स्वर्गीय महाकवि लक्ष्मीप्रसाद देवकोटा जीवित भएका भए कस्तो ‘मुनामदन’ लेख्थे हँ ? अँ, पुरानै ढाँचा–काँचाले भने पक्कै लेख्ने थिएनन् । अतएव एउटा हलुका अनुमान गर्ने मन भइरहेको छ, मेरो आज । (विदेशबाट काठको बाकसमा बन्द भएर स्वदेश फिरेको एक नेपाली कामदारको समाचार पढेर) । मलाई झ्याउरे छन्दको पटक्कै जानकारी नभएकोले गद्यमा ‘मुनामदन’ ।

(एक)
एकाबिहानै धन कमाउन भनी भोट जान निस्किएको मदनलाई बाटोमै रोकियो । यसले निकै नै क्रुद्ध बनेको मदन सोझै ‘मुनामदन’ खण्डकाव्यका रचयिता महाकवि देवकोटाकहाँ पुग्यो । अनि अर्काे स्वरमा भन्यो, ‘मलाई किन रोकिएको हो, कविजी ?’
महाकवि देवकोटाले कुनै जवाफ दिने प्रयास गरेनन् ।
‘होइन, मलाई यसरी भोट जानबाट किन रोकिएको हो ?’ मदनले दुवै गाला रातरातो पारेर प्रश्न दोर्होयायो ।
महाकवि देवकोटा फेरि उसरी नै मौनतामा बसिरहे । त्यसपछि शिखर चुरोट (फूलमार्का चुरोट नपाइने भएकोले) को एउटा लामो सर्काे तानेर बुङबुङ्ती धुवाँ उडाउन थाले (‘मुनामदन’ बारे नै केही सोचिरहेका थिए सायद) ।

(दुई)
‘मुनामदन’को मदनको एक हातमा प्लेनको टिकट थियो । ऊ घरी आफ्नो दाहिने हातमा रहेको प्लेनको टिकटलाई हेथ्र्याे भने घरी सामुन्ने उभिएकी आफ्नो प्रिय पत्नी मुनालाई । केही बेरपछि निकै नै अप्ठ्यारो पाराले उसले पत्नी मुनासँग भन्यो, ‘भोट जानलाई हवाइजहाजको टिकट किन ?’
‘हजुरलाई थाहा छैन ?’ पत्नी मुनाको ओठमा रहेको मुस्कान एक्कासी मधुर बोलीमा बदलियो, ‘अब हजुरले भोट जानै पर्दैन ।’
‘हजुर नयाँ मदन भएकोले.....।’ केही क्षण अड्किएर अवाक् पति मदनतिर हेरेर फेरि मुस्कुराइ मुना, ‘अब भोटको साटो अरबमा जानुपर्छ ।’
मदनको अनुहारमा रहेको थोरै आश्चर्य ह्वात्तै बढेको थियो ।

(तीन)
एकाएक महाकवि देवकोटा ‘मुनामदन’को एक प्रमुख पात्र मदनसमक्ष प्रकट भएर उसको अनुहारको एकटक आँखा—आँखाले निरीक्षण गर्न थाले ।
यसले चकित भएको मदनले पनि प्रश्नवाचक आँखाले आफ्नो रचनाकारलाई र्हेयो ।
महाकवि देवकोटाले फेरि आँखैआँखामा (अपार दुस्खका साथ) प्रत्युत्तर दिए, ‘तिमी मुनालाई आखिरी पटक हेर मदन ।’
(यहाँ महाकवि देवकोटाले ‘आखिरी’ शब्दको प्रयोग किन गरेका हुन् त ? यो सामयिक प्रश्न ‘मुनामदन’ खण्डकाव्य निरन्तर पढाइरहेका विद्वान प्राध्यापक, असंख्य पाठक र यसका शोधार्थीहरूलाई एकसाथ) ।

