बजेट प्रस्तुत भएको केही दिनपछि चौबाटोमा अचानक कार्की काकाले मेरो बाटो छेके । कार्की काका कांग्रेसका पुराना नेता । खान्दानी कांग्रेस । परिवारै कडा कांग्रेस । उनी कम्युनिस्टको ‘क’ पनि सुन्न रुचाउँदैनन् । कांग्रेसका विरुद्ध बोल्नेको सातो उडाउँछन् । साहित्यमा रुचि राख्ने भएकाले मसँग उनको विशेष मित्रता छ ।

काकाले उत्तेजित स्वरमा मलाई सोधे, “भन्नूस् त गाम्नागेजी, ओलीले लिएको अडान ठीक छ कि छैन ?”

एक जना कट्टर कांग्रेसीले जे उत्तर खोजेको त्यही उत्तर दिएँ मैले, “ठीक छैन नि काका ।”

काका एक्कासि जंगिए, “किन ठीक छैन ? देशको विकास गर्छु भन्नु, विदेशीसँग घुँडा टेक्दिन भन्नु, देशलाई आत्मनिर्भर बनाउँछु भन्नु कसरी बेठीक भयो ?”

ल खा, म त फसेछु ! मैले हत्तपत्त भनेँ, “ठ.. ठ.. ठीक छ काका । ठीक छ ।”

काका बीच सडकमै पाखुरा सुर्कंदै आफ्नै पार्टीका नेताहरूलाई विदेशी दलाल, पैसा खाएर देश डुबाउन लागेका, भ्रष्ट, यिनीहरूले देशै बेच्छन् भन्दै वरिष्ठ वरिष्ठ नेताहरूका नामै काढेर गाली पो गर्न थाले । कान थुन्नु कि सुन्नु, मलाई पो आपत् भो ।

“यिनको त्यति बुद्धि थेन, देशको विकास गर्नुपर्छ भनेर दुई–चारवटा योजना ल्याउन सक्थेनन् ? यत्रा वर्ष सरकार चलाए, के हेरेर बसे खञ्चुवाहरू ? हसुरेर मात्रै बसे ? ओलीले विकास गर्छु भन्यो त के बिगार्यो ? वैकुण्ठेले गरोस् कि नीलकण्ठेले, हुनुपर्ने विकास होइन ? हजार वर्षसम्म कुर्सीकै लागि लडिराख्ने ? मुलुक बनाउने कुरा हो, हामी पनि साथ छौँ भनेर लागेको भए हामीले पनि समाजमा शिर ठड्याएर हिँड्न पाउने थियौँ । जनताले पनि मूल्यांकन गर्ने थे भोलि । बजेट चुहियो भनेर महाभारत मच्चाउँछन् । तिनका पालामा चुहिएको थेन ? बजेट कार्यान्वयन हुँदैन भनेर ग्यारेन्टी ठोक्छन्, जोतिषी हुन् यिनेरू ?”

काकाका कुरा सुन्ने श्रोता थपिँदै गए, काकाको आक्रोश अलि कम भयो । उनी कथा सुुनाउन थाले, एउटा दुष्ट लोग्ने थियो रे ! स्वास्नीले जति राम्रो गरे पनि गाली मात्रै गर्ने । लोग्ने दिनभरि तास खेलेर फर्किएछ । बिचरा स्वास्नी सकेसम्म उसलाई खुसी नै पार्न चाहन्थी । मीठो–मसिनो बनाएर खुवाउँथी । बेलुका लोग्नेलाई भातसँग अम्लेट बनाएर दिइछे । खाने कुरा मीठै थियो, दोष लाउने ठाउँ थिएन । फटाहाले यसो सम्झेर भनेछ, के खालकी आइमाई रैछे यो, अमलेट बनाइछ, उसिन्नु पर्दैन ? बिचरा स्वास्नी केही बोलिन । भोलिपल्ट चाहिँ स्वास्नीले अन्डा उसिनेर राख्दिछे । आज पनि उसले फत्तुर थापिहाल्यो, मलाई अम्लेट खान मन थियो, उसिनेर पड्किछे । बिचरा स्वास्नी रुनु न हाँस्नु भई । अर्को दिन स्वास्नीले बुद्धि पुर्याइछ, एउटा उसिनेको अन्डा र एउटा अमलेट दिइछे । आज त बूढाको मुखमै बुझो लाग्यो भन्ठानेको बूढोले खानेकुरातिर हेर्दै भनेछ, थुक्क बेढंगे आइमाई, अमलेट बनाउनुपर्ने अन्डाचाहिँ उसिनिछे, उसिन्नुपर्नेलाई चाहिँ अमलेट बनाइछे ।

“कांग्रेस त्यही लोग्ने जस्तो भएको छ । हो कि हैन, ल भन्नूस् ?”

भीडले ‘हो हो काका’ भन्दै थियो । काकाको आक्रोश निख्रिसकेको थिएन, म भने उनका आँखा छलेर लुसुक्क निस्किएँ र बाटो लागेँ ।

नेपाल, जेष्ठ २७, २०७३