(गाईजात्रा– २०७३)

प्रिय बूढी,

काठमाण्डू आउने बित्तिकै चिठी लेखौँला भनेर तिमीलाई भल्स्याङ् भुल्सुङ् पारेर आएको थिएँ, छोराबुहारीको घरको रमझममा परेर म पो भुल्सिएँछु । आज घरमा कोही पनि छैनन्, रेस्टाँ कि केजाति भन्नेमा खाना खाएर आउने भनेका छन्, मलाई पनि उतैबाट खानेकुरा ल्याइदिने अरे, मुख मिठ्याएर बसेको छु । तेसैले यो फुर्सदमा चिठी लेखिहालौँ भनेर बसेको ।

यहाँ सबैलाई सन्च सुविस्तै रहेछ । सुविस्ता त के भन्नु र, साह्रै व्यस्त हुँदा रहेछन् सबैजना । कसैलाई कसैसँग बोल्ने सम्म फुर्सद हुँदो रहेनछ । बोल्ने त के सासै फेर्न पनि बिर्सेलान् जस्तो हुँदो रहेछ कहिले काहीँ त । छोरा, बुहारी, छोरी, नाति, नातिना सबै काममा घोटिएको घोटिएकै गर्दा रहेछन् । पहिला जस्तो केटाकेटीको हल्लाखल्ला, झैझगडा, केही सुनिँदैन घरमा । केटाकेटी नै नभएको घर जस्तो भएछ । सबै शान्तसँग आआफ्नो काममा दत्तचित्त भएर लाग्दा रहेछन् । बसेको ठाउँबाट फिटिक्क यताउति नचली काम गर्दा रहेछन् । हामी खेति किसानी गर्नेले यति दुःख के ग¥यौँ होला र !

हातमा एउटा मुबाइलको भाँडो भएपछि भुँइचालै गए पनि कोही हल्लिँदा रहेछन् । त्यसैमा काम गर्ने, त्यसैमा कुरा गर्ने, त्यसैमा रुने, त्यसैमा हाँस्ने, त्यसैमा पिरेम गर्ने, त्यसैमा पारपाचुके गर्ने । हर कुरा त्यसैमा हुन्छ रे अचेल । त्यो पश्पती भन्ने ठिटाले गीत गाउँछ नि एउटा, ‘मलाई अम्रिका नि येई, मलाई जापान पनि येई’ भन्ने । यो मुबाइल भन्ने भाँडो त्यस्तै भएछ, बारी पनि यै, खेत पनि यै, आली पनि यै, कोदालो नि यै । हलो, हँसिया, फरुवा, घाँस, दाउरा, भकारो सबै यै भएछ । यही भाँडामा घोप्टो परेर काम गर्न थालेपछि घरमा को आयो, को गयो पत्तै पाउँदा रहेनछन् । चोर पसेर भान्साबाट ग्यासको सिलिण्डर नै उडाएछ अस्ति, घरभरि मान्छे भएकै बेला । कति धार्जे, कति लगनशील भएछन् सबैजना, म त छक्कै परेँ ।

कति साह्रो भ्याइनभ्याई छ यी कलिला केटाकेटीलाई भने पाइखानामा पस्दा पनि त्यो मुवाइल भमयधलयिबम (ज्ञ)न्ने माल बोकेरै छिर्छन् । भित्र पसेपछि निस्कनै बिर्सन्छन्, भित्रै बिजी । मुबाइलमा गीत बजाउँछन् र आफू पनि सँगसँगै गाउँछन् । भित्रै नाच्छन् पनि कि ! त्यो चाहिँ सोध्या छैन । गीत पनि हामी जस्ता लाटागाँडाले के बुझ्नु, अंंगेजी हुन् कि के हुन् । नाति नातिना त कति जान्ने भएछन् कति । अङ्ग्रेजी गीत सुन्दारान, अङ्ंग्रेजी गीत गाउँदारान, अङ्ग्रेजीका किताव पढ्दारान । त्यै मुबाइलमा किताव पढ्न पनि पो मिल्ने रहेछ त । हे प्रभु !

