काठमाडौं, २०७३ भदौ ४ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले बेलजियममा बस्दै आउनु भएका कवि विमल गिरीको हाइकु संग्र्रह ‘विभाजित मन’ को विमोचन गरेको छ । सो विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गर्नुभएको हो ।

सोही अवसरमा विमोचित कृतिले नेपाली काव्य विधाको हाइकुलाई विकास गर्न मद्दत पुगेको र विमलजीको यस अघिका मुक्तक संग्र्रहहरू जस्तै यो संग्र्रह पनि पठनीय रहेको मन्तव्य कुलपति उप्रेतीले राख्नु भएको थियो । कार्यक्रममा स्रष्टा विमल गिरी (बेलजियम), गणेश पराजुली (हङकङ) र दीपा एक्वा राई (हङ्कङ) लाई सम्मान पनि प्रदान गरिएको थियो ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न भएको समारोहमा विमोचित कृति ‘विभाजित मन’ बारे प्रा.डा.खगेन्द्रप्रसाद लुइटेल र पवन आलोकले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । यसैगरी कार्यक्रममा विमोचित कृतिका स्रष्टा विमल गिरी, अध्यक्ष राधेश्याम लेकाली साहित्यकार रामप्रसाद दाहाल, सदस्य राजेन्द्र शलभ लगायतले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा साहित्यकार डा.सुरेन्द्र के.सी., हिरण्यकुमारी पाठक, पुण्य वली, डी.पी.भण्डारी, लीला लुइटेल लगायतको उपस्थिति रहेको थियो । विमोचित कृति ‘विभाजित मन’ को प्रकाशन अनेसास नेपाल च्याप्टरले गरेको हो ।