को सुन्छन् अब आर्तनाद जनता रोए कराए पनि
उस्तै हो गणतन्त्र, लोक अथवा जे ’तन्त्र’आए पनि 
नेपाली जनता सहीकन बसे साह्रै बिचल्ली हुँदा
आई को अब आँसु पुच्छ र यहाँ नेपाल आमा रुँदा ।

सत्ता बाहिर गर्जने तर तिनै सत्ता चढे लापता
खाली पेट अभावका समयमा को भन्छ स्वाधीनता 
हाम्रा शासकको रिमोट छ उता उफ्र्यो, करायो, झुक्यो
खोक्रो राष्ट्रियता झुक्यो धनुषझैँ, नेपाल सारा दुख्यो ।

नेपाली जनता सहेर रहने ’भोगी’हरू फेरिने
जो आए पनि उग्र भाषण दिने कुर्सी मिले बेरिने 
बोली मात्र मिठो भएर जनको फेरिन्न रे तक्दिर
खोक्रो राष्ट्रियता अपाङ्ग र लुलो भै लत्रियो आखिर ।

कौवा शोक न हर्ष मान्दछ अरे यी बेल पाके पनि
हामी धीर भएर ’हुन्छ कि’ भनी पर्खेर थाके पनि ।
हाम्रो जीवन कष्टपूर्ण छ अझै जाने कहाँ फर्किई
भोको पेट कसेर बस्छ जनता स्वाधीनता पर्खिई ।

कैले बाघ बनेन स्याल वनमा ओढेर छाला तर
हुन्छन् धीर, सचेत नागरिक झन्, नेताहरू काँतर ।
राखे शासकले मिलेर अहिले यो देश नै बन्धकी
शङ्का लाग्छ बुझाउँछन् कि यिनले यो देश अन्तै लगी ?

सुर्खेत