मूला बनेर पस्नूस्, सिन्की बनेर निस्कनूस्
आउनूस्, भित्र पस्नूस्, थ्याच्च सिटमा बस्नूस् । दाइ, अलि पछाडि सर्नूस् । दिदी, बच्चा छातीमा च्यापेर बोक्नूस् । भित्र पस्नूस्, उभिँदा सीधा उभिनूस्, बांगो नहुनूस् । के रे ? बच्चा च्याप्न मिल्दैन रे ! तिम्लाई बच्चा पाउनु कसले भन्या थियो ? बच्चा बोकेर बस चढ कसले भन्या थियो ? खै छाड्नूस्, अलि उता सर्नूस् । लौ, यी बूढा मान्छे किन ढोकाछेउ उभिएको ? भित्र पस बूढा । सिट छ भन्दै मैले बोलाएँ रे ! यतिका सिट देखेनौ ? तिम्रा आँखा फुट्या छन् ? सिट खाली छैन त म के गरूँ ? खाली सिट चाहिनेले आफ्नै गाडी किनेर चढ्नू । होइन, तपाईंले निहुँ खोजेको ? पछाडि सर्नुहुन्न ? दुइटा खुट्टा सीधा पारेर उभिनूस् त !

आउनूस्, यो लास्ट बस हो । अलि भित्र सर्नूस् भनेको सुन्नुभएन ? कोचिएर नबस्ने रे ! नबस्ने भए खुरुक्क झर्नूस्, तपाईं नचढे अरू चढ्छ । भित्र सर्नूस्, ओ बूढीमान्छे, हात के सारो बांगो बनाएर उभिएको, हात सीधा पार । बहिनीचाहिँ के मुसुक्क हाँसेको नि, अलि अगाडि आऊ । अस्ति पनि तिमी हाम्रै बस चढेको होइन ? यस्तै हो बहिनी, भीड हुन्छ, सबैलाई जानैपर्छ । तपाईंचाहिँ यो ढोकाछेउ के खान उभिएको ? बस भरियो रे ! यत्रो ठाउँ खाली देख्नुभएन ? अरू ३० जना अट्छ । तपाईंको बाउको बस हो र मान्छे नभरिई जान ?

आउनूस् आउनूस्, सिटमुनि खाली छ । थपक्क पस्नूस्, थचक्क बस्नूस्, मूला बनेर पस्नूस्, सिन्की बनेर निस्कनूस् । मन लागे चढ्नूस्, नलागे नचढ्नूस् ।

गरे प्रचण्डले, नगरे पाइलटले
अब आकाशमा हेलिकप्टर उडेको देख्नै नहुने भो, गाउँलेहरूले पैसा आएको ठान्ने भए । प्रचण्डलाई जनताले अबचाहिँ मान्ने भए । किनभने, हेलिकप्टरमा खाँदेर ल्याइएको पैसा घर–आँगनमै पाउने भए । आँगनमा घाम तापेर बस्नूस्, प्रधानमन्त्री प्रचण्डले हेलिकप्टरमा पठाएको राहत रकम पोल्टामा थाप्नूस् । तर, तपाईं भूकम्पपीडित चाहिँ हुनुपर्छ । सहरमा दुई–चारवटा बिल्डिङ भएर फरक पर्दैन, गाउँको थोत्रो घरचाहिँ भत्किएको हुनुपर्छ ।

सरकारले अब बोरामा पैसा खाँद्छ, हेलिकप्टरमा लाद्छ । सरर हेलिकप्टर आउँछ, फरर पैसा बाँड्छ । यस्तोलाई भनिन्छ, द्रुत गतिको सरकार † कहिलेदेखि बाँड्छ त यसरी राहत ? त्यो त प्रचण्डलाई पनि थाहा हुँदैन । किनभने, प्रधानन्त्रीको काम आश्वासन दिने हो, दिएको आश्वासन पूरा गर्नुपर्छ भनेर संविधानमा लेख्या छैन, कानुनमा लेख्ने कुरा भएन । यो कुरा हेलिकप्टरको पाइलटलाई मात्र थाहा हुन्छ । पीडितले हेलिकप्टरमा ओसारिएको राहत रकम पाए भने प्रचण्डले दिएका हुन्, पाएनन् भने पाइलटले हेलिकप्टर नउडाएका हुन् ।
राहत रकमको आशमा बसेका भूकम्पपीडित जनता हो ! अब राहत रकम पाइएन भने पाइलटसँग गुनासो गर्नु ल ?

