विषय वा प्रसङ्गले अर्थको अनर्थ नलगाउने हो भने होस्टेल भन्नाले विद्यार्थीहरू बस्ने ठाउँ जहाँ ज्ञानगुनका र राम्रा कुराहरू मात्रै सिकाउने र सिक्ने गरिन्छ । आज समय, जमाना, वातावरण र परिवेश अनुसार परिवर्तनका लामा–लामा सिङ, दारी र जुवाँहरू होस्टेलका नियमहरूमा, अनि राम्रा–राम्रा आचारसंहिताहरूमा पनि पलाएको कुरा प्रत्यक्ष प्रदर्शित भैरहेको छ ।

कुरा काट्नु, खेदो खन्नु आफ्नैको राम्रो हुन्छ भन्छन् । मेरो छोरो होस्टेलको नाम सुन्नासाथ धन्नै धन्नै मूर्छा नै हुने । म कुनै हालतमा पनि होस्टल बस्दिन भनेको धेरै वर्ष पहिलादेखि नै हो । अहिले कक्षा दसमा दामी इन्टरनेशनल बोर्डिङ स्कुलमा पढ्छ । स्कुलले कक्षा दसलाई अनिवार्य होस्टेल, भोलिबाटै बस्ने भन्ने अध्यादेश जारी ग¥यो । प्रतिपक्षमा तीन÷चार जनाभन्दा बढी भइएन । तथास्तु भन्दै छोराको मन दुखाई–दुखाई तुम् शरणम् गच्छामी भन्दै पठाइदिएँ ।

कहिल्यै घर नछोडेको छोरो एक महिनापछि एक दिनको लागि घरमा आयो । छोरो निक्कै आत्तिएको होला भनी अँगालोमा लिएँ । सोचेजस्तो आत्तिएको रहेनछ । अनि सोध्नथालँे होस्टेल बसाइ र पढाइका कुराहरू । एक महिनाकै बीचमा पनि पढाइभन्दा अझ बढी अरु के केमा हो कुन्नि निकै कुराहरू सिकेछ । आखिर सिक्ने कुरा जे सिके पनि त राम्रै हो । समय अनुसार ती सबैको पालो आउँछ, उसले पनि यही भन्छ । घरमा हुँदा प्याज, टमाटर, लसुनआदि केही नखाने छोरोले होस्टेल बसेपछि चुरोट, गाँजा, चरेश, भाङ, धतुरो आदिआदि सबै कुरो खाएछ । कहिलेकाहीँ साथीहरूले घाँटी ठाडो पारेर घटघट निल्ने चुस्की पनि चाख्न दिन्छन् रे । त्यो खाएपछि झ्याप्पै निद लाग्छ बा भन्थ्यो । म निकै खुशी भएँ छोरोको प्रगति देखेर । आफूले त पण्डितको छोरो हुँ भन्दै बस्दा त्यस्ता कुरा त परै जाओस् माछा, मासु चाख्ने हिम्मत पनि नगरी–नगरी कपाल फुल्न थालिसक्यो ।

घरमा हुँदासम्म मेरो छोरोले कहिल्यै ऐना हेर्नसम्म पनि जानेको थिएन । कहिलेकाहीँ त सर्ट उल्टो लगाएर निस्कन्थ्यो अनि मैले रोकेर सुल्टो पारिदिन्थेँ । एक महिनामा नै आमूल परिवर्तन गरेछ । होस्टेलमा त ऐना मात्र होइन कहिलेकाहीँ अवसर मिलेको बेलामा लुकीछिपी आफ्नै कक्षाका गल्र्स फ्रेण्डको लुकाउने अङ्ग पनि हेर्न थालेको छ रे । वा ! क्या महान् भएछ मेरो छोरो । जे होस् धेरै नै नयाँ कुराहरू चाहिँ सिकेछ । फेरि आफूलाई त लाग्छ सबै सिक्ने कुरा भनेका नयाँ अवसर हुन् । त्यो अवसरलाई पनिजहाँ मिल्छ त्यही उचित सदुपयोग गर्न जान्नुपर्छ । आफ्नो लाइफाँ त होस्टेल भन्ने ठाउँमा कहिल्यै बसिएन, अहिलेका होस्टेल हेरेर घुटुघुटु थुक निल्नु बाहेक के नै पो गर्न मिल्छ र ?