(चार)
अरबको कतार देशबाट वर्षौंपछि स्वदेश फिरेको मदनले घरमा आफ्नो प्रिय पत्नी मुनालाई नपाएर भन्यो, ‘मुना खोइ ?’
यसको जवाफमा घर, छिमेकी र देश (अर्थात् सिंगो नेपाल) नै चुपचाप रहेकोले उसले कडा आवाजमा फेरि सोध्यो, ‘मुना खोइ ?’
‘हेर मदन ।’ बल्ल उसको टाढाको एक नातेदार काजीमानले अघि बढेर उसको दाहिने कानमा फुसफुसायो, ‘मुना त अर्कैसँग गइन् ।’
मदन त्यहीँ डङग्रङ्ग पछारियो । उसलाई नजिकैको सरकारी अस्पतालमा लगियो । केही समयपछि अलिकति होश खुल्नासाथ उसको वरिपरि उभिएकाहरूले सहानुभूतिपूर्वक भने, ‘के गर्ने, आफ्नै कोही निठुरी भएर निस्किएपछि †’
‘मलाई मुनाको कुनै चिन्ता.......।’ मदनले बडो सकससाथ यति भन्न सक्यो । त्यसपछि उसको कण्ठको आवाज ठ्याप्पै बन्द भयो । तर ऊ के भन्न खोजिरहेको थियो भने ‘मैले दोहाबाट महिना–महिनामा पठाउने गरेको मेरो रगत–पसिनाको रुपियाँ खोइ ?’

(पाँच)
म अरबबाट थुप्रै धन कमाएर फर्कनेछु........अनि पुख्र्यौली रिन तिरेर आफ्नै घरबार जोड्नेछु........त्यसपछि हाम्रो जीवन सुखपूर्वक बित्नेछ........त्यसबखतसम्म ‘धैर्य गर मुना’ भनी पति मदन विदेशिएको थियो ।
अहिले आफ्नो प्राणभन्दा प्यारो पति मदन लासको रूपमा अरबबाट फर्किएको देखेर मुना पनि एउटा लासमा बदलिएकी थिइ ।
‘धैर्य गर मुना......।’ दुई वर्षअघि मदनले उच्चारण गरेको वाक्य उसको कानको पर्दामा बेसरी ठोक्किइरहेको थियो । (वास्तवमा यो उसलाई ढाडस दिन जम्मा भएकाहरूले भनिरहेका थिए) ।
एकाएक जुरुक्क उठेर मुना पति मदनको चिसो लास (अलि–अलि दुर्गन्ध पनि आइरहेको) अँगालिकन जोड–जोडले रुन थाली ।
‘नरोऊ मुना ।’ मदनलाई अरब पठाउने दलाल रुद्रमणिले अघि बढेर मुनाको खुला पिठ्युँ सुमसुम्याएर भन्यो, ‘अब म मदनको ठाउँमा तिमीलाई अरबमा पठाउनेछु ।’
अब भने मुनाको रुवाइ एक्कासी रोकियो ।

(छ)
अरबबाट मदनको लास काठको बाकसमा आएको थियो ।
मदनको अस्वाभाविक देहान्तपश्चात अरब नै पुगेकी मुनाको मृत्युको भने केवल आँसुमा डुबेको हल्ला आइपुग्यो ।
अब हल्ला (चाहे आँसुमा डुबेको होस् अथवा रगतमा) का लागि काठको बाकस किन चाहियो ?

(सात)
अरबबाट काठको बाकसमा फर्केका मुना र मदनको संयुक्त लास सँगसँगै एउटा बडेमानको प्रश्न पनि त्रिभुवन विमानस्थलमा ओर्लिएको थियो, ‘यो के भएको हो ?’
कसैले पनि यसको उत्तर दिने प्रयास गरेन । तर कुरो यस्तो होइन । वस्तुतस् एउटा गतिलो उत्तरका साथ यो देशको सम्पूर्ण व्यवस्था नै अघि सरेको थियो । उसलाई ठूला–ठूला बुद्धिवादीहरूका पुरै साथ थियो । (धर्म, बजार र समाजको पनि) ।
‘हाम्रो जीवनका लागि यस्तो हुनैपर्छ ।’ सबैका प्रतिनिधित्व गरेको एउटा टाठोबाठो आवाज ।
यसलाई सुन्न नसक्नु कसको दोष
हो त ?

(आठ)
अरबमा धन कमाउन गएका हजारौं—हजार नेपाली कामदार अर्थात् ‘मुनामदन’ खण्डकाव्य बाहिरका मुना र मदनहरू असलमा अरबपति हुन या यहाँका दलाल, भ्रष्ट र देशद्रोहीहरू, यो छुट्याउने जिम्मा पाठकहरूलाई ।
(अहिले मलाई के लागिरहेको छ भने ‘गद्य मुनामदन’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले नभएर वर्तमान समयको यावत कठोरताले लेखेको हुनुपर्छ । म जस्तो सानो लेखकले लेख्ने त कुरै भएन । यति नै ।

कान्तिपुर, असार १८, २०७३