आज थाहा छ ? कुन दिन हुनुपर्ने हो ? भ्यालिनटाइन डे । यसै दिन हो प्रणयाशक्त व्यक्ति भ्यालिन्टाइनले जीवन त्याग्नुपरेको !
भ्याण्टा ल्याउनुपर्ने कारण त थाहा छ– थारै–थोरै मर्नै पर्ने के परेको रहेछ भ्याण्टा ल्याउने दिदीलाई । बिचरी ! च्व ! च्व !! जीवन नै त्यागिछन् भ्यान्टा ल्याउने दिदीले । यसपल्ट तराईतिर पुसमा शीतलहर चलेको थियो माघभरि कफ्र्यू चलेको सुनेथेँ । भ्यान्टा ल्याउने दिदी फागुनको पहिलो सातामै आइपुग्थिन् ढाकीमा भ्यान्टा बोकेर टोलटोलमा । के शीतलहरमा परिछन् ? कि कफ्र्युले बिताएछ हजुर ?
प्रेमको कुरा गरेको मैले ! प्रणयमा समर्पित हुनेहरू आफ्नी प्रेमिकासँगको प्रेममा जीवन त्यागिदिन पनि पछि पर्दैनन् । त्यागको पनि एउटा हद हुनुपर्ने हो । हदै हुन थालेछ अब त काठमाडौं वरिपरि पनि । अब त सागसबजीको उत्पादन यसपल्ट हिउँ मात्र नपरेको भए गोलभेँडा र काउली त प्रशस्तै उत्पादन गर्ने थिए प्रणय प्रसाईं र प्रेम पाख्रिनले । भ्यान्टा ल्याउने दिदीले सब्जी लिएर नआए पनि खाँचै त भइहाल्ने रहेनछ । तर मलाई आतेस लागिरहेछ– भ्यान्टा ल्याउने दिदीलाई शीतलहरले बितायो कि कफ्र्युले उडायो ?
प्रेम भनेको पे्रमिकासँगमात्र होइन, परिवारका सदस्यहरूमा छोराछोरीले आमाबाबुसँग, दिदीदाजुले भाइ बहिनीसँग, बाबुआमाले छोराछोरीसँग गरिने आत्मीयताको अभिव्यक्ति हो । इष्टमित्र, छरछिमेक, गाउँघर, समाज राष्ट्र र अन्तर्राष्ट्रसम्म पनि प्रेमको व्यवहार हुनुपर्छ भन्ने पनि भ्यालिन्टाइन डेको सन्देश रहेको छ ।
होइन, तपाईं बारम्बार त्यही भ्यान्टा ल्याइदिने दिदीको कुरा गर्नुहुन्छ ! पुसमा शीतलहर चलेको कारणले तराईमा यसपल्ट भ्याण्टा मात्र होइन, मूला, गोलभेँडा, आलु, काउली सबै मरेर गयो भन्ने कुरा गर्थे– मधेशतिरबाट आउनेहरू, हालत खै के भन्नु....।
प्रेम भाषा र संस्कृतिसँग हुन्छ भन्ने हो भने एउटै भाषा बोल्नेमा प्रेम हुने भए सिया र सुन्नीले किन मारामार गर्नुपथ्र्यो । पश्चिम बङ्गलादेशमा प्रेम हुने भए काँडेतार किन तानिनु पथ्र्यो ? यो एउटा भ्यालिन्टाइन डेले एक दिन तडकभडक गरेका भरमा कहाँ व्यापक बन्न सक्छ र प्रेम !
भ्यान्टाको सिजन त यही नै हो ! त्यो दिदी कालीमाटीतिर कतै बस्छु र ढाकीमा लिएर टोलटोलमा बिक्री गरेर परिवार चलाउँछु भन्थी ! यसपल्ट त उसलाई के भयो कुन्नि– हाम्रो टोलमा देखापरिन । भन्थी छोराछोरी आफ्नै गाउँको चौधरी ठाकुरको घरमा हरूवा–चरुवा बसेको कुरा गर्थी । सानो छोरा बजारको हलुवाको पसलमा लगेर एक मुठो दाउरा बेच्ने गर्दथ्यो ।
वास्तवमा प्रेम त आफ्ना वरिपरिका र आश्रयका मान्छेहरूमा गरिनुपर्छ–भन्ने पनि बुझ्नुपर्छ । प्रेम आफ्नो स्वार्थमा देखाइँदो रहेछ । विद्यालय जाने गरेका किशोरहरू सिधै जुलुसमा सामेल भए । पुलिसको गोली उनीहरूको छातीलाई वारपार पारदर्शी बनाइदियो । कफ्र्यू लागेका बेला ज्यालादारी गर्न जान नपाएका कारण प्लाष्टिक टिप्न गएकी धनियाँलाई कफ्र्यू लागेको बेला ज्यालादारी होइन कफ्र्यू तोड्न निस्केको अभियोगमा पुलिसले प्रहार गरेको गोलीले जीवनलीला समाप्त गरिदियो । यस्तो अप्रिय वातावरणमा भ्यालिन्टाइन डे किन आएको ?