फोटो पनि खिच्न मिल्दो रैछ त्यसैमा । यसो ऐना हेरेजस्तो गरेर मुख अ्याँस्स पार्थे केटाकेटी । के ग¥या होलान् त्यो भनेर म आसर्जेमा परेको थिएँ । मुख चुच्याएको देख्ता घिन पनि लाग्थ्यो । अचेल त हेर्दा हेर्दै बानी भएछ, राम्रै पो लाग्छ । स्याल फी अरे तिनका बाजेको । छोराले भन्थ्यो, उता अम्रिकातिरकी कुन चाहिँ हिरोनीलाई उसका केटा साथीले रक्सी खाएर मुखमा मुक्का हान्दा सुन्निएको फोटो पत्रिकामा छापिएको अरे, त्यो देखेर संसारैभरिका केटीहरूले आफ्नो मुख पनि त्यस्तै पारेर फुटो खिच्न थालेछन् । नातिनीले मलाई पनि त्यस्तै मुख पार्न लगाएर फुटो खिचेर त्यो खेसबुक भन्नेमा हालिदिइछ । हामी बूढाले थुतुनु चुच्याएको के सुहाउँथ्यो । ठ्याम्मै माथ्लाघरेको माले गोरुले गाईसँग लभ परेका बेलाको जस्तो भएछ, मरि गएस् ! सबै कुरा उमेर भएकालाई पो सुहाउँछ, हामीलाई के सुहाउनु ।
नातिनातिना मात्र होइन, बुहारी पनि मुबाइलमा के के जाति ट्वाक्क ट्वाक्क पारेर काम गरि रहन्छिन् । के गरेको बुहारी भनेको डल्ला फुटाएको बा भन्छिन् । यसो हेरेको हरिया, निला, पहेँला, सेता, रङ्गी बिरङ्गी डल्ला ट्वाक्क ट्वाक्क फुटाउँदी रहिछन् । न डल्लेठो चाहियो, न कोदालो, न फरुवा, न घाममा निस्कनु प¥यो, न जिउ नै थाक्यो । सोफामा बसेर औँलैले डल्ला फुटायो बास् । गाह्रो त गाह्रै काम रहेछ यो पनि । बल गरेर, निधारबाट पसिना निकालेर, बेलामा खाना पनि नखाई नखाई, ला !, थुक्क !, मरिगो नि ! भन्दै थकथकाउँदै डल्ला फुटाइरहन्छिन् बुहारी । बिचरा कति दुःख ! जहाँ गए पनि मान्छेलाई दुःखले कहिल्यै नछाड्ने रहेछ । यति मिहिनेत नगरी यो सहरमा खानै पुग्दैन क्यारे, के गरुन त बिचरा ।

हुँदा हुँदा अस्ति त अस्ट्रेल्याबाट कान्छाले मलाई फुन गरेर नातिको न्वारान गर्दिनु प¥यो भन्यो । मैले पनि जेठाका घरमै मण्डप बनाएर सिकाइप कि जेजाति भन्नेमा नातिलाई हेरेर न्वारानको विधि गरिदिएँ । कस्तो रमाइलो बूढी ! जमाना पनि कहाँबाट कहाँ पुग्यो । कहाँ भन्दा पनि जमाना त एउटा मुबाइलमै अटाउने पो भएछ । हाम्रो जुनी त खेरै गएछ नि बूढी, के भन्नु र ! केही थाहा नपाई बितेछ ।

मुबाइलको चमत्कार कति हो कति । ठूली कान्छीले छोरी लिएर आएकी थिई । त्यसलाई पनि मयधलयिबमपो मुबाइल नभइ नहुने भएछ । मुबाइल पाइन कि कोकोहोलो गरेर रुन थाल्दिरैछ । खोई के के माइली भन्ने, रिना कि रिहाना भन्ने केटीका अङ्ग्रेजी गीत लगाएर हातमा थमाइदिएपछि घण्टौँसम्म कोक्रामै कम्मर मर्काइ राख्दिरैछ । डेड वर्षकी बच्ची, हेर त कति चलाख ! मेरिबास्सै, नसकिने भो नयाँ जमानासँग !

