एउटा गाउँ थियो । गाउँमा किसानहरू बस्थे । किसानका खेतालाहरू पनि थिए । किसानबीच र खेतालाबीच एकापसमा एकता र मेल थिएन । किसानको जस्तै खेतालामा पनि विभिन्न गुटहरू थिए ।

थोरै काम गर्ने र धेरै ज्याला लिने कुरामा भने खेतालाबीच एकता थियो । उनीहरूसँग माथिको शक्ति यतिसम्म थियो कि आफूले मजदुरी गर्न गएको खेत नै आफ्नो हो भनेर दाबी गर्न सक्ने सामथ्र्य उनीहरूमा थियो । किसानले खेतालालाई ‘मुसा’को उपनाम दिएका थिए । किसानको बाली काटेर खेतखेतमा दुलो बनाएर लुकाउँछन् भन्ने आरोप थियो किसानको ।

खेतालाहरू किसानको आरोपको खण्डन गर्दैन्थें । बरु बाली काटेर दुलोमा लुकाउनुलाई आफ्नो अधिकार ठान्थे । एकातिर काम गरेको राम्रै ज्याला लिने अर्को्तिर बाली समेत चोर्ने प्रवृत्तिबाट किसान आजित थिए । उनीहरू किसान मैत्री पटक्कै थिएनन् । किसानलाई उल्टै दास ठान्थे । आफुले अभिवादन गर्नु त कता हो कता किसानले गरेको नमस्कार समेत फर्काउँदैन्थें । बोल्न समेत गारो मान्थे । केही खेताला इमान्दार पनि थिए । तर तिनले संगठित भएर किसानलाई सेवा दिन पाउँदैन्थें । चोर खेतालाले तिनलाई किसान भड्काएको आरोप लगाएर किसानकोमा मेलापात गर्न सकेसम्म रोक्थे । त्यत्रो खेती भएर पनि किसानलाई परिवार पाल्नै धौधौ हुन्थ्यो । वर्षभरि खानै पुग्दैनथ्यो ।

किसान र खेतालाबीच बिचौलिया ठेकेदारहरू पनि थिए । ठेकेदार पनि खेतालासँग आजित थियो । तर असन्तुष्टि पोख्न सक्दैनथ्यो । उनीहरूकै बसमा थियो ठेकेदार पनि । खेताला आफूसँग रिसाए भने किसानसँग मिलेर आफूलाई एक्ल्याउलान् भन्ने पीर थियो उसलाई । तैपनि किसानको गुनासो थेग्न नसकेर एकदिन ठेकेदारले नम्र भएर खेतालालाई भन्यो । ‘हे अन्नदाताहरू तपाईँहरू धेरै गुटमा बाँडिदा तपाईँहरूकै हक अधिकारमा समस्या भएको छ । चोरेको धनको पोल खुलेको छ र किसान रिसाएका छन् । किसान रिसाउँदा तपाईँ हाम्रो व्यवसायमा असर पर्छ । बरु चुनाउ गरेर एउटै गुट बनाऔँ । त्यसको लागि खर्चको ब्यवस्था म गरिहाल्छु, किसान छँदैछन् दुहुना गाईँ ।’

खेताला राजी भए । परम्परागत लोकतान्त्रिक खेताला, आधुनिक लोकतान्त्रिक खेताला, क्रान्तिकारी खेताला र उत्तर आधुनिक खेताला गरी चार गुटमा विभक्त थिए उनीहरू । एक गुटले अर्को गुटलाई आरोप प्रत्यारोप गर्ने गर्थे । आफूलाई लोकतन्त्रको इतिहास ठान्ने परम्परागत अलोकतान्त्रिक खेतालालाई बाली चोरर किसानको अहित गर्ने आरोप थियो । आफ्नो र किसानको बराबर हित गर्ने भनेर आफूलाई मानेका परम्परागत लोकतान्त्रिक खेतालालाई आफ्नो खेत अधिया दिएर दुबैतिर फाइदा लिन आएको भन्ने आरोप थियो ।

