माओवादी केन्द्राध्यक्ष कमरेड प्रचण्डले एक कार्यकर्ता भेलामा ‘म साह्रै बिग्रिएँछु’ भनेको सुन्दा कार्यकर्ताहरू एकछिन त आश्चर्यचकित भएछन् । झुक्किएर उनको मुुखबाट यस्तो कुरा फुत्किएको हो कि भनेर उनीहरूले खासखुस गर्दा गर्दै प्रचण्डले भटाभट आफू बिग्रिएको चस्मदिद दलिल पेश थाले ।

उनले भने, “म साह्रै बिग्रिएँछु । पार्टीलाई पनि बिगारेँछु । युद्धका समयमा पनि तपाईँ कार्यकर्ताहरूले सधैँ सुरक्षा घेरामा राखेर, ज्यानै दिएर हामी नेताहरूलाई जोगाउनु भयो । के के न भइयो भन्ने अनुभूति भएछ कि क्या हो, त्यही बेला देखि नै म बिग्रन थालेँछु । म पनि हौसिन नजान्ने मान्छे, अलिकति कसैले पम्प लगायो कि हसस्स फुलिहाल्ने । यो हौसिने बानीले पनि म बिग्रिएँछु ।

तपाईँहरूले मलाई चाहिने भन्दा बढ्ता महत्व दिएर पनि बिगार्नु भएछ । तपाईँहरूले त्यत्रो ठूलो क्रान्तिको कमाण्डर बनाउनुभयो, आजीवन पार्टीको अध्यक्ष बनाउनुभयो । हुँदा हुँदा तपाईँहरूले प्रचण्डपथको थेगिनसक्नुको पगरी लगाइदिनुभयो । मेरो नाममा एउटा नयाँ बिचारधारै स्थापित हुनलाग्दा म कति हौसिएँ कति । ठाँउ ठाउँमा जाँदा कार्यकर्ताले लगाइदिएका बीस, तीस, पचास किलोका माला र खादाले थिच्दा मेरो मन कति भड्कियो होला ! कतै आफू अर्के ग्रहबाट आएको पो हुँ कि जस्तो भएछ । तपाईँहरूले मेरो देवत्वकरण नै गर्नुभयो । त्यसपछि मैले भुइँ छाडेँछु ।

पहिलो संविधानसभाको नतिजाले त झन् मलाई कहाँ पु¥यायो कहाँ, कुरै नगरौँ । मेरा त आँखा, दिमाग सबै बन्द जस्तै भएछन् । शरिरमा देउता चढे जस्तो भएछ । म त कता कता आकासमा उड्न थालेँछु । माथिबाट यसो हेर्दा काँग्रेस र एमाले मात्र होइन, बाबुराम, मात्रिका, वादल र वैद्यजीहरू पनि सस्याना भुसुना जस्ता देख्न थालेँछु । गिरिजा, देउवा, माधव नेपालहरू कता बिलाए कता । ओलीजीको त मलाई नाम पनि याद भएन त्यो बेला । त्यो अन्धउडानले म झन् बिग्रिएँछु ।

मलाई बिगारेर ध्वस्तै पार्न खाजेको सञ्चार माध्यमहरूले पनि हो । देश विदेशका सञ्चारमाध्यमहरू कसरी मेरा पछि लागेका थिए, तपाईँहरूलाई थाहै छ । एउटा पत्रिकाले एकै अंकमा मेरा पचासवटासम्म फोटो छापे । टेलिभिजनका जुन च्यानल खोल्नोस् मेरै झरझराउँदो अनुहार । जुनसुकै रेडियो बजाउनुस् मै बजिराखेको । हुँदा हुँदा म शौचालयमा छिर्दा पनि पत्रकारहरू बाहिर ढोकामा कान थापेर बस्ने र भोलिपल्टका समाचारमा ‘प्रचण्डज्यूको पेट गडबड’ भनेर समाचार लेख्नेसम्म गरे । यस्तो भएपछि मान्छेको मन बिग्रिँदैन ? यसरी म बिग्रिँदै गएँ, बिग्रिँदै गएँ । तर दोश्रो संविधानसभाको निर्वाचन परिणामले ड्याङ्ग्रयाङ्ग भुईँमा पछारेपछि मैले आफू बिग्रिएको कुरा छ्याङ्ग थाहा पाएँ र त्यसपछि म बिस्तारै सुध्रिन थालेको हुँ । देखिहाल्नुभयो, अहिले म धमाधम सुध्रिँदैछु ।”

केन्द्राध्यक्षका कुरा सुनेर कार्यकर्ताहरूले खूव ताली पिटेछन् । तर यो ताली पिट्ने वा खुशी हुने कुरा होइन कमरेडहरू ! प्रचण्डजीका कुरा ज्यादै अनौठा र अस्वाभाविक छन् । कुनै नेताले म बिग्रिएँछु भनेर सार्वजनिक रुपमा घोषणा गर्छ भने सम्झनुहोस् त्यो नेता अब चाहिँ बिग्रन थालेछ । नेपाली नेताले आजसम्म आफूले गरेका काममा पश्चाताप गरेको कहिल्यै कसैले सुनेको, देखेको छ ? छैन । उसो भए कमरेड प्रचण्ड सुध्रिन होइन, बिग्रिन थालेका हुन् । कार्यकर्ताहरूलाई चेतना भया ।

काठमाडौं