“हेर त पुड्के, त्यो बाँदर हो”– लाटोले आफ्नो छोरालाई चिडियाखान भित्रको बाँदर देखायो। शारीरिक रूपमा बाठो भए पनि गरिबीले अर्थात् उसकै भाषामा कर्मले ठगिएर उसको नाम लाटो भएको हो ।

के खाइरहेको छ बा त्यो बाँदरले ? स्याउ, सुन्तला, अङ्गुर.... लाटोले छोटो जवाफ दियो । अलिपर पुगेपछि पुड्केले खीर र मासुको थुप्रो देखाउँदै सोध्यो– बा त्यो बिरालोले के खाँदैछ ? यसपटक लाटोलाई निकै नरमाइलो लाग्यो । अघिल्लो बेलुकी लाटोले एउटा डल्लो ढिँडो तीनजना छोराछोरीहरूलाई बाँडेर खुवाएको र आफू बूढाबूढीले मकैको खोले खाएर सुतेको सम्झ्यो । लाटोले बल्ल पृथ्वी घुमेको थाहा पायो ।

बा हेर त त्यो कुकुरले मासु खाँदैछ...., त्यो स्यालले पनि मासु खाँदैछ ...., त्यो चराले चना र चामल खाँदैछ... । पुड्केले घटुक्क थुक निल्दै भन्यो– बा मलाई पनि त्यहीँ राख है, म घर जान्न के !

“चूप लाग् !” लाटोलाई आफ्नो पितृत्वप्रति बिछट्टै घृणा लाग्यो र बेहोसीमै छोरोलाई लतार्दै चिडियाखानाबाट बाहिर निस्कियो ।

काठमाडाैं