घरमा बसुन्जेल छोरो मोटोघाटो नै थियो । सकिनसकी जेनतेन बर्डफ्लूको चोक्टो अनि मानिसहरूको मलले मल्किएको हरियोपरियो खुवाएकै थिएँ । होस्टेलको बसाइमा हलक्क हल्किएर करङ्का हड्डीहरू बाहिरबाटै सजिलै गन्न सकिने भएछ । अनि बुझ्न मन लाग्यो मलाई दामी होस्टलका नामी खानेकुराका बारेमा । बिहानै ब्रेक फास्टमा कहिले पाउरोटी र चिया त, कहिले चिया र पाउरोटी दिन्छन् रे । चिया पनि हाम्रा घराँ जस्तो भैसीको थुनबाटै निचोरेको जस्तो सेतो साँच्चैको दुःध नहालेर पानीमा अलिकति चिनी र अलिकतिअविर मिसाएर दिन्छन् रे । अनि दिउसोको भनौं कि एघार–बाह्र बजे दिने हाम्रो भाषामा बिहानको खाना अनिउसको भाषाँ लञ्चमा छोरोलाई मन नपर्ने लसुन, प्याज, टमाटर भन्ने कुरो तरकारीमा केही पनि राख्दैनन् रे । कहिले बन्दा र आलु, त कहिले आलु र बन्दा भइरहन्छ रे । त्यही पनि होस्टेलको किचनको खाना पकाउने नियम नम्बर एक अनुसार धेरै पकाउँदा भिटामिन नष्ट हुन्छ, अनि ग्याँसको लाइनमा बस्न पनि निकै कष्ट हुन्छ भनेर अलिअलि तातो लागेकोलाई छोरोले करमकरम गर्दै झरमझरम खान्छ रे । दाल पनि नियमित हुन्छ रे तर केको दाल भनेर सोध्दा अहिलेसम्म पनि बताउन सकेको छैन । भन्दा दाल भने पनि विशुद्ध रस जस्तो हुन्छ रे । कलरको कुरा गर्दा धेरैजसो पहेँलो, कहिलेकाँही कालो अनि विरलै हरियो धेरै थरिको मल्टी कलर क्या । आजभोलि त उसलाई घरमा आउँदा उसकीआमाले पनि हामीले खाने दालमा थोरै पानी मिसाउँछिन् अनि चिया छान्ने दानीले छानेर स्कुलमा दिने जस्तै रस बनाएर दिने गरेकी छन् । के गर्ने हजुर बाक्लो दाल छुँदैछँुदैन । जे होस् होस्टलमा मात्रै नभई घरमा पनि मेरी श्रीमतीले दालमा मात्रै भए पनि निकै कमिसन निकाल्ने गरेकी छन् ।

अनि माछा, मासुको कुरा सुन्नुहुन्छ भने पनि कम्ती रोचकका छैनन् । कुखुरालाई बर्ड फ्लु, बाख्रालाई महङ्गो फ्लु, माछालाई झन्जट फ्लू र अण्डालाई सड फ्लुले सताएको छ रे । त्यसो भएको हुनाले त्यस्ता चिजको गन्ध पनि बिर्सिसकेछ उसले । जे होस् पण्डितको नाति एउटै कुरोमा भएपनि विँडो चाहिँ थाम्ने भयो भनेर मलाई खुशी नै लागेको छ ।

अब हामीप्रवेश गराँैं पढाइको विषयवस्तुतिर । घरमै बसे पनि मेरो छोरो पढाइका विषयमा नम्बर वानमै थियो । कक्षामा फस्ट त उसकै राजीनामा थियो भने धेरैजसो स्कुलमा पनि फस्ट हुन्थ्यो । आजभोलि पढाइका कुरा अलिक ध्यान दिन थालेको छ । बिहानै होस्टेल क्लासमा पढाउने ट्युसनमा जुन शिक्षकको पालो भए पनि आफै किताब हेर भन्छन् रे, साँझमा उज्यालो हुन्जेलसम्मको क्लासमा राम्रोसँग मिलेर सबै मन लागेको खेल भन्छन् रे । अनि रातिको स्पेसल ट्युसन क्लासमा नबिगारीकन होमवर्क सबै गर भन्छन् रे । अनि विदाको दिनमा सोसल मुभमेन्ट । बन्द गेटभित्र नै भए पनिआफू आफू बीचमा हेलो, हाय । नर नारी एउटै रथमा दुई वटा पाङ्ग्रा । मनमा लागेका टिनएजका भावनाहरू आदानप्रदान गर्छन् रे । कहिलेकाहीँ त एउटा÷एउटीलाई धेरैले मन पराउँदा रहेछन् अनि मेरो र मेरी भनेर दह्रो फाइट पर्छ रे । केटाकेटी सबै बराबरी हँैं भन्दै दिउसोमा त सँगै बस्ने खेल्ने गर्छन् नै त्यसमा पनि अनुमति पाएदेखि रात पनि सबैले सँगै बिताउन इच्छा जाहेर गरेजस्तो आभास हुन्छ रे । जे भए पनि कुरालाई अनौठौ मानिहाल्नु पर्ने छैन । इच्छा भएपछि नै त हो उपाय निकाल्ने, जुक्तिबुद्धि सोच्ने प्राक्टिकल गर्ने आदि ।

