ज्ञानको गरिमा आफ्नो अर्काले जब खोज्दछ
तथ्य प्रमाणका सामु ज्ञानले सत्य रोज्दछ ।
आफू नै सबको ज्ञाता सर्वज्ञ जब लाग्दछ
मिथ्या विश्वासका सामु सत्य नै तब भाग्दछ ।।

अहङ्कार निकै बढ्दा सत्यका लेप नै पनि
मिथ्याकै कोटिमा पर्छन् अन्धविश्वासझैँ अनि ।
अल्पज्ञान हुँदा कैले मिथ्या हुङ्कार बढ्दछ
असत्य मूलको लेप सत्यझैँ भ्रम गढ्दछ ।।

क्षण संसर्गका नौला कैयौँ दृश्य निरन्तर
असत्य सत्यझैँ बन्छन् मिथ्या विश्वास खातिर ।
मूल जरा सुकोस् फेरि फैलियून् अन्य बेसरी
क्षण केही नपुग्दैमा सुक्छ आफैँ सराबरि ।।

हो, केही भ्रमको अन्त्य अन्तसम्मै हुँदैन है
असत्य ज्योतिको तेज मर्मसम्मै छुँदैन है ।
अर्काको गतिलो आस्था आफूमा जब अड्दछ
मिथ्याको लेपले गर्दा सत्य संस्कार सड्दछ ।।

माथि माथि उडे लाग्छ आकाश सत्य बेस हो
ठोसको वस्तुता मानौँ आकासै मात्र शेष हो ।
तर, जीवन यात्रामा जब आकाश मात्र छ
स्वप्न संसार नै फेरि व्यक्ति संस्कार ढाक्दछ ।।

देखिन्न तलको सत्य भेटिन्न माथिको चुरो
अर्काको दृष्टिमा आफ्नो सत्य संभ्रम नै ठुलो ।
संसार रङ्गशालामा व्यक्तिका रूप छन् कति
म आफू भ्रममै बाँच्ने यात्री दुर्बुद्धिझैँ मति ! ।।

काठमाडौं