यौटा स्यालले कतै खसेको यौटा रद्दी कागत भेटेछ । उसले स्यालनीलाई भनेछ– “बुझिस् बूढी, मैले यो लालमोहर भेटें । अब हामीले जसका बारीमा पसेर उखु जत्ति खाए पनि हुन्छ । “स्यालनीले नपत्याउने कुरै भएन । उनीहरू मजासित जसको बारीमा मन लाग्यो पसेर उखु खान थाले । कसैले केही भन्दा पनि भनेन । एक दिन यसै गरी उखु खाइरहेका बखत चारवटा भोटे कुकुरहरूले लखेट्न थालेछन् । उनीहरू भाग्न थाले । अनि स्यालनीले यिनीहरूलाई हाम्रो लालमोहर देखाइदिनुहोस् न भनिछ । अनि स्यालले भनेछ– “यी मूर्खहरूले पढेलेखेका छैनन् । यिनीहरूका अगाडि लालमोहर देखाउनु बेकार हुन्छ । त्यसैले भाग् बूढी भाग् ।”

नेपाली भाषाको क्षेत्रमा पनि यस्तै लालमोहर बोकेका स्यालहरूले जथाभाबी उखु खान थालेका छन् । तिनीहरूलाई लघार्न वास्तविक भाषासेवीहरू आज कराउन थालेका छन् । तिनीहरूले सरकारी शक्ति र आदेश देखाएर जति भाषामा भाँडभैलो गर्छौं भने पनि सफल हुन न त समाजले दिनेछ न त प्रबुद्ध भाषासेवीहरूले नै सहन गर्नेछन् ।

प्राज्ञ शव्दमा प्र नरहेर प् र र ज्ञ नरहेर ग्यँ भएपछि के गति हुने हो त्यसको तयारी गरेर बसे हुन्छ । मन्त्रीले त मलाई झुक्याएछन् भनिसके । अब माओवादी र कांग्र्रेसका मन्त्रीको आँट होला त त्यो गाईखुरे नियम कायम गर्नू भनेर आदेश दिन ?

काठमाडौं