झट्ट सुन्दा नौलो लागे पनि ट्वाइलेट व्यवसाय यौटा यस्तो व्यवसाय हो जसमा अरु व्यवसायमा भन्दा कम लगानी गरेरै मनग्गे आम्दानी गर्न सकिन्छ । सबैभन्दा पहिले त ठाउँ छनौट गर्नुपर्छ । यसको लागि सबैभन्दा उपयुक्त, बढी जनघनत्व भएको नेपालका शहरी इलाकालाई मानिन्छ । जहाँ खानाको भन्दा ठूलो समस्या बिस्ट्याउनको देखिन्छ । यहाँ ट्वाइलेट व्यवसायका कच्चापदार्थ धुलाम्मे सडकमा राखिएका पानीपुरी, चटपटेदेखि होटल रेस्टुरेन्टसम्मका खाना हुन । अझै बासी र सडेगलेका खाना पनि बेचबिखन हुने हुनाले यो ट्वाइलेट व्यवसायलाई टेवानै पुर्याउने गर्छ । चिया पसलमा समेत पाइने लोकल तथा देशी मदिरा अनि त्यसका हन्तकाली उपभोक्ता घ्याम्पै रित्त्याउने खालका भएकाले हरेक दस पन्ध्र मिनेटमा तिनलाई ट्वाइलेटको आवश्यकता पर्दछ । माथिबाट जति सुर्क्यायो तलबाट त्यतिनै तुर्क्याउनु पर्ने मानव शरीर पनि ट्वाइलेट व्यवसायको क्षेत्रमा पहिलो सहयोगी हो ।

नेपाल अर्को दृष्टिकोणबाट पनि यो व्यवसायको लागि बढी लाभदायक छ त्यो हो– यसको विज्ञापन खर्च गर्नु पर्दैन । किनकि यहाँ सरसफाइ गर्नु पर्दैन र करिब एक किलोमिटर वरपरसम्म स्वचालित विज्ञापन हुने गर्दछ । जसको उदाहरण विभिन्न बसपार्क नजिकका र अन्य सार्वजनिक सौचालयलाई लिन सकिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पनि चर्चा सुन्नुभएकै होला । अर्को फाइदा भनेको एसि र भेन्टिलेसनको खर्च बचत पनि हो । जब देशकै ठुलो बसपार्कभित्र छिर्दा पिरो अमिलो ज्यानमारा आँखै हेर्न नसकिने राग आउँछ भने अन्यत्र यसको के अर्थ ? पिसाब फेरेको ५ रुपैयाँ र दिसा गरेको १० रुपैयाँ भनेर भित्तामा बाङ्गा अक्षर तेर्स्याइदिएपछि छेउमा बाल्टी र कुर्सी राखेर पैसा संकलन सुरु गरे भै गो । सकेसम्म यौटा प्लास्टिकको ट्याङ्की माथि राखेर तल यौटा धारो हाल्दिनु पर्छ । त्यसैमा सबै जना लाइन बसेर ट्वाक थाप्न आइहाल्छन् ।

हरेक ढोकामाभित्र बसेको मान्छेको अनुहार देखिने गरि यौटा प्वाल पार्नु पर्छ, जसले गर्दा भित्र मान्छे रहेछ भन्ने सजिलै देखिन्छ । चुकुल त एक दुई दिन पनि टिकाउँदैनन् र टिक्दैन । यसको अर्को फाइदा ग्राहक छिटै बाहिरिन्छन् र नयाँ ग्राहकको पालो आउँछ । हुन त खप्नै नसकिने दुर्घन्धले पनि यसमा सघाएकै हुन्छ ।

पैसा उठाउने मान्छे सकभर भुसतिघ्रे हुनुपर्छ । पिसाब फेर्न ढिला गर्नेलाइ पनि दसै रुपैयाँ तिराउनु पर्छ । सोझा सिधाले बीस या पचासको नोट दियो भने चानचुन छैन भनेर टार्नुपर्छ । अन्दाज गर्नुस् दिनमा हजार जनाले प्रयोग गरेपनि दैनिक कमाइ पाँचदेखि दस हजार कहिं नजा कमाइन्छ । अब के छ त तपाईंको बिचार ? गर्ने हैन त नयाँ व्यवसाय ?

अब अलिकति ध्यान दिनुपर्ने कुरा के छ भने अर्कोले चालू गरिराखेको ट्वाइलेट उद्योग नजिक छ भने आँट नगर्नु होला । उसका गुण्डाले ज्यान पनि लिन सक्छन् । किनभने उसका ग्राहक तपाइँकोमा आएपछि उसको व्यवसाय डुब्न सक्छ । अनि अर्को कुरा सफा र आधुनिक पनि नबनाउनु होला, किनकि अरुका ग्राहक भड्कन सक्छन् । अरु ट्वाइलेट कम्पनीका मालिकले दागा धर्न सक्छन् ।

सुरु गर्नु पूर्व कुनै मन्त्री, ठूलो नेता या एरिया डनसँग सल्लाह गर्नुहोस् कि उसको कमिसन कति हो भनेर । केही टोले गुण्डा पनि आफ्नो हातमा लिइराख्नुहोस् । जसका लागि तपाईंले कहिलेकाहिँ चियादेखि बियरसम्मको मेजमानी दिनुपर्ने हुनसक्छ । बस् यति भएपछि तपाईंको ट्वाइलेट व्यवसाय चल्यो भनेर जान्नुस् ।

अब यस व्यवसायका शत्रुहरू पनि चिन्नुहोस । शहरका साना ठुला होटल रेस्टुरेन्ट यस व्यवसायका शत्रु हुन् जसले आफ्ना ग्राहकलाई सित्तैमा ट्वाइलेट प्रयोग गर्न दिन्छन् । केही टाठाबाठाहरू सार्वजनिक सौचालयलाई दिने पैसा चिया पसलेलाइ दिन्छन् र फ्री मै चिया पिएर हिंड्छन् । मतलब चिया पिएपछि फ्रीमा ट्वाइलेट प्रयोग गर्छन् । यसको रोकथामको उपाय पनि खोज्नु पर्छ। ब्यापार व्यवसाय बढाउनको लागि हरेक होटलमा सम्पर्क गरि पिरो, अमिलो, काँचो, बासी, सोडा हालेको भात आदि पेट काट्ने उपाय बताउदै गर्नुपर्छ । हुन त होटल व्यावसायीले पहिलेदेखि नै यसमा भरमग्दुर सहयोग गर्दै आइरहेका छन् । फोहोर ट्वाइलेट पनि प्रत्येक्ष रुपमा यहि व्यवसायलाई सघाइरहेकै हुन्छ, पखालाको माध्यमबाट ।

अब ट्वाइलेट व्यावसायी पनि एकजुट हुँदै आफ्नो हकहितका कुरा सरकार सामु राख्नु पर्छ । सरकारले आफुखुसी फ्री ट्वाइलेट निर्माण नगरोस् । देख्नुभएन ? सस्तो साझाबसको कारण महंगो बस व्यावसायीले यात्रु ठग्न नपाएको र ढुंगा हानेको । हो हामीले पनि यसबाट केही सिक्नुपर्छ । सारा कोनारी ।

हाल : अमेरिका