सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ढर्रा

Nepal Telecom ad

 height=ढर्रा तपाई हामी जो कोहीले पनि देखे भोगेको र जानेकै कुरा हो । मान्छेले ढर्रा नपार्ने भनेको जन्मिँदा र मर्दा मात्र रहेछ । अन्यावस्थामा ढर्राको पर्रा छर्रा जारी रहन्छ ।{{read_more}}

ढर्रालाई शिष्ट भनौ या विशिष्ट शब्दमा अतिरञ्जित भन्नु पर्छ । चाहिँदोभन्दा बढी भए पछि अतिरञ्जित या ढर्रा हुन्छ । नक्कल झक्कल यसका पर्याय हुन् । आफ्नै आमा बाबुले छोरा छोरीलाई बेला बेलामा सहिमार्गमा ल्याउन चेतावनी दिँदै भन्ने गर्छन् “धेरै ढर्रा नपार है सुम्ल्याइ दिउँला” । नक्कल झक्कलले नेटो काटेपछिको वस्तु स्थितिलाई ढर्रा भन्ने चलन पुरानै हो । ढर्रा त्यसलाई पनि भनिन्छ जहाा आवश्यकता भन्दा बढी फुर्का, फुँदा र तामझाम गरिन्छ । भन्नेहरूले निस्फिक्री भन्ने पनि गर्छन् “नेपाल सरकारको कार्यालयहरूमा कामभन्दा बढी ढर्रा हुन्छ ।”

पवित्र मनले एकले अर्कालाई कसैले कसैलाई पनि मर्का नपारौँ भन्ने हो भने ढर्रा लोप हुने रहेछ । ज्ञात अज्ञात ढर्राको अस्तित्व÷जगेर्ना र मलजल गरेर हुर्काउने, बढाउने, फुलाउने, फलाउने, फैलाउने, अहं भूमिका नेपाल सरकारका आंगिक निकायले गरेका छन् भन्दा त्यति वित्याँस नपर्ला । आत्मा साक्षी राखी तामा, तुलसी, गीता छोएर भन्ने हो भने बिना झन्झट ढर्रा नपारीकनै सहज र सरल तरिकाबाट सरकारी काम काज फत्ते गरिने कुरा सत्य हो । तर जब सरकारी अफिसका ब्रह्माचारी कर्मचारीबाटै शर्मचारी परसारी गोजी भर्नेको खोजी हुन्छ तब सोझा सिदा नागरिक ढर्राको फेला पर्छन् । अति ढर्रामा नागरिकको रिसको पर्रा ज्यादा हुन्छ तब गोजी भर्नेको खोजीको विरुद्धमा अख्तियार गुहारिन्छ । तर के गर्नु दुधको साक्षी बिरालो । रिस खा आफू बुद्धि खा अर्काे भनेझै मान्नु भएन झर्काे । ढर्राले नै सिर्जना गर्छ लाइनको लर्काे । कर्मचारीमा आआफ्नो पेट ठूलो बनाउन हुने गर्छ झर्काे फर्काे । जनतालाई सताउन स्वर हुन्छ चर्काे चर्काे । कसैले भन्छन् ठर्रा खान ढर्रा पार्छन् । पैसा झार्छन् । जनता मार्छन् । त्यसैले भन्ने गर्छन् सरकारी काम कहिले जाला घाम । अल्याङ टल्याङ ग¥यो दिन बितायो । नियोजित ढर्रा चितायो बस्यो ।

नेपाल सरकारले देश विकास तीव्र गतिले अगाडि बढाउन विभिन्न चरणको ढर्रा र तामझाम पार गरेपछि कारिन्दालाई कामको अनुमति दिन्छ । अनुमति पाउने कारिन्दाले सरकारी ढर्राको सिको गर्दै उच्च स्तरीय ढर्राको प्रार्दूभाव गर्छ । तेरो ढर्रा बेठिक मेरो ढर्रा ठीक भन्दै ढर्रै ढर्राको दोहोरी चल्छ । नेपाल हाँक्ने र नेपाल निर्माण गर्ने कारिन्दा नेताकै जुठो लाग्ने खलकमा पर्छ क्यार पहिलो पेश्की रकम झिकेपछि नेताको नातेदारले नेपाललाई दार्न र अप्ठ्यारोमा पार्न खोज्छ । नेपाल हाँक्ने नेताहरू कमिसन कुम्ल्याउन पाएपछि त्यस्ता कारिन्दा खोजी खोजी कामको जिम्मा दिन्छन् । कामको नाममा सिन्को भाँचिदैन । क्रम दोहोरिन्छ । ढर्राका पर्रा फेरि छुट्न थाल्छन् । एवम् क्रमले नेपाल आमाको घाँटी ङ्याक्ने काम क्रम अविच्छिन्न रूपले जारी रहन्छ । तब त नेपालको विकास ढर्रै ढर्राको चेपुवामा परेर सधैँ तुही राख्छ । समयमा पैसा पाएपछि समयमै योजना, विकास निर्माणका कामहरू पूरा गर्नुपर्छ भन्ने इमानदारितालाई तिलाञ्जली दिन लाज शरम मान्दैनन् । लुट्न धुत्न र खाई खाई सुत्न पल्केका कारिन्दाहरू एकलज्जा परित्याज्य त्रैलोक्य विजयी भवेत् जप्न रुचाउँछन् । तिनै लोकको लाज पचाएर हसुर्ने हस्तिहरू ढर्राका तानाबाना बुन्दै नानाभाती खेल खेल्न र पेल्न बस्ती बस्तीमा मस्ताराम आज मात्र होइन अस्ति पनि थिए । 

