भुसिया कुकुरसंग
डयार्र डयार्र गर्दै
बाटोमा फालिएका
भात सिताले पालिएका
यो शहरमा
थुप्रै भोकहरू देखँे मैले ।

भिडहरूकै छेउमा
घ्यार्र घ्यार्र गर्दै
पिडाले थलिएका
पेटीहरूमा ढलिरहेका
यो शहरमा
थुप्रै रोगहरू देखेँ मैले ।

घरै घरको जंगलमा
आफन्तहरू गुमाउदा
समबेदना पिउदै
खाटाहरू सिउदै
एक्लै रोइरहेका
यो शहरमा
थुप्रै्रै शोकहरू देखेँ मैले ।

एकातिर
बच्चा नपाएर
तडपिँदै गरेका
अर्कोतिर
बच्चा फालेर
भड्किँदै गरेका
यो शहरमा
थुप्रै्रै कोखहरू देखेँ मैले ।

कतै बैशले रुपैयाँ साटेका
कतै पैसाले खुपिया साटेका
कतै भातले रात साटेको
कतै मातले खाट साटेमा
यो शहरमा
थुप्रै्रै चोकहरू देखेँ मैले ।

कतै किताब कापी फाली
जुलुस नारामा हिँडेका
कतै टायर मुढा बाली
ढुंगा मुढामा भिडेका
थुप्रै झोंकहरू देखेँ म ।

कतै दिनहु डेरा सारेका
कतै दिनहु डेरा चाहरेका
कतै मान्छेले मान्छे भाँडेका
कतै मान्छेले मान्छे ढाँटेका
कतै मान्छे मान्छेसंग फाटेका
कतै मान्छेले मान्छे काटेका
यो शहरमा
थुप्रै थोकहरू देखेँ मैले ।

दाङ, हाल काठमाडौं