‘कसैले पनि साथमा मोवाईल बोकेर आउने हैन, बुझ्या हो नि ? स्कुलमा मोवाईल ल्याउन प्रतिवन्ध छ ।’ हेडसर लाईनमा बिद्यार्थीहरूलाई सम्झाउदै हुनुहुन्थ्यो ।

लाईनबाटै एकजना बिद्यार्थीले हिम्मत गरेर सोध्यो, ‘सर, मोबाईलमा त हाम्रा कितावहरू राखेको छ सरकारले ।
अनि प्रविधिको प्रयोग गरेर पढ्नु पढाउनु पर्छ, यसो गर्दा पढाइ रोचक र प्रभावकारी हुन्छ भनेर अस्ति स्कुलमा आउने पाहुनाहरूले पनि भन्नु भएको हैन र ?!’

‘कल्ले के के भने मलाई थाहा छैन । म भन्दैछु, साथमा मोवाईल लिएर स्कुल भित्र छिर्ने हैन, पत्ता लागेमा जफत गरिने छ ।’ हेडसर अझ कडा रुपमा प्रस्तुत भएको देखेपछि विद्यार्थी पनि डराएछन् क्यारे, सवै चुपलागे । हेडसरले अगाडि थप्नु भो– ‘मोबाईलले गर्दा कयौंका छोरा छोरी बिग्रेका छन्, मोबाईलमा तिमीहरू चाहिया नचाहिया कुराहरू बोकेर हिंड्छौ, मलाई यस्तो मन पर्दैन । तिमीहरूलाई म यसरि बिग्रिन दिन्न ।’ कुरो छिनालेर गर्न त सक्नु भएन हेडसरले तर विद्यार्थीले सरको संकेत बुझे ।

मलाई भने नमिठो लाग्यो । गलत क्रियाकलाप गर्नेलाई कार्वाही गरेर अरुलाई चैं ल्याउन देको भए पनि हुने । आखिर भन्नेबेलाँ हामी आफैं नै २१ औं सताब्दी (यो विज्ञान प्रविधिको युग हो पनि भन्छौं अनि जाबो एउटा मोबाईलसँग डराउँछौँ !

भोलिपल्ट घरमा काम परेको हुनाले म स्कुल जान नसक्ने भएँ । त्यसैले बिदाको निबेदन लिएर म हेडसरको घर गएँ । हेडसर घरमै हुनुहुँदो रहेछ । मलाई देख्ने बितिक्कै “सर, भित्र बस्दै गरौैं न है, म आईहाल्छु” भन्दै बाथरुम भित्र पस्नु भो । म कोठामा उहाँलाई कुरेर बसें । भुईंमा सरकी एक डेढ बर्षकी सानी छोरी खेल्दै रैछिन् । म्याडम सायद माथि किचेनमा खाना बनाउँदै हुनुहुन्थ्यो । सरले सानी छोरीलाई खेल्न मोवाईल दिनु भएको रहेछ । मैले खेल्नलाई आफ्नो कलम दिएर मोवाईल लिएँ । मोबाईलमा फिलिम चलिरहेको थियो, सायद हतारमा सरले बन्द गर्न बिर्सनु भएछ क्यारे ! मैले हेर्न नसकेर तुरुन्तै मोबाईल सानी फुच्चीलाई थमाएँ र आफ्नो कलम लिएँ । अनि क्यै थाहा नपाए जस्तो गरि आफ्नो बिदाको निबेदन सरलाई बुझाएर घर फर्केंं ।

बाटोमा हिजो उहाँले विद्यार्थीलाई भन्नु भएका कुराहरू दिमागमा घुमि रह्यो, ...चाहिया नचाहिया कुरा... मन पर्दैन, आदि आदि ।

हेटौंडा– ४