म नलेखी बस्न सक्तिन रहेछु । कुनै आर्थिक उपलव्धि होस् नहोस् कसैले सुनोस् नसुनोस् पढोस् नपढोस् वाहवाही गरोस् नगरोस् यो अम्मल चाहिं छोड्न सकिएन र अरू अम्मललाई छोड् भन्ने धेरै भए पनि यो चाहिँ छोड् भन्ने कोही पनि निक्लेन । घरमालिक्नीले समेत प्रथम श्रवण गरेर काटछाँट र गजब वा यो त भएन भनी भनी हौस्याएपछि त झन् बाँदरलाई लिस्नो भइहाल्यो । पहिले पहिले त कागत कलम मसी चाहिन्थ्यो, अहिले त त्यो पनि नचाहिने भएपछि त औंला गुटुटुटु कुद्न थालि हाल्छन् । अझ कसो दशै औंला परेड खेल्न जानेका छैनन् । दुई चोरले मात्र किटिकिटि गरेर काम गरिन्छ । नत्र त यी मुहार पुस्तिकाका साथी सबैले पनि अमित्र बनाइसक्थे होलान् ।

अँ, त स्वाद आउँछ लेख्ता अनि लेखिन्छ । किताप बनाएर पनि कति छपाउनु ? तर यहाँ पनि यौटा प्राविधिक समस्या पो परेर आयो त । मेरा यौटा पुस्तकालयाध्यक्ष मित्र छन् । मलाई लेख्ता स्वाद आएजस्तै उनलाई चाहिं अरूले किताप निकाल्यो भने स्वाद आउँछ भन्छन् । किन रे त भने नेपाली भाषाको खजानामा पनि अभिवृद्धि भयो । उनले पनि मसित यति गोटा थानगन्ती किताप छन् भन्न पाउने भए रे । ए बाबा ठाकुरे, (ठाकुर गुरागाईं होइन है) उनका स्वादका लागि हामी पो वलि चढ्नु पर्ने रे ! बडो मज्जाले भनिदिन्छन् तिम्रो मुहार पुस्तिकामा लेखेको त आज पढ्छन् भोलि बिर्सन्छन् अनि पर्सि त तिमी मर्यौ । केही बाँकी रहन्न । किताप निकाल किताप ! अलि दिन बढी बाँचौला ।
किताप निकाल्नाको मर्म उनीलाई कसरी बुझाउनु ? डेढ लाखलाई डाँडो कटाएर किताप सेतो कालोसम्म बनायो, अनि शुरू हुन्छ कसरत । कल्ले किन्नु कल्ले बेच्नु कल्लाई बेच्नु ? कि त भवानी दाइ (घिमिरे) जस्तै देश विदेश झोला लिएर कुद्न सक्नु पर्यो कि स्थानीय किताप पसलेका फन्दामा कसिनु पर्यो । लौ, किनेनन् त किनेनन् रे भैगो । सित्तैं मान गरेर सही गरीगरी उपहार टक्र्याएका किताप त घर पुगेपछि यति व...रैबाट हुत्त पारेर कितापको डङ्गुरमा फालेपछि झिक्ने कष्ट कोही गर्ने होइनन् अनि पढ्ने ! अब साथीहो, हजूरहरू नै मर्जी होस् ती मलाई किताप निकाल्न लाउने मेरा मित्र हुन् कि शत्रु ?

(यो लेख फित्कौलीले छापे पनि पैसो दिंदैन र म पनि माग्दिन।)

काठमाडौं