कुकुरलाई घुमाउन निक्लेको बाटामा एक अर्को कुकुर भेटियो । म बाटा छेउ उभिएर ‘खुल्ला दिसा मुक्त क्षेत्र’ घोषणा नगरेको फाइदा उठाउँदै थिएँ । तिनीहरू आपसमा गफिन थालेछन् ।

बाटामा भेटिएको कुकुर भन्दै थियो– अरूको साङ्लामा बाँधिएर आफ्नो जीवन किन बरबाद गरिरहेछस् ? म झैँ फुक्का भएर हिँड् न ।
मेरो कुकुरले भन्यो– त्यस्तो सस्तो फुक्का भएर के काम ? पेट सधैँ दाम्रिएकै छ । एक पेट खान सारा गाउँ चाहार्नु पर्छ । मैले त यी मालिकको सेवा पाएको छु । मेवा खाएको छु । मालिकले टक्र्याएको खायो, मालिकले भने झैं भुक्यो, टन्न सुत्यो । मलाई घुमाउने–नुहाउने–हगाउने–मुताउने काम मालिक सा’बले नै गर्नुहुन्छ । क्या आनन्द छ !

बाटामा भेटिएको कुकुरले भन्यो– अड्कलेको खाएर के नापिस् ? अराएको भुकेर के लछारिस् ? न आफूखुसी खानु छ, न आफूखुसी हिँडडुल गर्नु छ, न आफूखुसी भुक्न पाउनु छ ! दास जीवन ! भागेर आ, म झैँ स्वतन्त्र बन् । इन्क्लाबको नारा लगा !

मेरो कुकुरले पुच्छर अझ ठाडो पार्दै भन्यो– भड्काउने काम नगर । एक पेट खान नपाउने स्वतन्त्रता मलाई चाहिएन । मलाई एक गासको लागि गल्ली–गल्ली चाहार्नु छैन । बुझिस् ? मलाई यही ठीक छ । बरु चरित्र सुधार । म मालिकलाई सिफारिस गरिदिउँला ।

दुवै ओठ फट्टाई–फट्टाई दाँत ङिच्याएर ड्यार्रङुर्र गर्न थाले ।

म ‘सेवामुक्त’ भइसकेको थिएँ । सेरु’ भनेर साङ्लो तानेँ । ऊ पुच्छर डोलाउँदै मेरो पछि लाग्यो ।

भैरहवा