काठमाडौँ लगायत देशको दुर्गतीमा ढर्राले अहं भूमिका खेल्दै आएको छ । साँच्चै ढर्रा नपारी काम गर्ने हो भने देश समृद्ध शाली हुने पाली हाम्रै हो तर हुँदैन । किनकि यहाँ विकासका नाममा ढर्रा पारेर धुत्ने बग्रेल्ती पाइन्छन् । ढर्रा त्यस्तो तत्त्व हो जसले पैसा खाओस् नखाओस् समय खाएर सखापै पार्छ । समयको सदुपयोग र समयलाई नबुझ्नेहरू सधैँ पछि परिराखेकै हुन्छन् । नेपाल विकास निर्माण र यावत पक्षमा पछि पर्नु नै समयको सदुपयोग नगर्नु हो । जहाँ समय खेर फाल्न ढर्राको खेल हुन्छ, जालझेल हुन्छ । बद्मासै बद्मासको मेल हुन्छ । बद्ख्याइँ पूर्वक धुत्न ठेलमठेल हुन्छ । त्यहाँ विकास निर्माण सबै फेल हुन्छ ।

देश मात्र होइन ढर्राले व्यक्तिलाई पनि तल पार्छ । जो मनुवा सोझो सिदा तरिकाले हाकाहाकी काम नगरी स्वाङ र ढर्राको पछि लाग्छ उसले बेलैमा अधोगति हात पार्छ । ढर्रा गर्ने मति र विवेकको अनुमतिका कारण ढर्रै ढर्रामा ऊ सामुन्द्रिक जलचर अक्टोपसको पन्जामा परेझैँ परिसकेको हुन्छ । ढर्रा पार्दा पार्दे पुर्खेउली सम्पत्ति सिनित्त सिद्धिन्छ । ढर्रा पार्दा पार्दै लोग्नेस्वास्नी नै एक अर्काको बाहुमा पुग्न सक्छन् । ढर्रा पार्दा पार्दे अभूतपूर्व सन्तान जन्मिन सक्छ । सन्तान जन्मिएपछि ढर्राले मात्र तङ्ग्रिन र लाठे हुन सक्दैन । ढर्रा रहित पालनपोषणले नै ऊ स्वस्थ र दीर्घ जीवी बन्न सक्छ भने पछि ढर्रालाई जो कसैले फलदायी तत्त्वमा समावेश गर्न मिल्छ ? एउटा घर निर्माण गर्दा ढर्रा पारेर तासको घरझै बनाइयो भने त्यसमा गरिखाने खप्पर र सिङगो ज्यानलाई कसरी ओत दिने ? समाजमा कसरी पोज दिने ? कमजोर संरचनाको न घर हुन्छ न भर हुन्छ । त्यसैले नेपाल सरकारका कार्यालय, सङ्घ संस्था या व्यक्तिले जीवनलाई द्रुत गतिमा भरपर्दाे पाइनका साथ हाँक्ने हो भने ढर्राको पर्रा र छर्रा त्याग्नु पर्छ । जीवन र जगत्लाई सत्मार्गमा हेल्ने हो भने ढर्रासँग खेल्ने खेलाउने कौसल आजैका मिति देखि बन्द हुनु पर्छ । 

कतिपय ढर्रा पारेर गाडी चलाउँछु भन्दा भन्दै इहलिला बिसर्जन गर्न पुग्छन् । ढर्राले व्यक्ति र सिङगो जगत्लाई नै बिसर्जन गर्न सक्छ । त्यसैले ढर्रा हर खुसी, आपत विपद, उन्माद, उक्साहट, या मैमत्तु भएर पनि शिरोपर गर्नु भनेको आफूले आफ्नै खुट्टामा बन्चरो हान्नु हो । ढर्रालाई लक्ष्यभेदी अस्त्र मान्न सकिँदैन । ढर्रा काम चोरहरूको मागि खाने भरपर्दाे भाँडो हो । आँखामा छारो हाल्ने अचुक अस्त्र । त्यसैले हातेमालो गर्दै ढर्रा रहित व्यक्ति, समाज र देश निर्माणमा एक ढिक्का भएर दोहोरो स्वास प्रश्वास क्रिया जारी राखौँ ।

शिवशक्ति मार्ग, पोखरा–११, फूलबारी, कास्की
मोबाइल ः ९८०६६७७५९४
२०७४।०७।१५
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म्वाई महात्म्य

म्वाई महात्म्य

शेषराज भट्टराई
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
साँढे स्वास्नी

साँढे स्वास्नी

शेषराज भट्टराई
किन चाउरिस् मरीच ? आफ्नै रागले !

किन चाउरिस् मरीच ?...

शेषराज भट्टराई
घाँटी 

घाँटी 

शेषराज भट्टराई