस्या जस्ता अनगिन्ती समस्याको केन्द्र त आजका गाउँघर पो भएछ ।
ज्येष्ठ नागरिक भत्ता बाँड्ने कर्मचारी र भोट माग्ने नेता गाउँ नपसेको त वृद्ध विलौना सुन्नुभन्दा कान थुन्न ठीक भनेर पो रहेछ ! सरकारले अब मेरोदेशमा यतिहजार वृद्धाश्रम छन् नपत्याए हेर्न आऊ भनेर परमुलुकलाई चुनौती दिए हुने भएछ । विश्वमा बढी वृद्धाश्रम भएको मुलुक मेरो हो हेर भनेर स्वार्थ सिद्ध गरे हुने भएछ । गाउँमा पस्दा त जसको पनि आँखा रसाउने रहेछ । हाम्रा मुलुकका वृद्धहरू आफैँ आश्रम बनाएर बस्छन् भनेर नमुना मुलुकको दाबी गरेपनि हुने भएछ । छोरानाति बस्लान् भनेर आफैँले युवाअवस्थामा बनाएको घर आफैँलाई वृद्धाश्रम साबित भएछ । नेपालजस्तो धेरै वृद्धाश्रम भएको मुलुक अब कुनै नहुने भएछ ।
मुलुकको मुख्यमुख्य सहरबाहेक अरु सबै जिल्ला गाउँघरलाई वृद्धाश्रम घोषणा गरे हुने भएछ । नातिनातिना खेलाएर बस्ने आशामा रहेका आमाबाबुले विदेशपस्ने सन्तानको मुख नदेख्ने अवस्था त गरीवी र बेरोजगारीकै कारण रहेछ । सरकारले भत्ता र सन्तानले लत्ताकपडा नपठाउँदा गाउँले वृद्धका बेहाल हुने भएछ । सरकारले चाहेर हो कि युवा वर्गलाई देशविदेशतिर नचाएर हो गाउँ त स्वतः वृद्धाश्रम पो भएछ । गाउँघरका खेतबारी बाँझै देख्दा त नेतालाई आतङ्ककारीको नामबाट हटाउन लगाएझैँ धान नफल्ने मुलुकलाई कृषिप्रधान भन्ने शब्द हटाए हुने भएछ । वृद्धभत्ता नदिएर वृद्धसंख्या घटाउन खोजेको हो कि के हो त्यसको जवाफ त सरकारसित सोध्नै पर्ने भएछ । सम्मानित हुनुपर्ने बाआमा आज हरेक गाउँका झुपडीमा एक्लैदुक्लै बसेर कुन अवस्थामा छन् के खाएका छन् त्यो हेर्ने कुन निकाय हो बुझ्नै पर्ने भएछ ।
मुलुकभर वृद्धभत्ता बढाउनु पर्ने भएछ । जिउँदो छउन्जेल अन्नपानी नदिने सन्तानले मरेपछि पिण्डनानी दिनुको अर्थ व्यर्थ रहेछ । मुलुकको अवस्था हेर्दा त कहालीलाग्दो पो भएछ । युवावर्ग पलायन भएकाले पो देश वृद्धाश्रम बन्दै गएको रहेछ । सरकारले वृद्ध र वृद्धाश्रमको परिभाषा कुन भाषामा दिने हो त्यो भने अझै बुझ्नुपर्ने भएछ । सरकारमा बस्नेहरू पनि मानिस नै हुन् क्यारे । आफू वृद्ध हुँदा कुन अवस्थामा पुगिएला त्यो चाहिँ उसैले बुझ्नुपर्ने भएछ । ज्येष्ठ नागरिकका आन्तरिक अवस्था नबुझ्ने सन्तति र सरकारलाई भोलिको बूढो हुने पालो कसको हो सोध्नुपर्ने भएछ ।

ट्याङला, कीर्तिपुर