भन्दैछु– यसपल्ट भ्यान्टा ल्याउने दिदी आउँदै आइन । त्यसको त्यत्रो समस्या आफैँ भन्दै हुनुहुन्छ । अरु–अरुले पनि आफूले उब्जाएको सामान बजारसम्म पुर्याएर बिक्री गर्न पाएका छैनन् । दूध बस्तुभाउको कुँडामा मिसाइदिएका छन् । गोलभेँडा, मूला र बन्दा पनि गाईभैँसीलाई कुँडो बनाएर खुवाएका छन् । हजुर प्रेमले आफ्नो स्वार्थ पूरा गर्न कहाँ पायो र ? सानोतिनो आमदानी गरेर काम चलाउँथ्यो बिचरो– म प्रेमलाई काकाको छोरो भए पनि आफ्नै भाइ मान्छु । आज त समाचार पनि आएको छैन । यसपल्ट उसले पनि खेतमा भ्यान्टा नै लगाएको थियो रे ।
भ्यालिन्टाइन डे ! आखिर वर्षको एकपल्ट आउने एउटा दिन । एक दिन प्रेम देखाएर अरू ३६४ दिन जे गरे पनि हुने भन्ने जस्तो स्थिति विकास भएको छ । एकातिर विश्वबन्धुत्व र विश्वमानवता विस्तार होस् भन्ने आजको नारा अर्कातिर त्यसको विपरीत हिंसा, हत्या र आतङ्क पनि मान्छेकै बीचमा विस्तार भएको देखिन्छ ।
भ्यान्टा वर्षका बाह्रै महिना विकासे उत्पादन हुने सब्जी पनि होइन नि !
कहिले डल्लो खालको रामनगरिया भन्टा, कहिले सानो खालको बैगुन लिएर आउँथी । अँ हजुरले सुन्नुभएको थियो– उसका कुरा ? दुई हजार सात सालको क्रान्तिमा निर्वासित बनेका गणेशमान सिंह र केदारमान व्यथितले रक्सौलस्थित भन्टाबारीमा रात बिताउँदा काँचो भन्टा खाएको कुरा बडो रमाइलो मानेर सुनाइथी । आजको समय भन्टा र बैगन त बाह्रै महिना हुने समय हो । उहिले हाम्रा पालमा कात्तिक मङ्सिरमा एक–दुई महिनाका निम्ति मात्र भ्यान्टा उब्जिन्थ्यो । हिउँदभरि खेतीबारी छाडा भएर वस्तुभाउ सबै छाडा हुन्थे । आजको समय त बुझ्नै नसकिने, भ्यान्टा त बाह्रै महिना यो उत्पादन हुन्छ क्यारे, हैन हजुर ! प्रेम बिष्टले लाम्चे भन्टाको बिउ ल्याएको रहेछ भन्थी तल्लाघरकी माहिली । अब त भ्यान्टा पनि विकासे मात्रै पाइन्छ रे– भन्दैथी । उत्पादन गरे पनि समयमा बिक्री गर्न पाए पो ।
हदै यो बज्यै अब त– भ्यान्टा ल्याउने दिदी भनेकै होइन । भ्यालिन्टाइन डे अर्थात् प्रेम भनेको पो सुन्यौ । आफ्ना प्रेमी–प्रेमिकाहरूले आफ्नो माया साटासाट गर्ने दिन भनेको प्रणयको परिभाषा, प्रणयको त्याग र समर्पणका पक्षहरू आज विनिमयका विषय बन्दै छन् ।
राम राम राम ! प्रेमले के आफ्नो छोरालाई जसले छोरी दिन खोज्छ, उसैलाई आफ्नी छोरी दिन गएछ । छोराछोरी साटासाट गरेर बिहा गर्ने भएछ । यस्तो त गर्नु पनि नपरोस् । पुरानो युगमा यस्तो हुन्थ्यो रे । अब त सुन्दा पनि राम्रो लाग्दो रहेनछ ।
