सधैंजसो के गर्दै छौ मिष्टर ड्याहल भन्दै बिना सूचना मलाइ भेट्न आइपुग्ने मेरो अमेरिकन साथी गेरी सेफर्ड्ले अकस्मात फोन गर्यो र आदेश दिएझैं भन्यो– “मिष्टर ड्याहल, आज होटल याक एण्ड यतीमा डिनर मिटिङ छ त्यसैले साँझको ७ बजे होटलको स्विट नं.४१० मा आउँनु ।” र मैले के को मिटिङ ? को को सहभागी हुने ? कस्तो तयारी गर्नु पर्ने ? आदि केही सोध्न बुझ्न नपाउँदै उसले फोन काटी सकेको थियो दिउँसोतिर ।

अरुबेला त नेपाली डिसले मुख फेर्ने भन्दै मेरा घरमा धाउँने यो खैरेले के अचम्म गर्न लाग्या होला आज ? भनेर सोच्तै उसले दिएकै समयमा होटलमा पुगें अनि मोबाइलमा समय हेरें । नभन्दै दिएका समयमा मिनेट पनि मिस भएको रहेनछ । मन ढुक्क भयो ।

म पुग्ना साथै गेरीले उठेर मेरो स्वागत गर्यो र ऊसँगै बसेको अर्को मानिसतिर झुक्तै आधा अंग्रेजी र आधा नेपाली मिसाएर परिचय पनि गरायो– “उहाँ हुनुहुन्छ मिष्टर फर्न्यान्डिज, माइखल जेइ फर्न्यान्डिज । ठेन्थ रिचेस पर्सन अब् अम्म्यारिका इन दिस इयर ।” जो नेपालमा जलविद्युत र सिमेन्ट उद्योगमा लगानी गर्ने सोचले नेपाल आउनु भएको छ ।

मैले पनि उसलाई अभिवादनमा “हेलोउ” गरेँ उनीहरूकै स्टाईलमा अनि “हाम्रो देशलाई छनौट गर्नु भएकामा यहाँलाई हार्दिक स्वागत हाम्रो देशकातर्फबाट” भन्दै औपचारिकता पनि पूरा गरें र फेरि गेरीतिर फर्किएर मलाई निम्त्याउनुको कारण सोध्न मुख बाउन आँटेकोमात्र के थिएँ उसैले मलाइ सोफातिर इसारा गर्दै भन्यो– “बस्नुस् ।”

म बस्नासाथ ऊ शुरु भै हाल्यो– “मिष्टर फर्न्यान्डिज झण्डै एक बर्षदेखि नेपालमा आउँदै जाँदै गरिरहनु भएको हो । नेपालको व्यापारिक तथा औद्योगिक वातावरण बुझ्नका लागि र यसपटक चैं कानुनी प्रावधानका बारेमा बुझ्न चाहनु हुन्छ त्यसैले मेरो सल्लाहमा तपाइँलाई बोलाइएको हो ।”

त्यसपछिको धेरै समय व्यापार प्रधानकै कुरा गरेर बितायौँ । गेरीले मेरो नालीबेली सुनाइ सकेकाले होला मैले मेरो परिचय दिनमा धेरै समय लगाउनु परेन र ठिक्क कुराकानी सकिँदा लन्च पनि आइपुग्यो । टाइम मेनेजमेन्टको सही नमूना पेश गर्दै ।

लन्च सकिएर बिदावारी हुने बेलामा गेरीको सट्टामा माइकलले सोध्यो– “अब हामीले तपाईंलाई कहाँ छोड्नु पर्ला ?”
उसको व्यवहारले एकछिन त मलाई अक्क न बक्क बनायो । तै पनि मैले आफूलाई सम्हालेर भनें– “सम्भव भए घरैसम्म ।”

“सम्भव किन नहुने म्यान् ?” यसपटक माइकको सट्टामा गेरीले उत्तर दियो र टेबलमा रहेको चाबीको झुत्तो टिपेर माइकलाई दियो । अमेरिकाको दशौं धनी भनिएको माइक फर्न्यान्डिजले निकालेको गाडीले झन अर्को आश्चर्य थप्यो । गाडी थियो महिन्द्रा के यु भि ।

मैले आफ्नो कौतुहलता मेटाउन गाडीभित्र बस्नासाथै सोधिहाले– “तपाईं मान्छे अमेरिकी भए पनि गाडी त इण्डियन चढ्नु हुँदोरहेछ नि त ।”

“तपाईंले छाला र मेरो हाइटलाइमात्र आधार मानेर मलाई अम्म्यारिकन ओरिजिनको ठान्नुभयो होला तर म त इन्डियन ओरिजिनको अम्य्यारिकन हुँ नि त ।”

उसको भनाइपछि बल्ल मैले राष्ट्रियता बुझें अनि भारत छोडेर अमेरिकाको ग्रीनकार्ड लिइसकेका भए पनि किन भारतले रघुराम राजनलाइ बोलाएर रिजर्ब बैंक अफ इन्डियाको गभर्नर बनायो र राष्ट्रका ढुकुटीको चाबी सुम्पियो ? भनेर पनि ।

गौरादह– १२, झापा