गिद्ध भन्नाले मरेका प्राणीहरूको मासु खाने ठूलो मांसाहारी चरो हो । गिद्धले मासु भनेपछि सासू पनि छोड्दैन । गिद्धले धेरै टाढाको सिनो पनि झिनोसँग देख्छ, प्रायः गर्मी प्रदेशमा प्रवेश गर्दा खुसीले गदगद हुने । सम्म मैदान सबै उसको आफ्नै वेतन र वेतन भित्रको उसको उच्च जीवन ! त्यसैले ऊ गर्मीमै बस्न रुचाउने ठूलो र वेजोड पंक्षीको मिलन । मासु खान भनेपछि हुरुक्कै हुने, जुरुक्कै उठ्ने, मरि नै मेट्ने, जसरी नि मासु भेट्ने । मासुको साह्रै लोभी चरा, मासु खान नपाए बौलाउँछ बिचरा । उसको भोज भतेर वार्ता दौड़धूप जे–जे भने पनि सिनै हो । त्यो उसलाई दिनै चाहियो ।

हाम्रो नेपाली समाजाँ गिद्धलाई जोडेर, शब्दलाई तोडेर, चाडवाडलाई जोडिने उपनाम हो गिद्धे ! जस्तै गिद्धे एकादशी भन्नाले दसैंको भोलिपल्ट पर्ने एकादशीलाई गिद्धे एकादशि भनिन्छ । अघिपछि एकादशी बार्नेहरूले गिद्धे एकादशीयाँ भकाभकी भित्र बसी दसैंयाँ बँचेकुच्या मासु सिध्याई दिन्छन् । बाहिर चोखो भएर दर्गुछन्, भित्र भकुर्छन् । मैले त बाज्या पालादेखि देख्या अहिले मात्रै लेख्या हो है हजुर ।

त्यस्तै गिद्ध बस्ने अर्थात गिद्ध चरो जस्तै देखिने प्रसिद्ध पहरो दार्जिलिङ जाने बाटाँ पर्ने खर्साङका छेउको ठूलो तथा प्रसिद्ध पहराँ लहरा तान्यो भने पनि गिद्धा बच्चा, गिद्धा सन्तान, गिद्धा अण्डा, गुणै गुणा बण्डा कति हो कति हजुर ? जति खोल्यो त्यती साह्रो । गिद्धे प्रेश (श्री ३ महाराज जङ्बहादुर बेलायत जाँदा वेलायतबाटै १९०८ आँ आफूसँगै ल्याइस्या भनी राजा–महाराजा र ठूला–बडा महाशयहरूले विश्वास गरिस्या गिद्ध चिन्ह अङ्कित ऐतिहासिक प्रेस अर्थात मुद्रण यन्त्र । देशको पहिलो प्रेस आधुनिक प्रेस, फ्रेस यन्त्रा मन्त्र ।

त्यस्तै त्रेता युगाँ सितेमाता हरण रावणले गरे । माता सितेले पनि आफ्नै जिद्धीले भगवान रामलाई सुना मृग समात्न लघारिन्, फेरि ठूलो आवाज सुनेपछि स्वामी रामलाई कुनै समस्या प¥यो कि भन्ने सोची सितेका रखवालका लागि बडी गार्ड खटिएका लक्ष्मण दाइको रखवालका खातिर उर्दी गरिन् । लक्ष्मण परे धर्म संकटाँ । त्यही धर्म संकटलाई सल्टाउनका खातिर लक्ष्मण रेखा कोरी सितेलाई त्यो रेखा नकटन दिएको आदेश स्वयं सितेले उल्लंघन गर्नाले जोगी रुपी रावणको आदेशले लक्ष्मण रेखाबाट झरिन् र त रावणको अपहरणाँ परिन् ।

बल्ल सितेका होस् आए । जब रावणले हरण गरि लगे । अनि सिते चिच्याउन थालिन् । नेपाली उखानाँ भनेकै छ नि “अघि राँण जानिन, पछि राँण मानिन, बाघ आयो घिच्याउन, राँड लागि चिच्याउन ।“ अनि बल्ल सितेले डाँडाकाँडा, छहरा पहरा, वनस्पति, सूर्य, आकाश, धर्ती, वन जंगल पशु, पंछी सबैलाई पुकार गर्दै लौन मलाई बचाऊ हे राम ! हे लक्ष्मण, हे माता, हे पिता आदि इत्यादि भन्दै पुकारेको एउटा बुढो गिद्धरुपी जटायुले सुन्यो र माता सितेलाई बँचाउन दगु¥यो । उक्त्त बुढो गिद्धरुपी जटायुले रावणलाई तरह, तरहले आफ्ना नङ्ग्रा, आफ्नो सिकारी मुख र मुखका चुच्चाले ठुंग्न थाल्यो । रावणका अगाडि बुढो गिद्धको के लाग्यो, आखिराँ रावणको तरबारले बुढो गिद्धको दायाँ पखेटा माया नमानी टुक्राइ दियो । तत्पश्चात बुढो गिद्धले यो समाचार म रामलाई नभनी मर्दिन भनेर श्रीरामको नाम पुकारी रहे । त्यसपछि श्रीरामलाई समाचार इतिबृत्तान्त भनेपछि मात्रै प्राण छाडे । ती गिद्धले सितेको उद्धार गर्नाले स्वर्गवास गरे तर यहाँ अरु गिद्धहरू के भन्छन् सुन्नुहोस् ।

