मैले–
चिटिक्कन
चिमोटेँ आफ्नै पाखुरामा ।
चड्याङ्ग 
ठ्याम्का लगाएँ आफ्नै गालामा ।
अनि मैले–
छामे छातीको देब्रेतिर पञ्जा राखेर
र थिचें दाहिने बुढीऔँलाले देब्रे नारीमा ।
अहो ! म त ठेगानमै पो छु त !
पाखुरा दुख्यो चिमोट्दा
गाला झन्झनायो चड्काउँदा
उफ्रिरहेको थियो मुटुको डल्लो(
ढक् ढक् ढक्
चल्दै थियो नाडी आफ्नै गतिमा( 
ठक् ठक् ठक्
अहो !
बहुलाएकै पो रहेनछु म त !
साँच्चै हो त ?
वरिपरि 
जता हेर्छु बहुलाएकै त छन् मान्छे ।
हाहाहाहाहा...!
कठघरा झै घिसार्दै ल्याउँदैछन्
चटकेहरूले
सिंगापुर र स्विजरल्याण्डहरू ।
हाहाहाहाहा....!
क्या मजाले झुम्म छन्
इन्द्रजालमा परेका रमितेहरू
–आँखा चिम्लेर
–कान थुनेर
–विवेक थुतेर
मुखमा मलमल कोच्दै
खै त पत्याएकै छन् ।
बेलुनको पाङ्ग्रोेमा विकासको जहाज
ओर्लँदैछ
सपनाको गौचरनमा ।
हो, 
ती त बहुलाएकै छन्
तर म ?
सारा संसारले गति छोड्दा
बाटोमा हिँड्नु हुन्छ र मैले ?
सारा मान्छे बहुलाइसक्दा
सद्दे रहनु हुन्छ र मैले ?
धर्मसंकटमा परेको म बिचरादेखि
दया लागेर आएको छ ऊ विचरालाई
बहुलाएका यी बिचराहरूदेखि 
माया लागेर आएको छ ती बिचरालाई
जबजब द्विविधा पर्नेगर्दछ मलाई
सम्झने गर्छु ऊ बिचरालाई
सोध्ने गर्छु–
के गर्नु हुन्छ मैले ?
के गर्नु हुन्न मैले ?
आज पनि उसलाई सोधें मैले
सद्दे बसूँ कि बहुलाऊँ म ?
उसले क्या गजवले राय दियो–
‘दुख पाउने भए नबहुला, मजस्तै !’

२०७४ कात्तिक २५
कौसलटार, भक्तपुर