सत्तालोक माफ गर्नुहोला, सरकाररोहणको यात्रामा निस्कनुभएका तपाईं प्रधानमन्त्री पुष्पकमल दाहाललाई शुभ यात्रा भन्न चाहन्छौं । प्रधानमन्त्रालयको तपाईंको यात्रा सफल होस् भन्ने कामना गर्छौं, जिम्मा लिन सक्दैनौं । त्यसैले आफ्नो यात्रा आफैं तय गर्नुहोला, शुभ यात्रा । यस्तो यात्रा तपाईंले पहिले पनि गरिसक्नुभएको छ । रुट कति अप्ठेरो छ भन्ने कुरा तपाईंलाई पक्कै थाहा छ । यात्रामा कति बाधा आउँछन् भन्ने कुरासँग पनि तपाईं जानकार हुनुहुन्छ । यो रुटमा चिप्लिने, लड्ने, घाइते हुने सम्भावना अधिक छ । विवेकको टर्च लाईट जलाएर हिँड्नुहोला, बाटोमा कहीं पनि उज्यालो भेटिंदैन, किनभने राजनैतिक यात्रामा सधैं लोडसेडिङको सामना गर्नुपर्छ ।

निकट विगतमा पनि तपाईं यही रुटमा यात्रा गर्दै हुनुहुन्थ्यो । फरक यति हो, नेतृत्व केपीको हातमा थियो । ओली रुटबाटै गएको भए तपाईंको यात्रा सुरक्षित हुन्थ्यो, देशविकासको सम्भावना पनि त्यहींबाट हुन सक्थ्यो भन्ने धेरैको बुझाइ थियो । तर समय बितिसकेको छ । छुटेको माछोको मायाले नयाँ सिकार पनि त भेटिंदैन । त्यो मार्गमा पहिरो गैसकेको छ । कुरो बटारिएर कहानीमा पुगिसक्यो । कुन छलखेलले त्यहाँ पहिरो ल्यायो, सत्य–तथ्य बिस्तारै बाहिर आउला । अहिलेलाई सुरक्षित यात्राको कामनासहित यात्रासम्बन्धी केही टिप्स दिन चाहन्छौं ।

तपाईंले भनिसक्नुभएको छ, यसअघिको यात्रा अनुभवको अभावमा असफल भयो । यस पटकको यात्रा ‘अनुभव ज्यादा’ भएर बिग्रिन सक्ने खतरा देखिन्छ । किनभने यसपटक तपाईंभन्दा ज्यादा ‘अनुभवी’हरू यो यात्रामा हिँडिरहको जनताको ठम्याइ छ । अर्घाखाँची जाने भनेर राँची र्पुयाइदेलान्, आफ्नो रुट आफैं पत्ता लगाउनुहोला । एकातिर जनतामा आक्रोशको अग्लो पर्खाल छ । अर्का्तिर कार्यकर्तामा निराशाको गहिरो खाडल छ । उत्तरतिर आशंकाको विशाल पहाड छ । दक्षिणतिर अपेक्षाको खतरनाक खोला छ । यस्तो अप्ठेरो बाटो हिँड्दै हुनुहुन्छ । ख्याल गर्नुहोला । ख्याल–ख्यालमा झ्याल नपरोस् ।

चाइनातिरको लेकले सताउन सक्छ । भारततिरको लुले दुस्ख दिन सक्छ । अमृकाको उले अप्ठेरो पार्छ । युरोपको कुले तर्साउन सक्छ । सोचेर मात्र बोल्नुहोला, जिब्रोमा घाउ लाग्न सक्छ । विचारेर मात्र भन्नुहोला, विवेकमा चोट पर्न सक्छ । जिब्रोले बिगारेको इमेजलाई समझको ओखतीले बनाउनुहोला, शुभ यात्रा । यात्रामा खानपानको ठूलो महत्व हुन्छ । कमिसनले कब्जियत गराउँछ । घुसले घृणा जन्माउँछ । लोभले लिभर बिगार्छ । फट्याइँले फिबर बढाउँछ । डलर खाए डकार आउँछ । भारु खाए भोक भोमिट हुन्छ । ‘आएको बात छैन’ भन्ने पारामा नजानुहोला, बाटा अप्ठ्यारा र र्गाहा छन् ।

यात्रामा बटुवाहरूले धेरै प्रश्न सोध्न सक्छन्, चित्तबुझ्दो उत्तर दिनुहोला । सहयात्रीलाई धम्कीको भाषा प्रयोग गर्न बन्देज लगाउनुहोला । जनताले गल्ती ठर्हयाएका विषयमा क्षमा माग्नुहोला । गल्ती नदोर्होयाउने वचन दिनुहोला । संसारै घुमे पनि चरीलाई गुँडै प्यारो भनेजस्तो, बास बस्ने जनताकै घरमा हो । जंगलमा नबस्नुहोला । बाघ–भालुको खतरा थाहै होला ।

साप्ताहिक, श्रावण २१, २०७३