सुन्दा त त्यस्तो लाग्यो, झन् आज व्यवहारमा त प्रेम प्रेमका अर्थमा नै छैन । लेनदेनको विषय बनेको छ आज– प्रेम । शोधभर्ना वस्तु बनेको छ– प्रेम– सुनेकै हो ।
सुनेकै हो– प्रेम व्यापार लेनदेनमा लागेको छ रे । नभेटेको पनि धेरै वर्ष भएछ । प्रेम भाइ सानोतिनो व्यापार गरेर बसेको छ भन्थी– त्यही भ्यान्टा ल्याउने दिदी । आज कसरी सम्झनुभयो हजुरले– मेरो भाइलाई ऊ त पहाडबाट तराई झरेको पनि बीसवर्ष बितिसकेछ ।
भ्यालिन्टाइन डेमा हाम्रो जस्तो बहुजातीय र बहुसांस्कृतिक मुलुकमा एउटा यादव केटा देवकोटा थरकी बाहुनी केटी, प्रेम विनिमय गरिरहेका छन् । एउटी झा केटी एउटा प्रधान थरकी केटीसँग विवाहको प्रस्ताव स्वीकार गरिरहेकी छ । एउटा बाहुन केटा एउटी तामाङ केटीसँग प्रणय प्रकट गरिरहेको छ । त्यस्तो अवस्थामा उनीहरूका अभिभावक भने घर करेसामा अन्तर्राष्ट्रिय रेखा कोरेर तारबार हाल्न तयार बनेका छन् । धाराको टुटी एउटा राज्यमा र धाराको मुहान अर्को राज्यमा पर्दा प्रणयको हिसाब बिर्सेर दौत्य सम्बन्धको प्रस्ताव मसौदा गर्न लागेका छन् ।
केटाकेटीमा मेरो भाइ तामाङ केटासँग लुकामारी खेल्थ्यो, म लेप्चा केटीसँग गुच्चा खेल्थेँ । मेरो बिहापछि मेरा माइतीहरू तराई झरेछन् । भाइले थरुनी केटीसँग बिहा गरेछ । के के भयो कुन्नि पुरानो ठाउँबाट अन्तै बसाइँ सर्नुपर्ने भएको कुरा गथ्र्यो रे । मुलुकलाई पनि के भएको होला, के हुन लागेको होला ! हैन हजुर ! करेसामा सीमाको घर थियो– उसको । उसको बिहा छिमेककै केटासँग भयो– उसको । आज सबै राम्रो भएको छ– उसको घर व्यवहार । तर उसकै करेसाको माइतीघर अर्कै केजति प्रान्तमा प¥यो र माइत जान भिसा चाहिने भएको हुँदा सीमाले पाउन सकेकी छैन रे । सायद भ्यान्टा ल्याउने दिदीलाई पनि यस्तै रोगले पिर्यो कि !
तिमी जेसुकै बुझ ! म भन्दैछु– भ्यालिन्टाइनको नाममा डे मात्र होइन एभ्री डे मनाए पनि र वर्ष, रजतवर्ष, स्वर्णवर्ष र शताब्दी वर्ष मनाए पनि यही समस्या बौरिन्छ । मैले बाहिर जानुछ– म हिँडेँ ।
हजुर के के कुरा गर्नुहुन्छ– त्यो म बुझ्दिन, फर्किदा हजुरले भनेको एक जोडी एब्रडी ब्याट्री चाहिँ ल्याइदिनुहोस् है ! मैले फुटपाथे पसलबाट एउटा लाइट ल्याएकी छु– लोडसेडिङले आँखै फुटायो । हओस्, मैले बुझेँ ! म ब्याट्री लिएरै आउँछु, मेले भ्वालिन्टाइन डे कुरा गरेँ र आफैँ झमेला निम्त्याएँ । एभ्री डे, त्यति मात्र कहाँ हो र ! एभररेडी ब्याट्री ल्याउने अवस्थासम्म पुगेँ । हामी सबैको आँखा छर्लङ्ग हुने गरी उज्यालो परोस् । अरु पनि केही छ कि ल्याउनु पर्ने ?
अरु ! ....अरु त ...!!

कोटेश्वर, काठमाडौँ