नाति मलाई पनि मुबाइलमा भटभटे कुदाउन सिकाइ हेर्छ । आफूलाई आए पो ! अनि भन्छ, हजुरबालाई त म्युजेममा राखे पनि हुने भएछ । हन के रछ त्यो म्युजेम भनेको ! त्यतै पो गएर बसौँ कि क्याहो भन्दैछु । घरमै त यति रमाइलो छ, म्युजेममा झन् कति रमाइलोे होला !

बेलाबेला हँसाएर मार्छन् नानीहरूले । बेलुका पानी मागेको, ए साँची बुबाले पानी भन्नुभाथ्यो भन्दै भोलिपल्ट बिहान ल्याउँछिन् बुहारी । चिया पकाउँदा कहिले बेसार हाल्छन्, कहिले खोर्सानीको धुलो । दालै नओइरिकन पानीलाई सिटी लाएर निकाल्ने त कति हो कति । भात खाने बेलामा भान्साभरि हाँसो गुन्जिन्छ । साह्रै रमाइलो बूढी, के भन्छेऊ र ! घर हो कि धुर्मुसेको नाटकघर हो, पत्तै नपाइने । झन् साह्रो बैठक कोठामा बसेर हिन्दी फिलिम हेर्न थाले पछि त भात डढेर अँगार भए पनि कोही चलमलाउँदैनन् । जे काममा पनि साह्रै लगनशील, साह्रै गहिरिएर लाग्ने । फिलिम हेर्दा हेर्दै नन्द भाउजू नै सुँक्क सुँक्क रुन थाल्छन् । रोएपछि मन हल्का हुन्छ, आँखा सफा हुन्छन्, रोओ रोओ भन्छु म । कति साह्रो कमलो मन भएका मेरा नानीहरू !

जमानैै यस्तो, ओछ्यानमै सुती सुती फिलिम हेर्न पाइन्छ, हेरुन् न त भन्छु म । हामीले त्यस्तो केही गर्न पाएनौ । चालिस सालमा एकपल्ट कान्छा भाइले घिसारेर जलजला भन्ने सेनिमा हलमा लगेर एउटा फिलिम हेराको थियो, त्यो हेरेर निस्किँदा कसैले देख्ला कि भनेर रुमालले अनुहार छोपेर भागेको थिएँ । त्यो हेरेपछि पछि पछि पनि कस्तो हेर्न मन लाग्थ्यो तर कहिल्यैै मौका परेन । तिमीलाई पनि लगेर हेराउन पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो, आकासकै फल भो । कति राम्रा राम्रा केटीहरू थिए त्यो फिलिममा, अझै मेरा आँँखा अगाडि आएर नाच्छन् ती पड्केहरू ।