मलाई दामी स्कुलका नामी नियमको गुनासो गर्ने ठाउँ भए जस्तो कहीँ पनि लागेन । जे होस् घरमा बसुन्जेल किताबका कुरा मात्र सिक्ने मेरो छोरोले होस्टेल बस्न थालेपछि सबै कुरा सिक्न थालेछ । आउँदो एस.एल.सी. को नतिजामा पढाइमा ए प्लस, तान्ने कुरामा ए प्लस, हान्ने कुरामा ए प्लस, मायाप्रिममा ए प्लस, खेलाडीमा ए प्लस, शक्तिशालीमा ए प्लस, सुन्दरमा ए प्लसको ग्रेडिङमा कसो नपर्ला र ? हजुरहरूलाई कस्तो लाग्छ कुन्नि मलाई त पढाउनै परेपछि भारेभुरे स्कुल होइन दामी इन्टरनेसनल स्कुल नै मनपर्छ । घरमा राखेर केवल किताब मात्र पढ् पढ् भनेर घोक्रेठ्याक लगाउनु भन्दा नामी होस्टेलमा नै राखेर सबै कुराहरूमा अल राउण्ड बनाउन नै मनपर्छ । पक्कै पनि मलाई जस्तै तपाइँहरूलाई पनि लागेको हुनुपर्छ नत्रभने एकै पटक भोलिबाट अनिवार्य होस्टेल भनी अध्यादेश जारी गर्दा प्रतिक्रिया केही पनि नदिएर तथास्तु भन्दै पठाउनु भएकै हो । मौनम् स्वीकृति लक्षणम् । मैले यही भन्दा अर्को अर्थ लगाइन ।

हिजो मात्रैैको कुरा हो । मैले एउटा पत्रिका हेर्दै थिएँ । त्यसमा दामी स्कुलको नामी होस्टेलमा बस्ने एक जना छात्रले ट्वाइलेटभित्र पासो लगाई आत्महत्या गरेछ । कुरो बुझ्दै जाँदा पत्ता लाग्यो उसकी केटी साथीले उसलाई मन पराइन र,े त्यसैले आत्महत्या गरेको रहेछ । पढ्दापढ्दै मेरो हातगोडा लगलग काँप्यो, आफ्नै छोरोको घटनाजस्तो लाग्यो, ऊ पनि त म जस्तै कुनै बाउको छोरो नै त हो । आज यस्तो चाला । साँझ छोरोलाई यो घटना सुनाए । उसले केही बेर एकोहोरिएर भन्न थाल्यो– ड्याड् मेरी पिङ्कीले पनि मलाई रुचाइन भने मैले के गर्ने ? मैले हत्तपत्त उसलाई रोक्दै भने बाबु यस्तो केही नसोच बा ! उनले नरुचाए मैले अर्की त्यो भन्दा झन् राम्री, चिटिक्ककी पिङ्की खोजि दिन्छु ल । मेरो कुरा सुनेर ऊ मुस्कुरायो ।

ए साँच्ची हजुरहरूलाई एउटो कुरो सुनाउन भुसुक्कै बिर्सिएछु क्या । अस्ति छोरो स्कुलको होस्टेलमा जाने बेला मलाई एक महिनाको फी भनेर एउटा रसिद दिएको थियो । त्यसमा एक महिनाको जम्मा ने.रु. पैंतालीस हजार मात्र लेखेको थियो । मलाई अस्पष्ट भयो । एक महिनाको पैंतालीस हजार छोरोको मात्रै शुल्क हो वा हामीचार जनाको परिवारलाई पनि होस्टेलमा नै बस्न बोलाएको हो ? बुझ्न बाँकी छ, बुझिसकेपछि हजुरहरूलाई नै खबर गरौंला हुन्न र ? अहिलेलाई दामी होस्टेलको नामी नियम यति नै ल !

स्याङ्जा