(गाईजात्रा– २०७३)

नालायक हुँदै नांगै, हिंडेथ्यौ चोकमा जब ।
पुग्यो राजनीति छाड, नेता! नेपालमा अब ।।
देश भडखालमा हाली, पचायौ कोष झुण्डले ।
दौडाइ दृष्टि हेर्दैछन, अझै सुण्ड मुसुण्डले ।।

डाडु पन्यू समाउने, पदमा हानथाप भो ।
नामको धर्म गर्नेले, देखेन मार्ग पापको ।।
नसकी थेग्न त्यो सत्ता, सुम्पे चाकर तन्त्रमा ।
झनै झुलाउछन् जन्ता, घुमाई जादु यन्त्रमा ।।

चढाए पहिले भेटि, पुजारी बन्न पाउँछन् ।
देखे झैँ गिद्धले सिनु, चिहानतक धाउँछन् ।।
सुइँको सुराक पाएमा, छाडी चौतर्फ नै चर ।
खोसेर लोकको गाँस, असुल्छन् लाशकै कर ।।

नभई कर्मिस्ठ कारिन्दा, घुम्छन् चिल्ला सवारमा ।
सेवाग्राही निराशी भै, पर्छन् सदैब मारमा ।।
थुत्ने धुत्ने हिनामिना, भैन्जेल पछिल्तिर ।
राष्ट्रको उन्नति हुन्न, झुक्दै जानेछ झन् शिर ।।

मौकाले मात्र क्यै हुन्न, इच्छा शक्ति नजागदा ।
सरल त्यागी र निस्वार्थी, भेटिए नि यदाकदा ।।
गिर्दो धूमिल बन्दोछ, नेता नेतृत्वका छवि ।
कलंकित हुँदा दोषी, गुप्चुप् पारिन्छ मुल्तवी ।।

हिंशा अनेक हुँदैछ, बढ्नाले दण्डहिनता ।
कठै ! पिडित पिल्सीदै, न्याय खोज्न पुगोस् कता ।।
अपनाई तिगडम् किर्ते, थापी स्वागतको घडा ।
देखावटी भयो कैद, ती नै रे सबका बडा ।।

कोशिदेखा– ७, काभ्रे