अचम्मकै समय आयो बूढी । नातीेको कपाल देखिस् भने तँ रिँगटा लागेर पुर्लुक्कै हुन्छेस् । हन कतिथोक जानेका अचेलका केटाकेटीले ? टाउकाको वरिपरि सिनिक्कै पारेर चिण्डो बनाएको छ, रातो जुल्फी भने आकासतिर फर्केको । हाम्रा घरको रातो भालेको न्यास्रो नातिले ठ्याम्मै मेट्छ । नातिनीको लुगा भन्छेस् भने छ्यान्द्रो । कम्मरदेखि कुर्कुच्चासम्मै ठाउँठाउँमा च्यातेको, धुजै धुजा । मैले त्यस्ता च्यातिएका लुगा किन लगाएको, लाए पनि टालेर लाउनु, नत्र मै भा पनि किनिदिन्थेँ, के बिजोग देखाएको यो भनेको केटाकेटी हाँसेर झण्डै मरे । किनेकै त्यस्तै पो अरे । अचेलको चलनै त्यस्तै अरे । चलन पनि कस्ता कस्ता, केटा र केटीहरू सरोबरी भएर जिस्किन्छन्, चल्छन् । हात खुट्टै पो चलाउँछन् त । भेट हुँदा नमस्कार पनि गर्दैनन्, हात पनि मिलाउँदैनन्, बरु ड्याम्म पारेर कुम जुधाउँछन् । नयाँ चलन नि बूढी ! हामीले केही नयाँ चलन चलाउन सकेकौँ । अहिलेका केटाकेटीले नयाँ नयाँ चलन ल्याए । परिवर्तन गरे, विकास गरे । मान्नै पर्छ यिनरूलाई ।

एउटा ठिटो सधैंँ आइराख्छ घरमा । नातिनीसँग अंग्रेजीमा कुरा गर्छ, म बुझ्दिन । भेट हुँदा यस्सो गाला जोड्न खोजे झैँ गर्छन्, छुट्टिने बेलामा पनि यस्सो अँगालो मार्न खोजे झैँ गर्छन् । को हो नानी त्यो भनेको बोएफेल कि केजाति भन्छे । के थर हो यस्तो बोएफेल भनेको, कुन जात हो भनेको बोएफेल भनेको त केटो साथी पो अरे । मरिजाओस्, त्यति पनि नबुझ्ने, कस्तो पाखे भएँछु म ! हाम्रो जुनी त खेरै गएछ नि बूढी, के भन्नु । हाम्रो बिहे भाको बिहे भाको कि सपना देखेको जस्तो भाथ्यो । एकअर्काको अनुहार पनि राम्ररी नहेरी, दोहोरो कुरा पनि नगरी जोवन बित्यो । माया पिरतीको त के कुरा, आफ्नै श्रीमतीसँग दुई शव्द बोल्न पनि कि त ओछ्यानमा कानेखुशी गर्नुपथ्र्यो कि त पँधेरामा ढुक्नु पथ्र्यो । आफ्नै अर्धा्ङ्गिनीसँग आँखा जुधाउन पनि कि त मेलामा खेतालाका आँखा छल्नुपथ्र्यो कि त मैतालु पु¥याउन ससुरालै जानुपथ्र्यो । अँगालो मार्ने, चुप्पा गर्ने भन्ने त थाहा पनि थिएन ऊ बेला । अचेल देख्छु उमेर पुगेका अधबैंसेहरू त के पितृ हुन लागेका बूढाबूढी पनि टपक्क टाँसिएका, अँगालो मारेका फोटा त्यो खेसबुकाँ हालेर प्रचार गर्छन् । कति खुला, कति राम्रो जमाना आयो बूढी !

छोराको बारेमा केही लेखेन भनेर भनौली, उसको हाल खबर थाहै छैन त के लेखौँ । साह्रै ठूलो मान्छे भएछ । बिहान झिसमिसेमा उठेर हिँडेको बेलुका राति एकछिन सुत्न मात्रै घर आउँछ अरे । मैले तीन महिनामा तीन पल्ट जति भेटेँ हुँला । बेला बेला आधा रातमा छेऊमा आउँछ र के छ बा भन्छ, मैले कोल्टे फेर्न नपाउँदै उसको मुबाइलमा घण्टी आइ जान्छ । अनि ऊ ‘डेड करोड’, ‘सत्र रोपनी’, ‘अलि मिलाऊ’, ‘त्यो भन्दा कम एक पैसा हुँदैन’ यस्तै के के फतफताउँदै बिलाउँछ । पैसै कमाउन सकिएन भन्छ बिचरा, कति गाह्रो ।

