आलु मान्छे
तपाईंमा गम्ने मनुज पहिले भव्य कहिए
मपाईंमा रम्ने मनुज अहिले सभ्य कहिए ।
छ ईर्ष्याको पोको तनमन सबैमा छ गरल
प्रशंसाको भोको मनुज खतरा छैन सरल ।।
अँगाल्यो आशङ्का, छल, कपट हिंसा रिस पनि
घडीजस्तै घुम्ने गतिमय छ यो मानिस पनि ।
भुली नाता गोता धनतिर कुदी पत्थर बन्यो
खन्यो खाल्डो पार्ने नियत अरू हो ऊ पनि पर्यो ।।
अरूलाई हेपी कमसल बनाई तल गर्यो
र आफू चोखो भै विधि पनि मिची मास्तिर सर्यो ।
मिले खान्थ्यो होला सकल अलकत्रा पनि घुस
जहाँ राख्यो ठ्याक्कै सबसित मिल्यो ‘आलु मनुज’ ।।
उभोँ लाग्दो देखे नजिक रहने बान्धव बनी
उँधो झर्दो देखे ‘परपर’ हुने मित्र नचिनी ।
जहाँ जस्तो देख्यो ठिक भइदिने बान्धव बनी
छ ‘छेपारो’ जस्तै पलपल बदल्ने रङ पनि ।।
कहाँ लुक्छन् मान्छे हरतरह आफ्नो जित भए ?
सधैँ झुक्छन् मान्छे धनुषसरि आफ्नो हित भए ।
उही साथी, घाती समय बदले गर्छ छल को ?
हरे मान्छे प्राणी कमसल तथा ऊ असल हो ??
सुर्खेत