म हिँडदै थिएँ, बजारको पेटीबाट ।

आफ्नै काममा व्यस्त रक्सी पसले आफ्नो पसल अघिल्तिर कोही हिँडेको चाल पाएर अलिक सतर्क भयो । अनि मलाई देख्नासाथ आशालाग्दो भावभङ्गीले मैले उसको पसल क्रस नगरुन्जेलसम्म मलाई हेरिरह्यो र मनमनै कामना ग¥यो– यसले एक बोतल रक्सी किने हुन्थ्यो नि ।

अलिपर पुगेपछि मासु पसलेले मतर्फ हेर्यो । चुपचाप फुर्सदिलो देखिने मासुपसले ठिङ्ग उभिरहेको थियो । आशा ग¥यो, दुईचार किलो मासु किनेर बोहनी गरे पनि हुन्थ्यो नि ।

मैले बाटो काटेँ । पारिपट्टि पुग्नासाथ औषधी पसल आइहाल्यो ।

औषधि पसलेले मलाई हेर्यो र मनमनै इच्छा प्रकट गर्यो, यो बिरामी भएर महङ्गो परीक्षण र उपचार गरे हुन्थ्यो नि ।
अलिपर पुगेँ । एउटा कानुनी केन्द्रमा दुई जना मान्छे टेबलमा उपरखुट्टी लगाएर बसिरहेका थिए ।

एउटाचाहिँले मतिर हेरेर आशा गर्यो, यसलाई ठूलो मुद्दा लागेर म कहाँ आए पनि हुन्थ्यो नि ।

म बाँयातर्फ लागेँ ।

ओठबाट करिब कानसम्म लिपिस्टिक लगाएकी उसले मलाई हेरेर कल्पना गरी, यसको तपस्या भङ्ग गरेर गर्जो टार्न पाए पनि हुन्थ्यो नि ।

म दाँयातर्फ मोडिएँ ।

मैलो स्यान्डो गन्जीमा भुँडी कन्याइरहेको होटेलवाला साहुले मलाई हेरेर इच्छा प्रकट ग¥यो, यसले मेरो होटेलमा टन्न मासु र भात खाए पनि हुन्थ्यो नि ।

दुई दिनदेखि भोको मेरो शरीर रोमाञ्चित भयो, पुलकित भयो र तत्काल दुर्घटनाग्रस्त भयो किनकि मसँग एक रुपियाँ पनि थिएन ।

काठमाडौं