मेरा कुरा सुनेर बूढो बेसम्भार भएछ कि भन्ने ठानौली, त्यस्तो छैन । उनीहरू जति नै बिजी भए पनि मेरो हेरचाह गरेकै छन् । माया गरेकै छन् । भोक लाग्यो भने यसो कुटुकुटु खानू है बा, भोकै नबस्नू नि, ग्यास्टिक हुन्छ भन्दै बुहारीले सिराने छेऊमा चाउचाउका प्याकेट सधैँ राखिदिएकी हुन्छिन् । पानी पनि हुन्छ छेउमा । कति बिचार पु¥याका । कहिल्यै कुनै कुराको खाँचो हुन दिँदैनन् । साह्रै माया गर्छन् । बरु मै उस्तो बुढी ! त्यो चाउचाउ चपाउन नसकेर नातिलाई दिन्छु, ऊ मरङ मरङ चपाउँछ । दाँत हुनु त त्यस्तो पो, आफ्ना भने भात चपाउँदा पनि दुख्छन्, ढुङ्गाले हानेर झार्नु जस्ता ! कामै नलाग्ने भएँ बूढी म त ।

खाजा पनि दिनदिनै फेरी फेरी खुवाउँछन् । आज चाउचाउ, भोलि बिस्कुट, पर्सी कुरकरे, निकोर्सी आलु चिप, यस्तै के के के के, नाम पनि आउँदैन मलाई त । घरमा बनाउन नभ्याए पनि बजारबाट ल्याएर खुवाउँछन् । कति खर्च गर्छन् मेरा लागि । कति खातिरदारी गर्छन् । कहिले त बाहिरैबाट खानेकुराका पोकापोकै ल्याएर भेला भएर फिँजाएर खान्छन्, खुवाउँछन् । लत्याक, पत्याक, त्यान्द्रा, तुन्द्री, के के जाति । कम्ती स्वादिला होइनन् । तर के गर्नु, आफूलाई पच्दैन । स्वाद लिई लिई खायोे, खाएका पाँचै मिनेटपछि देखि भुँडी कराउन थालेर छेरपाटी लागेर राति नै सकिन्छु कि जस्तो हुन्छ । साह्रै अभागी रहेछौँ हामी, त्यस्ता मिठा मिठा खानेकुरा पनि पचाउन नसक्ने । कोदाका रोटी, मकैको ढिँडो, फापरको फ्याप्लो, कुटेका चिउरा, भुटेका मकै, चामलको भात बाहेक केही चिने पो यो अभागी भुँडीले । कुकुरलाई घिऊ पच्दैन भन्थे, त्यही भा होला ।

के गर्नु बूढी, हामी अलि चाँडो जन्मिएछम् । रोएर नहुने, कराएर नहुने । कपाल फुलिगो, अनुहार चाउरिगो, हड्डी गलेकै हुन्, नसा फुलेकै हुन्, आँखा धमिलिएकै हुन्, दाँत हल्लिएकै हुन् । मन मात्रै चौचौ गरेर के गर्नु, यसो एक भ¥याङ् उक्लिँन पनि धौधौ हुन्छ । तर जे होस्, भोग्न नपाए पनि देख्न त पाइयो नि यो रमझम, यो झिलीमिली । त्यसैमा चित्त बुझाउनु पर्छ । अझ घर बाहिरको संसार त हेर्नै बाँकी छ । एक महिना भयो, घरबाट निस्केको छैन । घरभित्रै यस्तो रमाइलो छ, बाहिर झन् कस्तो होला ! त्यस बारेमा अर्को चिठीमा लेखम्ला । रातिको एघार बजिसक्यो । नानीहरू पनि अब आउलान् । बटर नानी, बल गर्, तन्दुरुस्ती के के नाम गरेका खानेकुरा ल्याउलान् । त्यो खाउँला अनि रातभरि पाइखानातिर जाउँला । आजलाई कलम यही रोकेँ । यो चिठी पछि मै लिएर आउँला र तिमीलाई पढेर सुनाउँला । आजलाई एति । धन्येवाद !