म व्यक्तिगत तवरले वर्तमान प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीको घनघोर प्रशंसक हुँ । मेरो विचारमा यसको मोटामोटी दुई कारण हुनसक्छ । एक, म एउटा भूतपूर्व एमाले हुँ । अत ममा केही एमालेत्व बाँकी नै रहेको हुनुपर्छ । यही नै जरुर हो कि ! र अर्काे महत्वपूर्ण कारण कमरेड प्रधानमन्त्री ओलीको बेलामौकामा अनायास प्रस्फुटित भइरहने फुक्काफाल वाणीहरू हुन् । यसलाई कतिपय नाक खुम्च्याएर ‘हावागफ’ भन्ने गर्छन् । अब यही हावागफबाट उत्पन्न ऊर्जाको उदात्त मद्दतले उनी मुलुकलाई मजैले हाँकिरहेका छन् भने अरूहरूलाई यस्तो आपत्ति किन ? तर यत्तिकैको भरमा अब उपरान्त यो मुलुक अगाडि बढ्न कठिन हुने भएकोले म कमरेड प्रधानमन्त्री ओलीलाई दुई–चार व्यक्तिगत सुझाव दिन अघि सरेको छु ।

१. म कुनै पाया, तास या कौडा खेल्ने जुवाडे होइन । अँ, एकाध यस्ता जुवा खेल्नेहरूसँग मेरो केही चिनापर्ची अवश्य रहेको छ । यही एकमात्र आधारमा म के भन्छु भने कुनै जुवाको खालबाट ठूलो रकम ‘हात मारेर’ फर्केको विजयी जुवाडेको अनुहारमा जुन भीषण चमक हुन्छ, त्यो अनमोल हुन्छ । अझ सकल नेपालीजनलाई नै बलजफ्ती खालमा थाप्न सक्ने क्षमतावान महाजुवाडेहरूका विद्युतीय व्यक्तित्वको के कुरा गर्ने ? हो, यिनै राष्ट्रिय स्तरका नामचीन जुवाडेहरूका यावत चम्किलोपनलाई एकत्रित गरेर मुलुकलाई किन झलमल्ल नपार्ने त ? यही उज्यालो संकलन क्रियालाई ठूलो पैमानामा व्यावहारिकता प्रदान गर्न म कमरेड प्रधानमन्त्री ओलीसँग विनम्र आग्रह गर्छु ।

२. कुनै जमानामा म एक चर्चित खालको प्रेमी थिएँ । अब मेरो तत्कालीन कलेजस्तरीय प्रेमको के र कस्तो हविगत भयो, यो मेरो नितान्त निजी मामला भएकोले त्यतातिर नजाउँ ! तर यही अतितमुखी विपुल अनुभवले मलाई केही भन्न प्रेरित गरेको छ । मेरो भन्नु के हो भने प्रेमीहरू दुई प्रकारका हुने गर्छन् । एक, सफल प्रेमी र अर्काे असफल प्रेमी । प्रथम कोटीको सफल प्रेमीबारे मलाई केही भन्नु छैन । जहाँसम्म असफल प्रेमीको कुरो छ, यो पर्याप्त मात्रामा लाभप्रद हुनसक्छ । हेर्नाेस्, कुनै पनि असफल प्रेमीको मुखारविन्दमा जुन निराशाको ‘घना बादल’ मडारिरहेको हुन्छ, त्यसको यथेष्ट उपयोग गर्न सकिन्छ । मेरो भनाइको आशय के हो भने त्यही ‘घना बादल’लाई सरकारी सत्प्रयासद्वारा धुमधामको वर्षातमा किन परिणत नगर्ने ? यसले मुलुकको सम्पूर्ण सुख्खा वातावरण सहजै तरल हुनेछ । अनि कुनै पनि खालको अकालबाट एउटा सुखद सहकालमा आउन के बेर ? यही असफल प्रेमीसम्बन्धी सफल सुझाव म कमरेड प्रधानमन्त्री ओलीलाई दिन चाहन्छु ।

३. हामीकहाँ घुस्याहाहरूको कुनै अभाव छैन । यिनीहरूकै साझा परिश्रमले मुलुकको गतिशीलता कायम रहेको छ भन्नेहरू पनि मनग्ये छन् । अब घुसले मुलुक चल्छ अथवा चल्दैन भन्ने निष्कर्षविहीन बहसतिर नगएर म के भन्छु भने वास्तवमा मलाई घुस र घुस्याहासँग कुनै लिनुदिनु छैन । म त फगत एउटा घुस्याहाले घुस लिँंदा जस्तो आत्मशान्ति महसुस गर्छ, त्यतातिर इंगित गर्न चाहिरहेको छु । यस्तो महान आत्मशान्ति कति अपार शक्ति हुने गर्छ, यो समस्त घुस्याहाहरूका अनुभवको पुँजी हो । कतै यही पुँजीको विस्तारीकरण पुँजीवाद त होइन ? जे भए पनि यही पुँजीलाई उधारो लिएर यो मुलुकलाई अग्रगामी उचाइमा किन नपुर्याउने ? हामीलाई कुनै घुस्याहासँग नभएर उसको सञ्चित आत्मशान्तिसँग मतलव छ । यसले आत्मविश्वासमा पनि भरमार बढोत्तरी गर्नेछ । त्यसपछि मुलुकलाई द्रुतगतिले अघि बढ्नबाट कसले रोकछेक गर्न सक्छ ? हो, यही कुरोमा कमरेड प्रधानमन्त्री ओलीको समग्र ध्यान जाओस् ।

४. रत्नपार्कको हुलमुलमा मेरो बगली मारियो । हुन त मेरो बगलीमा कुनै खास मोटो रकम थिएन । तथापि जति रकम थियो, त्यति एक नेपालीको सालाखाला हैसियत बमोजिम पर्याप्त नै थियो । तसर्थ मेरो बगली मार्ने बगलिमारालाई असन्तुष्ट हुने कुनै कारण छैन । यो त परम सन्तुष्टिको क्षण हो । यसमा बगलिमाराको सतत निजी प्रयास पनि अतिरिक्त रूपले सामेल रहेको छ । यसको हाललाई सरकारीकरण नै सम्भव नभए पनि कम्तीमा हामी निशुल्क शिक्षा भने लिन सक्छौं । किनभने अहम् सवाल मेरो एक अदत बगलीको होइन । एउटा निपुण बगलिमाराको निजी प्रयाससँग सम्बन्धित विषय हो यो । यसमा उसको परम सन्तुष्टि बलियो गरी जोडिएको छ । यिनै कुराहरूलाई उपयोग गरेर यो मुलुकलाई अघि किन नबढाउने ? अतएव कमरेड प्रधानमन्त्री ओलीको जिम्मेवार दृष्टि यसतर्फ जानुपर्छ भन्ने मेरो एकल चासो हो ।

मेरो सुझावहरू प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीको बहुचर्चित हावा गफबाट प्रभावित महाहावा सुझाव लाग्न सक्छ । यो बेठिक होइन । अर्काे शब्दमा यसलाई एक भूतपूर्व एमालेको अभूतपूर्व सुझाव भने पनि हुन्छ । के फरक पर्छ ? अब यसलाई कमरेड प्रधानमन्त्री ओलीले गम्भीरतापूर्वक ग्रहण गरे ठिक छ । कदाचित् ग्रहण नगरिएको खण्डमा झन् ठिक । धन्यवाद !

कान्तिपुर, असार ११, २०७३