निस्कन्छ टेढो बनी
भाँडामा जब प्वाल पर्छ पहिले टालिन्छ केही दिन
त्यो गर्दा पनि काम दिन्न जब त्यो फालिन्छ अर्को दिन ।
खस्के हालत मित्र पूर्व दिनका फर्केर हिँड्छन् उता
हात्ती खाडलमा परेपछि गई जिस्क्याउँछन् भ्यागुता ।।
जो सोझो र इमानदार छ बढी, त्यै भोग्छ धेरै दुख
बाङ्गो वृक्ष सधैँ रहन्छ, पहिले काटिन्छ सोझो रुख ।
पाए खोज्छ हडप्न मानिस सधैं, जो गर्छ चिल्ला कुरा
औँला चाट्छ अगाडि त्यो पछि गई निल्ने पुरै पाखुरा ।।
गल्ती गर्दछ एक अङ्ग त्यसको खप्छन् सबैले पिर
खुट्टामा जब लाग्छ ठेस जिउ नै हुत्तिन्छ एकातिर ।
जोखिन्छन् जब व्यक्ति हैसियतमा राम्रो नराम्रो हुने
काला काग र कोयली तर दुवै आवाजले छुट्टिने ।।
बोल्छन् व्यङ्ग्य गरेर जो पनि यहाँ आफ्नो अवस्था गिरे
आफू कायर हैन भन्दछ मुसा भागी दुलामा छिरे ।
बस्दा सिर्जन कार्यमा हरघडी झस्काउने छन् बढी
केही उन्नति गर्छ मानिस भने खस्काउने छन् बढी ।।
पैले बुज्रुग भै यिनै पुरुषले नारी पठाए सती
ऐले मानिस द्रव्यलोलुप हुँदा बेच्छन् स्वयम् श्रीमती ।
मान्छे व्यस्त छ अर्थ सङ्कलनमा छाड्दैन पाए जति
आएसम्म निचोर्दछन् रस सबै पाए भने कागती ।।
मान्छेको मन बुझ्नु झैँ जटिलता लागेन अर्को तर
यौटै व्यक्ति अनेक रूप कहिले नौनी, कतै पत्थर ।
खाई आलु लुकेर भन्दछ उही, पेडा थियो त्यो भनी
यो मान्छे जति ज्ञान आर्जन गर्यो निस्कन्छ टेढो बनी ।।
सुर्खेत