गोरु पालेर दुधको आश
छिमेकी मित्रहरू आ आफ्ना
नवचेतनाका नवनिर्मित्त विकसित गोठहरूमा
नवजागरणका सुसेली गुन्गुनाउँदै
गाइको दूध दुहेर मजाले खाइ रहेका छन्
बँचेको दूधको पेडा बनाएर
अरुलाई पनि खुवाइरहेका छौं ।
तर हामी अहिले पनि
गाई पाल्ने कि न पाल्ने ?
कालो पाल्ने कि सेतो खैरो कुन पाल्ने ?
जर्सी पाल्ने कि देशी पाल्ने ?
पाल्ने नै पक्कापक्की भए
‘प्रमुख गोठालो’ कसलाई छान्ने ?
ऊ सहमतीय हुने कि बहुमतीय हुने ?
पुरै अवधि हुने कि पालो पालो हुने ?
यस्तै प्रश्नावलीहरूको उकाली–ओरालीहरूमा
घुम्ती र मोडहरूमा कहिले हामी
अजानमा रमाइ रहेका छौं ।
कहिले एक अर्काको कठालो समाइ चिच्याई रहेका छौं ।
कहिले बेतुकमा एकअर्कालाई
जिस्क्याइ रहेकाछौं ।
नियमनका सबै पराकाष्ठाहरू नाघेर
कहिले चसकी रहेका छौं,
कहिले मस्की रहेका छौं ।
मजाले एक अर्कालाई झुक्याई रहेका छौं
झुक्याउन सफल भएको ठानी मुस्काई रहेका छौं।
त्यसैले अहिलेसम्म पनि गोठमा
गाई भित्र््याउनै नपाइ नतिजा शून्य छ ।
नचाहिंदा चाहनाहरूमा अल्झेर
हातमा परिसकेको पारसमणि गुमाइरहेका छौं ।
स्वसृजित अन्यौलको अस्तव्यस्तताको
सन्त्रस्त हुण्डरीभित्र रुमलिरहेका छौं ।
सोच्नुस् हामी स्वयंनै मुलुकलाई
कता पुर्याइरहेका छौं ।
खिन्नताको पहिरोले चोइटिएको छ जीवन
आफ्नै ढिपीमा, आफ्नै अहम्मा
कहिले नीतिगत कहिले दलगत
कहिले व्यक्तिगत अहंकारगत
कहिले उत्तर कहिले दक्षिण ठोकिंदै
ढुनमुनाउँदै थचारिंदै हतारिँदै झन झन
ओरालो लागिरहेका छौं ।
चेतनाको चुली उचाल्न बेफुर्सद भै
–धेरै थोक पाएर पनि
–सबैथोक हराएका हामी,
‘गोरु पालेर दुधको आशमा’ प्रतिक्षारत छौं ।
विराटनगर