‘....त्यसपछि चरो मर्यो ।’ म पुग्नासाथ उनीहरूले कुराको प्रसङ्गलाई अप्रसङ्गमा मोडे । मेरो उपस्थिति उनीहरूलाई असहज भएको महसुस गरेर म त्यहाँबाट टाप कसेँ ।

‘....त्यसपछि इन्द्रचोकमा गोली चल्यो ।’ उनीहरूले पनि म आएको थाहा पाएर कुरो फेरे । मलाई झनक्क रिस उठ््यो र चुपचाप बिनाकाम टुँडिखेलतिर लागेँ ।

‘....त्यसपछि लौरो भाँचियो ।’ ‘वाहियत !’ मेरो रिस विस्फोट भयो । रिसलाई दाह्राले किटेर एकैछिन बसेँ, उनीहरू सिङ न पुच्छरका लौरोसम्बन्धी कुरा गरिरहे ।
मेरो उपस्थिति त्यहाँ पनि अपाच्य भएकाले ठाडै चिडियाखानतिर हानिएँ ।

‘.....चिँ ! चिँ !! ...उहुहुहु.....प्या ! प्या !! ....हँ !! हँ !!....।
‘यो टोलीले प्रसङ्ग बदलेजस्तो मलाई लागेन किनकि उक्त टोलीमा अबैध क्रियाकलाप, षड्यन्त्र, भ्रष्टाचार आदिका गोप्य कुरा नगर्ने पशुपंक्षी मात्र थिए ।

काठमाडौं