यी गिद्धहरू धेरै दिनदेखि भोकले तड्पी रहेका थिए । कहिल्यै कुनै दिन पनि टाढा टाढासम्म सिनो खोज्न गिद्धले झिनो आँखा गरी हेर्दा पनि वेवारिसे लास नपाएपछि सिनोको आस मेटियो । यसरी धेरै दिनदेखि सारा गिद्ध महाराज, पशु पंक्षी, जनावर र मानिसको लास रुपी भोजनको खोजाँ भोज गर्न नपाएपछि तुरुन्तै इमर्जेन्सी मिटिङ डाकी सभा गोष्ठी सुरु गरे “यदि यसरी नै वेवारिसे लासको आस हरायो भने त हामी सबै गिद्धहरू भोकले तड्पी तड्पी मर्ने छौँ ।” एउटा सामान्य गिद्धले भन्यो ।

दोस्रो गिद्धले भन्यो– “सबै उपायहरू निकालौँला नि, आखिर हामी भनेका माता सितेको उद्धार गर्ने बुढो जटायुका सन्तान पो हौँ त । त्यसैले हामीलाई जहिले पनि भगवान् रामले आशिर्वाद दिनुहुन्छ । काम दिनुहुन्छ, माम पनि ! धन्दा नमान्नु होस्, एउटा न एउटा उपाय हाम्रा गिद्धका नेताले निकाल्नु हुन्छ । उहाँले मानव समुदाय, मानव वस्ती मानव धर्म, मानव राजनीति, मानव इतिहास, मानव जीवनलाई कसरी तहस नहस पार्ने अनि फुटाऊ र राज्य गर भन्ने मुलमन्त्र श्रीरामबाट हाम्रो बुढो जटायु हाम्रो बुढो पितृबाट हाम्रा गिद्धे नेताज्यूले पाउनु भएको छ । उहाँले निकाल्नु हुन्छ । धन्दा नमान्नुहोस् ।” तेस्रो गिद्धले भन्यो– “संसारमा राजनीति बेगर घरवार र दानापानी चल्दो रहेनछ । त्यसैले अब हाम्रा गिद्धे नेताहरू पनि कानमा तेल हालेर बस्ने होइन । हातमा हात बाँधेर बस्ने होइन, अब जाग्न प¥यो ! जाग्नोस् ! म सबैलाई भन्छु । सबैले एकै स्वरमा भने– “गिद्ध महाशय जिन्दावाद !” फेरि भन्नुस्– “गिद्ध नेता जिन्दावाद !” सबैले एकै स्वरमा भने– “जिन्दावाद ! जिन्दावाद !!”

गिद्धका नेता गिद्धे नेताले दुबै पखेटा फटफटाउँदै भने– “पख्नुस् अब हामीले केही गर्ने बेला आयो आज राती सबै जनालाई म एउटा आदेश दिन्छु पालन गर्नु होला । आज राती हाम्रा सबै गिद्ध साथीहरू मानव बस्तीमा गएर आफ्ना वलवान् नङ्ग्रा र बलवान मुखका चुच्चाले मानव बस्तिका मन्दिर, मस्जिद, गुम्बा र चर्चहरूमा पसी भत्काइ दिने ! दोस्रो कुरा यहाँ सबै मानव जातिका पार्टीका झण्डा, पोस्टरहरू र पार्टी अफिस पनि भत्काइ दिने, भोलि बिहान हामीले काम फत्ते गर्न नपाउँदै सारा मानव वस्तीहरूसँगै मानवको पनि अस्ती उठ्छ ।” सबै गिद्धहरूले खुसीले गडगडाहटका साथ ताली पड्काए र सबैले एकै स्वरमा भने– “गिद्ध महासय जिन्दावाद ! जिन्दावाद !! जिन्दावाद !!! गिद्ध नेता जिन्दावाद ! जिन्दावाद !! जिन्दावाद !!!“

नभन्दै भोलि बिहान त्यही भयो । गिद्ध महाशयले जे भन्नु भएको थियो । नभन्दै सारा मानव वस्तीहरू उजाडिए । धार्मिक दङ्गा, जातिपाती दङ्गा र राजनैतिक दङ्गा भए । मानव बस्ती लाशहरूले भरिए, लाश उठाउने मानिस पनि भएन । गिद्धहरू खुसी भए र रमाउँदै रमाउँदै भोज खान थाले । अब हामी पनि भनौँ “गिद्ध महाशय जिन्दावाद ! गिद्ध नेता जिन्दावाद !! जिन्दावाद !! जिन्दावाद !!”

हाल  : अमेरिका