गोविन्द मानिए आज बौलाहा लोकमानले
उपचार हुने होला ठोकुवाकै प्रकारले ।।

हाम्रो पालो आउनेछ अवश्य पनि कुर्छु म
यही पागलको नाम शिर बोकेर मर्छु म ।।

आधार यौटै शिवको भन्छौं पशुपति प्रभु
हामी अछूतका लागि अदृश्य किन छन् विभु ।।

अरू ढोका सबै छेके यौटै पश्चिमतर्फको
थियो द्वार खुला राखे त्यहाँ साँढे अजङ्गको ।।

प्रभुको मुख देखिन्न साँढेकै फल देखिने
हाम्रो निधारमा यस्तै भाग्य मात्र छ लेखिने ।।

नेपालमा हाँक दिन्छ भारती लठुवा हली
थर्काउने उही नै छ उसकै छ ढलीमली ।।

भयो अघाइयो देश यस्ता पापीहरूसित
आओ पागल हो भन्दै रुन्छु साथीहरूसित ।।

काठमाडौं