(गाईजात्रा– २०७३)

जमिन्दार महेश्वरको १ सय २५ बिघा जमिन । २०२६ सालमा आफ्नै सालो अमिन । गाउँ (दौलतपुर), दौलतले पुरेको परिवार सिर्फ महेशको । सन्तान पनि एउटी पुत्री मात्र । पुत्रको आश त थियो, तर जमिन्दारनी दोस्रो पटक ज्वानाको झोल खानबाट टाढा रहिन् । छोरीको पढाइ अब्बल । विदेश पठाए महेशले । विज्ञान पढ्न गएकी ‘सभ्यता शिवाकोटी’ अर्थशास्त्रमा पीएचडी गरेर फर्किन्, त्यो पनि ‘ध्भािबचभ भ्अयलयmष्अक’ मा ।

दौलतपुर नामको सिक्काको अर्को पाटो कुरूप । सबै गाउँले झुपडी निवासी, झन्नै झन्नै चितवन सौराहा, मालपुरको मुसहर टोलजस्तै । सबै गरिब । महेश्वरको जमिनमा पसिना बगाएर आएको ज्यालाले गुजारा । उता जमिन्दारको गोदाममा अन्न कुहिन्थ्यो, यता गरिब रैती दुर्भिक्षको शिकार । गरिबको सन्तान मुस्किलले टेस्ट पास, अनि मजदुर बन्न मजबूर ।

“अबदेखि यो गाउँमा ५ वर्षदेखि २५ वर्षसम्मका गरिबका सन्तानले खुरु खुरु पढ्ने छन् । सभ्यताको पहिलो कदम । परिणाम... १० बर्षमा दौलतपुरमा कलेजको स्थापना । गाउँलेकै सन्तान प्राध्यापक, छोरीहरू बढी ।

“हाम्रो परिवारलाई वर्षको ४० मुरी अन्न भए मनग्गे, बाँकी अन्न हरेक परिवारले दामासाही गरेर लिनू, कोही पनि भोकले मरेको समाचार सुन्न नपरोस् ।” दोस्रो कदम । ५ वर्षमा गाउँबाट गरिबी गायब । हरेकको आफ्नै एकतले पक्की घर ।

“छोरी, यो के हो ?” जमिन्दारको आक्रोश ।
“बुवा, राजाहरूले के लिएर गए ? हजुर जन्मिँदा के लिएर आउनुभएको थियो ? यी सोझा गाउँलेहरूलाई रुवाएर थुपारेको सम्पत्तिले हजुरलाई शान्ति दिन्छ ? मलाई विदेशमा पढ्न पठाउनुभएको होइन ? म शिक्षित र विवेकी भएको हेर्न चाहनुहुन्छ होइन ? यो सम्पत्ति मेरै लागि होइन ? आमा र हजुर दुवै जना अनेक रोगले ग्रस्त हुनुहुन्छ, आज हो कि भोलि हो, अनि ? बुवा, यो हो क्रान्ति ! यो हो परिवर्तन । यो हो समाजवाद । यो हो सामाजिक न्याय । यहाँ बन्द, हड्ताल, हत्या, हिंशा केही छ ? म खुशी छु बुवा ।” शान्त र शालीन शैलीमा आफ्नो कुरा राखिन् सभ्यताले ।

महेश उर्फ महेश्वर भाग्यवादी । ऊ आफूलाई ‘राजा’ वा भगवान्को अवतार ठान्थ्यो । पुलुक्क पत्नीको मुहारमा हेर्यो ।
“छोरीको खुशी नै हाम्रो खुशी हो आर्य, अब जमाना बदलियो । धन्न अन्त झैं लुट्न आएनन् । हामीले खाने पीठो, लगाउने एकधरो, बस्ने बास एउटा कोठा । आर्य, छोरीलाई आशीर्वाद दिनुहोस् ।” जमिन्दारनी बोलिन्, धेरै वर्षपछि ।
... अर्को कदम, झन् क्रान्तिकारी ! गाउँकै ‘राजकुमार विश्वकर्मा’ सित सभ्यताले लगनगाँठो कसिन्, कोर्टमा गएर । ‘क्रान्ति नायिका’ भनेर गाउँलेले उनको नागरिक अभिनन्दन गर्यो । समाचार आयो, “राष्ट्रिय योजना आयोगको सदस्यमा दौलतपुर निवासी डा. सभ्यता शिवाकोटीलाई नेपाल सरकारले नियुक्त गरेको छ ।”

चितवन