प्रेमदिवस पो परेछ
रमेशले छोरी रमिलालाई स्नातक सिद्धाएपछि दाईजोसहित शहरमा ठेकेदारको छोरा रविनलाई दिए । रविनको शहरभित्र तीनवटा भव्य विल्डिङ्ग र महंगा कारहरू थिए । ऊ कारमा पद्मकन्या क्याम्पसतिर आउजाउ गर्दा देखिएकी सुन्दरी युवतीलाई आफ्नो जीवनसाथी बनाउन चाहन्थ्यो, बाबुले उसको ईच्छा पूरा गरिदिएका थिए । बिहेपछि गाउँकी गवाँर केटी र दाईजो नल्याउने भनि रमिलालाई रविनले कचकच गर्न थालेको थियो ।
विदुरको छोरा विज्ञान रमिलाको स्कुलबाट सर्वप्रथम हुन्थ्यो । गरिब भए पनि छात्रवृतिबाट ऊ इन्जिनियर बन्न सफल भयो । आफ्नी एक्लीछोरी विध्या दिएर घरज्वाईं बनाउने सोचबाट विन्देश्वरले विज्ञानलाई छोरी दिए । अन्य केटाकेटीलाई पढाउन सजिलो हुने विन्देश्वरको तर्क थियो । बिहेपछि विध्याले विभिन्न वहानामा पुराना व्वाईफ्रेण्ड र धनाढ्य युवक लिएर हिँड्न थालेपछि तीनतले घरको पन्ध्रकोठा बीच विज्ञान नितान्त एक्लो बनेको थियो । त्यसमाथि कङ्गाललाई मेरा बावुले उद्धार गरेकाले यस्तो अवस्थामा आउन सक्यौ भनि श्रीमतीको व्यङ्ग्यवाण प्रहारले विज्ञानको आत्मसम्मान पानी बन्दथ्यो ।
शहरको एउटै टोलका वासिन्दा भएकोले पहिल्यैदेखि भेट भइराखेकै थियो । आज संयोगले बाटोमा पानी पर्न थालेपछि विज्ञान र रमिला सँगसँगै प्रतिक्षालयमा भेट भए ।
विज्ञानले सोध्यो– ‘रमिला कताबाट ? ज्वाईंसावले कारमा लैजानुभएन ?’
‘तिमी हामीले केटाकेटीमा लोग्नेस्वास्नी भै खेलेको आदर्श जोडी होइनरहेछ दाम्पत्यजीवन विज्ञान । रविन नयाँनयाँ केटीहरू राखेर लज र रिसोर्टतिर घुमाउन लैजान्छ । मलाई त एक नम्वरको पाखे ठान्छ ऊ ।’ रमिलाले भनी ।
रमिलाको मुख एकहातले थुन्दै गहभरी आँसु लिएर विज्ञान भन्छ– ‘प्लीज नसुनाऊ यस्ता दुखद कुराहरू मेरो पनि त्यै हाल छ रमिला । बाबुको करकापमा परेर मैले बिहे गर्न मन्जुरी दिएँ, अहिले पछुतो भैरहेछ । कारमा चढेर गै विभिन्न वार र रेष्टुरामा नवयुवक लिएर रमिला राती ढीला गरी घर आउँछे । किन ढीला गरेकी ? भनेर सोध्यो भने सजिलै भनिदिन्छे तिमी पाखेहरूलाई रेस्टुराँमा पाइने विदेशी रक्सी र वाईनसँग मनपर्ने व्यक्तिको सङ्गत के थाह र ?’ हुन पनि कहिलेकाहीँ भुसतिघ्रेहरू रमिलासँगै घरमै पुगेर रात बिताउँथे । ‘सायद म यसरी धेरै समय बस्न सक्दिन स्वतन्त्र हुन चाहन्छु ।’
‘बरु केटाकेटी समयमा हाम्रो खेलमा कस्तो आत्मीयता थियो हकि ! मैले पनि मनको कुरा लाजले तिमीलाई भन्न सकिन रमिला ।’ यसो भन्दै विज्ञानले रमिलाको हात च्याप्प समात्यो । रमिलालाई असिम आनन्द प्राप्तभो र थपी– ‘मैले पनि मनमनै तिमीलाई जीवनसाथीका रुपमा हेरेको कुरा बुवा वा तिमीलाई भन्न सकिन । आज आएर यस नरककुण्डमा जाकिएकी छु । विज्ञान मलाई यहाँबाट छुट्कारा गर । म केवल तिम्री हुन चाहन्छु । बरु हामी जस्तो सुकै दुःख गरेर बसौंला ।’
मुसलधारे पानी वर्षिएको थियो र साँझ गहिरिंदै थियो । विज्ञान र रमिलाको आलिङ्गन मजवुत बन्दै गयो । आखिर पानी रोकियो र विज्ञान र रमिला सुन्धाराको एउटा लजमा लोग्नेस्वास्नीका रुपमा एउटै कोठामा रात बिताउन पुगे ।
संयोगले त्यो रात प्रेमदिवस पो परेछ ।