सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सम्बन्धको उचाइ

Nepal Telecom ad

पुरानो सरकारले छिमेकीले जे जे भन्यो, त्यही त्यही नमानेर भताभुंग पारेको नेपाल–भारत सम्बन्धमा नयाँ सरकार बन्नासाथ फटाफट सुधार आएको छ । भारतको भ्रमण सकेर फर्किएका उपप्रधानमन्त्री विमलेन्द्र बाबुले हाम्रो सम्बन्ध सुध्रिएको मात्रै होइन, नयाँ उचाइमा पुगेको बताएका छन् । हाम्रो सम्बन्ध आजसम्म कहिल्यै नपुगेको उचाइमा पुगेछ, यसले नयाँ रेकर्ड बनाएछ । सुखद समाचार !

हाम्रो आत्मीय छिमेकीलाई रिसाउन र खुसी हुन धेरै केही चाहिँदा पनि चाहिँदैन । उसले भनेको अलिकति नटेरेजस्तो र्गयो, रिसाइहाल्छ । ल ल भैगो, जे जे भन्छौ, त्यही त्यही गरौँला भन्यो, खुसी भइहाल्छ । आत्मीयताभित्रको खटपट भनौँ न यसलाई ! हाम्रो सामान्य व्यवहार नै हो, घरको एउटा सदस्यसँग रिसाएको छिमेकीलाई अर्को सदस्य गएर फकाउने । निधिजीले त्यो भूमिका निर्वाह गर्नुभयो ।

अटेरी ओली सरकार ढल्नेबित्तिकै दिल्लीको अनुहार उज्यालो भइसकेको थियो । त्यहीँबाट दुई देशबीचको सम्बन्ध सुधार सुरु भइहाल्यो । उपप्रधानमन्त्री विमलेन्द्र बाबुले दिल्लीमा गएर ‘लौ हाम्रो संविधानमा यो यो संशोधन गर्न लाग्या छौँ, यसमा हजुरहरूको के विचार छ ?’ भनेर सोधेपछि त सम्बन्धमा सुधार मात्रै होइन, छलाङ नै आइहाल्यो ।

‘संविधानमा संशोधन गरेर सर्वस्वीकार्य बनाउने, चैतसम्ममा चुनाव सम्पन्न गर्ने, त्यसका लागि मधेसी र जनजातिका असन्तुष्टि सम्बोधन गर्ने गृहकार्य सुरु भइसकेको र सरकारका आगामी कार्यक्रमबारे पनि बेलाबेलामा महामहिमको जानकारी र आवश्यक सहयोगका लागि पेस गरिने नै छ’ भन्ने आशयको स्वयं प्रधानमन्त्री प्रचण्डज्यूको लिखित सन्देश सुनेपछि त मोदीजीको खुसीको सीमै रहेनछ । त्यसपछि त सम्बन्धको उचाइ एकएक कहाँ पुग्यो कहाँ ! मोदीजीले पनि खुसीले हौसिँदै नेपालको संविधान संशोधन तथा कार्यान्वयनमा डटेर सहयोग गर्ने घोषणा तत्काल गरिहालेछन् ।

सम्बन्धको यो सुधारलाई त्यसै छलाङ भनिएको होइन । सम्बन्ध सुधार मात्र गर्न गएका मन्त्रीले यति छिटो सुधार गरे कि नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको मितिसमेत उतै तय गरेर कामै सकेर आए । यताको परराष्ट्र मन्त्रालय त र्हेयार्हेयै । यसरी तय भएको मितिका सम्बन्धमा दुई देशबीचको नाता नबुझ्ने केही अबुझहरूले प्रश्न उठाएको पनि सुनियो । तर, बुझ्नुपर्ने कुरा के हो भने हाम्रो सम्बन्ध भनेको यस्तो हो कि उहिले उहिले हाम्रो सरकारै उतै बन्थ्यो रे, संविधानै उतै बन्थ्यो रे ! अनि, जाबो भ्रमण तालिका उता बन्नु कुन आश्चर्यको कुरा भयो ? दिल्लीले आफ्नो पात्रो हेरेर मिति तय र्गयो, विमलेन्द्र बाबुले ओके गर्नुभयो । उताको पात्रो मिलेपछि यताको पात्रो नाथे त मिलिहाल्छ नि, ह्या… !

सम्बन्धको यो उचाइलाई कहिल्यै कसैले छुन नसक्ने गरी अझै उचाइ थप्न फास्ट ट्रयाकलगायत अरू पनि के के परियोजना उतै टक्र्याउने परिपञ्च जो हुँदै छ, त्यसलाई सफल बनाऔँ । सम्बन्ध सुधारका लागि हामीले त्यस्ता त्याग देखाउनैपर्छ । जसरी होस्, सम्बन्ध सुमधुर बनाऔँ । छिमेकीलाई अटेर गर्दा हामीले धेरै दुस्ख पायौँ । अब आफैँ जान्ने नहोऔँ । भनेको मानौँ । लगातार अकासिइरहेको यो सम्बन्धलाई अलिकति पनि झर्न नदिऔँ । अझै माथि लैजाऔँ र आफ्नै खप्परमा मुड्कीले हान्दै लडीबुडी गर्न थालौँ ।

नेपाल, भाद्र १७, २०७३

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे
भ्रष्टपत्र

भ्रष्टपत्र

लक्ष्मण गाम्नागे