अंक युद्ध
क पार्टी : स्थानीय निकाय सात सयभन्दा धेरै बनाउनै हुन्न । किन बनाउन हुन्न भने बनाउन हुन्न । हाम्ले बनाउन हुन्न भनेपछि बनाउन मिल्दै मिल्दैन । सात सय अंक दामी छ क्या, यो शुभ अंक हो । हाम्रो पार्टीको केन्द्रीय समितिमा सात सय सदस्य छन् । त्यसैले यो अंक पार्टीमा सबैले मन पराएका छन् । हाम्ले मन पराएपछि जनताले पनि मन पराउँछन् ।

ख पार्टी : स्थानीय निकाय १२ सय बनाउनुपर्छ । १२ भनेको दर्जन हो र हामीले जे पनि दर्जनमा हिसाब गर्ने गर्या छौँ । दर्जन अंकको बनाउँदा जनताले सबै सेवा–सुविधा पाउने ग्यारेन्टी हुन्छ, दर्जन बनाइएन भने जनताले केही पाउँदैनन् भन्ने हाम्रो पार्टीको मान्यता छ । दर्जन अंक समाजमा चलिआएको छ । हाम्रो पार्टीले अरू कुरा जान्दैन, दर्जन अंकको नबनाई मान्दैन ।

ग पार्टी : सात सय र १२ सय रे ? वाहियात कुरा ! ठ्याक्कै हजार बनाउनुपर्छ । हजारबाट दायाँबायाँ भयो भने हामी मान्दैनौँ । हजारजस्तो सजिलो अंक कुनै छ ? हजार नबनाए बजार बन्द गर्छम्, चुनाव नै हुन दिन्नम्, कसले के गर्दाे रै छ, हामी पनि हेर्छम् ।

घ पार्टी : यो चुनाव नगर्ने षड्यन्त्र हो । स्थानीय निकाय १ हजार १ बनाउनुपर्छ । बिजोडी अंक शुभ हुन्छ । यो अंकमा घटीबढी गर्न खोज्नु भनेको जनतालाई अधिकार नदिनु हो । जनतालाई सेवासुविधा १ हजार १ अंकले मात्र दिन सक्छ । ट्वाक्कै हाम्ले भने अनुसार हुनुपर्छ । सीमांकन पनि हाम्ले भने अनुसार हुनुपर्छ नत्र यो चुनाव नगर्ने षड्यन्त्र हो ।

मन्त्रीजीको ट्रिक
फिलिममा हिरोरहिरोइनले के लुगा फेर्छन्, त्यसभन्दा धेरै देशले मन्त्री फेर्छ । त्यसैले जनतालाई मन्त्रीको नाम याद हुँदैन । मन्त्री तब सफल बन्छ, जब जनताको मनमा बस्छ । मनमा बस्नलाई नाम याद हुनु परेन ! कसरी याद दिलाउने ? यसमा मन्त्रीपिच्छेको फरकफरक फर्मूला हुन्छ । प्रायस् मन्त्रीले अपनाउने फर्मूलाचाहिँ केही नगरी बस्ने हो । गजधम्म परेर बस्ने, मुखमा काम र माम आइलागे केही गर्ने हो, त्यसबाहेक पदमा टिकेर बस्ने हो । मन्त्री बन्नलाई पो केही गर्ने हो, मन्त्री बनिसकेपछि के गर्नु छ र ? त्यसैले हात बाँधेर बस्ने, रिबन काट्ने या पानसमा बत्ती बाल्ने मौका आए बाँधेको हात फुकाल्ने ।

त्यसपछि ‘यो मन्त्रीले त केही काम नै गरेन’ भन्छन् जनताले अनि नाम याद हुन्छ । विगतका धेरै मन्त्रीजीहरूलाई जनताले यसरी नै स्मरण गर्छन् । अर्काे फर्मूलाचाहिँ काम गर्ने हो । के काम गर्ने भन्दा जे गर्दा चर्चा पाइन्छ, त्यही काम गर्ने हो । खास गरी काटमारबाट धेरै चर्चा पाइन्छ । आम्मै ! काटमार भन्नाले मान्छे काट्ने, पुलको लठ्ठा काट्ने कामचाहिँ होइन नि ! यस्तो काम मन्त्री बन्नलाई गरिन्छ, मन्त्री बनेपछि होइन । काटमार भन्नाले कस्तो भने नि, अहिलेका ऊर्जामन्त्री जनार्दन शर्माले गरेजस्तो ।

उनले काटे– बिजुलीको लाइन । कहाँकहाँ लाइन काट्दा चर्चा र विवाद हुन्छ, त्यहीँ छानीछानी काटे । अस्पताल, मन्दिर सबैतिर काटे । काटेपछि चर्चा हुन्छ । काटिएको लाइन लुरुक्क जोडिदिएपछि महाचर्चा हुन्छ । यसो गरेपछि काम पनि देखिन्छ ।

मन्त्रीजीको यो ट्रिकचाहिँ दामी हो के !

नेपाल, भाद्र १७, २०७३