सारा शक्तिको आराधना गरें
वर्षौं वर्ष साधना गरें
ठानें हाँस्लिन् नौली सविता
मख्ख परें जन्मे कविता ।
तर घरकाले सुन्नै चाहेनन्
छिमेकीले पढ्नै जानेनन्
म त स्वयम् बनेछु रमिता
थुक्क मैले के लेख्या कविता ?
छिमेकका बेलायती कुकुर बोलाएँ
भाका हाल्दै कविता सुनाएँ
टोक्नै खोज्यो सुर हरायो
पढ्दापढ्दै मनै डरायो
टोलका भुस्याहा कुकुर बोलाएँ
उनका पुच्छरसँगै हात डोलाएँ
कविता सुनेर कुकुर भुके
आफ्नाहरूले हाँस्दै थुके
हेप्दै हेर्छन् वृद्ध बनिता
भन्छन् खुस्किस् र लेख्छस् कविता ।
घरकाले डाक्टर ल्याए
धरोधर्म पागल बनाए
बुझें समाज बुझें मानिता
कान समात्दै छोडें कविता ।

२०७३ भाद्र १०