त्यस बेला कानमा के भाथ्यो कुन्नि, अरुले यौटा बोल्दा रहेछन् म अर्कै सुन्दो रहेछु । सुल्टो भन्दा उल्टो सुन्दो रहेछ कानले । कसैले बाढी आयो भन्दा मैले साडी आयो भन्ने सुन्दो रहेछु । हाँडी भन्दा राँडी सुन्दो रहेछु । एक दिन साथीले हिसाब गरौं भनेको रहेछ मैले पिसाब गरौं भनेको सुनें धन्नै कक्षा कोठामा सुईक्याई दिइन् । रातीको बेला थियो सुतौं भन्दै थियो यौटा साथीले मैले उठौं भनेको पो सुनेछु । गाउँमा एक जनासँग झगडा परेर घर के आको थिएँ छोराले सोध्यो भात खानु भो, तर मैले अर्कै सुनेर हर्के खड्काले गालामा पड्काएको झापडको डाम छाम्दै र काम्दै छोरालाई भने लात त खाइन बाबु मुड्की बटारेर उनीहरूले हाने । बुढीले भनी तपाईको काम बिग्रिएछ, मैले अन्त्यमा सुने तपाईको कान बिग्रिएछ ।

घराँ बाउ छोरा मात्र थियौं त्यस दिन । छोरालाई पखाला लागेछ । तारन्तार दिसाको गोदाम घरमा ऊ कुदिरहेको थियो । उसले मलाई सोधेछ– बा, पखालाको औषधी खाम् ? तर मैले सुनेछु छालाको औषधी लाम् ? मैले उसलाई भनें— के भन्छ यो पखाला लागेको बेलामा कहाँ छालाको औषधी लाम् भन्छ यो, खुरुक्क जीवनजल पानी बनाएर खा । उसले के के भन्यो कुन्नि, मेरो कानले पटक्कै शुद्ध सुन्ने भए पो । उसले रिसाउँदै कापीमा लेखेर देखायो– बा, मैले भनेको तपाईले सुन्दै सुन्नु भएन, चिच्याएर कराउँदा मलाई चार पाँच पटक शौचालय जानै नपर्ने गरि लगाएको पाइन्ट समेत बिग्रियो । कान जचाउन जान पर्यो ।

कानको समस्याले मलाई निकै सताउन थाल्यो । राजधानी सहर कान जचाउन जान थालें । गाडीमा कन्डक्टरले झर्नुस् भन्दो रहेछ म मर्नुस् भन्ने सुनेर तँ मलाई मर्ने आदेश दिने को होस् भनेर ऊसँग झगडा गर्दो रहेछु । जब काठमाडौं पुगें नाम चलेको डाक्टरसँग त जचाउनै पर्योे भन्ने सोचें । लालु प्रसाद यादव नामका नाम चलेका डाक्टरले मेरो कान जाँच्ने भए । उनले मेरो कानको खराबी जाँच्न दिसा, पिसाव, रगत, खकार, सिँगान सबैको नमुना लिए । अझ भन्दै थिए अझ अर्को पटकसम्म कान नखुलेमा मासु काटेर विदेश पठाउनु पर्छ रे । नाम चलेका डाक्टरले चेक जाँच गर्दा राम्रै गर्लान् भनेर डाक्टरको इसारामा चलिदिएँ । डाक्टरले चेक जाँच गरेर एक महिनापछि राजधानी आउन भने । त्यस पछि म घर फर्किएँ ।
जब घर फर्किएर औषधी राख्न थाले । कानको पाटपूर्जाको ऊर्जा हराउन थाल्यो । झन अवस्था नाजुक बन्दै गयो । कोही मान्छेले बोलेको सहजै नसुन्ने भएँ । माईक लगाएर बोलेको बाहेक केही नसुन्ने अवस्थामा पुगे म त । त्यसैले आजकल म यौटा राजनीतिक कार्यकर्ता मात्र हैन नेता नै भएको छु किनकि हामी जस्ता नेताले अर्काले बोलेको कुरा सुन्न पर्दैन बरु ठूला ठूला कुरा गरे पुग्छ । मेरो दैनिकी नै पत्र पत्रिका पढ्नु बन्यो ।

एक दिन पत्रिका पढ्दै थिएँ, यौटा समाचारले निकै कानमा समस्या पुर्यायो । त्यहाँ लेखिएको थियो– केही वर्ष अघिका कन्डक्टर आजकल कान डाक्टर । समाचारको गुदि कुरो हेर्दै जाँदा त थाहा लाग्यो उनै लालु प्रसाद यादव बिहारी सर्टिफिकेट लिएर आएर कान डाक्टर पो बनेका रहेछन्, उनको डाक्टर बन्नु भन्दा अघिको पेसा सिएमए पढेर जागिर नपाएपछि गाडीको कन्डक्टर बनेका रहेछन् । यो समाचार पढेपछि निकैबेर मैले कान सुम्सुम्याई रहेँ । जदौ ।

लमजुङ