किसान र खेताला सबैको बराबर हित गर्न, बिचौलिया हटाई किसानको उत्पादनको मोल पाउने अवस्था सिर्जना गर्ने भनेर औजारसहित खेतमा आएका क्रान्तिकारी खेतालालाई आफैँ किसान आफैँ खेताला र आफैँ बिचौलिया हुने गरेको भन्ने आरोप थियो । र, अर्काथरी सानो समूहका खेतालाले तीनैथरी खेतालाबाट आफू हेपिएको, भनेजति कमाइ गर्न नपाएको, किसानले समेत विश्वास नगरेकोले आफूले अन्न उत्पादन गर्ने छुट्टै खेत पाउनु पर्ने, अरु खेताला बराबर ज्याला र खाजा पाउनु पर्ने माग सहित अघि बढेका उत्तर आधुनिक खेतालालाई आरोप थियो । उनीहरू किसान ठग्न अन्तैबाट आएका हुन् । उनीहरूले कमाएर अन्तै लान्छन् ।

ठेकेदारले किसानबाट उठाएको छ कोटी रकम खर्चेर चुनाउ गराए । किसानलाई पाडो पाए नि पाडी पाएनि हर्ष न विष्मात जस्तै थियो । पात्र र प्रवृत्ति नफेरिएपछि गुट घटेपनि बढेपनि उनीहरूको बाली नष्ट हुन रोकिनेवाला थिएन । परम्परागत लोकतान्त्रिक खेताला धेरै भएकाले किसानको बाली धेरै चोरिने गरेको, उनीहरूकै मुसे प्रबृत्तिले गर्दा किसानलाई खान नपुगेको हो भन्ने सबैले बुझेका थिए ।

संख्या धेरै भएकाले तिनैले जित्छन् । र, झन ठूलो मनोबलका साथ बाली चोर्छन् भनेर चिन्तामा थिए किसान । अनि उनीहरूलाई झिनो आशा के पनि थियो भने अरु साना तीन गुटले हारेपछि उनीहरू किसानका पक्षमा आउँलान् । जब मत परिणाम आयो किसान आश्चर्यले जिब्रो टोके । चोरको धेरै संख्या अन्तै रहेछ । जो किसानको हित गर्न भनेर आए, जसलाई विश्वास गरेर किसानले खलो र भकारी जिम्मा लगाए तिनै पो चोर रहेछन् धेरै संख्यामा । तिन्कै कारण किसान भोकभोकै परेका रहेछन् ।

यी चुनाब जित्ने इमान्दार भएका भए त चोरी नै हुँदैनथ्यो, यिनले चोरी रोक्न सक्थे । किसानको हितमा काम गर्न सक्थे । चोर फटाहा भनेर चिनिएकाको संख्या कम पो रहेछ । तिनले मात्रै एक्लै चोरेकोभरमा किसान भोकै नपर्न सक्थे । किसान लुट्न सबैको एकमत रहेछ । इमान्दार हुँ भन्नेहरू नै नामी चोर पाउँदा किसान झन चिन्तित भए ।

र, चुनाब गरिदिएर आधुनिक लोकतान्त्रिक र क्रान्तिकारीहरूलाई चिन्ने मौका पाएकोमा मनमनै धन्यवाद दिए चुनाउ गराउने ठेकेदारलाई । त्यसपछि किसानको चेत खुलेछ । तुरुन्त आफूलाई गुटउपगुटबाट अलग राखेर एउटै बैठक गरेर निर्णय निकाले–कमाउन विदेश गएका छोराछोरी फिर्ता बोलाउने, आधुनिक ढंगबाट व्यवसायिक खेती गर्ने, लुटतन्त्रमा लिप्त सबै खेतालालाई बहिस्कार गर्ने र इमान्दार खेतालाको सहयोग लिएर कृषि उत्पादन गर्ने । पछि आवश्यकता परे नयाँ खेताला नियुक्त गर्ने । यसमा सर्वसम्मत भयो ।

थोरै संख्यामा रहेका कुनै गुटमा नलागेका, कसैलाई चुनाउमा मत नदिएका इमान्दार खेतालालाई सम्मान गर्ने र पुनः नियुक्ति दिने निर्णय समेत गरे उनीहरूले ।चुनाउ जितेका खेतालाहरू अबिरमालासहित मेला आउनेक्रममा अचम्मको दृश्य देखें । किसानमारा खेताला प्रवेश निषेध भनेर गौँडागौँडामा ब्यानर टाँगिएको थियो । सबै किसान मानव साङ्लो बनाएर उभिएका थिए ।