मधेसवादी भनिएका उपेन्द्र यादवहरूले नेपाल र भारतका सीमावर्ती खुला नाकालाई बलजफ्ती बाधित पारेर नेपाली जनतालाई भोकभोकै पारे, अहिले स्वयम् अनशनको मुद्रा धारण गरेर खुलामञ्चमा भोकै बसेका छन् ।

यही मंगलबारदेखि संघीय गठबन्धनमा आबद्ध मधेसवादी नेताहरूले राजधानी काठमाडौंमा अनशन प्रारम्भ गरेका छन् । कुन्नि यो कुन प्रकृतिको अनशन हो !
‘के तपाईंहरू अनशनमा बस्नुभएको हो ?’ मैले एक सम्बन्धित कार्यकर्तासँग सोधेको थिएँ ।
मेरो यो एक प्रकारले निरर्थक प्रश्नको कुनै जवाफ नआएकाले मैले फेरि सोधें, ‘के आमरण अनशन हो बन्धु ?’

यस पटक भने मलाई केही क्रोध मिश्रित ठूलो–ठूलो आँखाले ‘घुरेर’ उनी सरासरी अघि बढे । मेरा दुवै सोधाइ एकनासले असफल भएकाले मलाई ननिको लाग्नु स्वाभाविकै थियो। तसर्थ दुस्खित भावमा मैले नै आफूलाई उत्तर दिनुपर्यो, ‘मेरो विचारमा पक्कै आमरण अनशन नै हुनुपर्छ ।’

अचेल राजनीतिक फाँटमा अत्यधिक चलनचल्तीमा रहेको आमरण टाइप अनशनको वस्तुत मरणसँग कुनै पनि किसिमको सम्बन्ध छैन । तर, यसका निम्ति हाम्रा नेताजीहरूलाई दोष दिन मिल्दैन अब ‘आमरण अनशन’ को व्यापकतम शब्दसंकुचन भएर यसले आफ्नो मौलिक अर्थ गुमाइसकेपछि कसले के गर्न सक्छ र ?

तराई–मधेसका हाम्रा मधेसवादी नेताजीहरूलाई खानासाना त्याग गरेर यसरी आमरण अथवा जेसुकै टाइपको अनशनमा किन बस्नु परेको होला ? म यस सम्बन्धमा चिन्तनरत छु । (अस्तिनदेखि)। यो चिन्तन चिन्तामा बदलिएपछि मैले आफ्नै जिल्लाका एकाध परिचित नेताजीसँग प्रश्न नगरेको पनि होइन। तर, कुनै सन्तोषजनक जवाफ नआएकाले आफैं यस्तो निष्कर्षमा पुगेको छु म– वास्तवमा यो मधेसवादी भनिएका सम्पूर्ण उपेन्द्र यादवहरूका भोकदेखि भोकसम्मको रमाइलो यात्रा हो।

प्रथमत यिनीहरूले नेपाल र भारतका सीमावर्ती खुलानाकाहरूलाई बलजफ्ती बाधित पारेर नेपाली जनताहरूलाई भोकभोकै पारे, त्यसपछि अहिले स्वयम् अनशनको मुद्रा धारण गरेर टुँडिखेलको खुलामञ्चमा भोकै बसेका छन् ।

पोहोरको बहुचर्चित नाकाबन्दीताका नेपाली जनता भोकमा रहन अभिशप्त रहे तापनि यी मोर्चाबन्द नेताजीहरूको कुल अवस्था यस्तो थिएन । यिनीहरू घरबाट टन्न भात (अथवा नरम–नरम रोटी नै) खाएर अलमस्त चालले सिमानालाई थुन्न भनेर निस्कन्थे । केहीगरी नाकामा बस्दाबस्दै फेरि भोक लागेको खण्डमा पनि कुनै अप्ठ्यारो थिएन । किनभने सीमापारिका धनीमानी हिन्दुस्तानी सेठ–साहूकारहरूले यिनीहरूका लागि तात्तातो कचौडी, जिलेबी र समोसा तयार पारेर राख्ने गरेका थिए। (बिहानैदेखि)। यतिले पनि पुगेन भने सुस्वादिष्ट हलवा, घेवर, सनपापडी, इमरती, लौंगलत्ती, रबडी, बालुशाही, सन्देश, मुरब्बा, चमचम, बम्बइसन, गुलावजामुन, रसमाधुरी, कलाकन्द आदि मिठाइहरूको पनि राम्रो बन्दोबस्ती थियो । कुनै खानेकुराको अलिकति पनि अभाव थिएन । यस्तै, दिउँसोतिर कडा गर्मी हुने भएकाले चिसो रुहआफ्जा सर्वत पनि फटाफट आउने गथ्र्याे । अब छिन–छिनमा नपिई नहुने चियापानीको त के कुरा गर्नु ? तत्पश्चात्को रात्रिकालीन चिसोपानी (सोझै दारुपानी भन्नुभएन) को पनि उत्तिकै गजबको प्रबन्ध थियो रे ! कुन्नि, सत्य–तथ्य के हो ! जे भए पनि तराई–मधेसका नाका–नाकामा नेपाली जनतालाई भोको राख्न घुँडा धसेर आसन जमाएका नाकाबन्दीमार्का नेताजीहरूलाई त्यस बखत बिलकुलै भोको बस्नु परेको थिएन ।

कतै त्यसबेला नेपाली जनताले अनाहकमा सामना गर्नुपरेको एकमुष्ट भोकलाई एक पटक आफूले पनि व्यक्तिगत तवरले महसुस गर्नुर्पयो भनेर यी मधेसवादी नेताजीहरूले टुँडिखेलको खुलामञ्चमा यो अनशन गरेका त होइनन् ? यस्तो हो भने यसको हार्दिक समर्थन गरेर म पनि यो रिले अनशनमा स्वेच्छाले भाग लिन तयार छु ।

भोलि अनशनरत नेताजीहरूको प्रत्यक्ष अवलोकन गर्न म टुँडिखेल, खुलामञ्चमा जाने गम्भीरतापूर्वक विचार गरिरहेको छु ।

कान्तिपुर, जेष्ठ २९, २०७३