शेषराज भट्टराई हास्यव्यङ्ग्य कृति ‘ऋषिमुनिका सन्तान सिसीमुनि’ नामक व्यङ्ग्यवेदका निबन्धहरूलाई क्रमिक रूपमा यसरी विश्लेषण गर्न सकिन्छ :

स्वादेजिब्रो : अल्छी तिघ्रो
प्रस्तुत निबन्धमा स्वार्थका निम्ति नेताहरू मिल्छन् र झगडा गर्छन् । राष्ट्रको नाम लिएर अराष्ट्रिय काम गर्नु राजनीतिक विकृति हो । यही विकृति यस निबन्धमा हास्य रूपमा प्रकट भएको छ । स्वादे जिब्रोको अर्थ मान्छेमा रहेका स्वार्थीपन, खन्चुवावृत्ति र लोभाग्रही स्वभाव मानिन्छ । स्वाद लिने, चाख्ने र चाट्ने खालको स्वभाव भएको मान्छे उता कर्मप्रेमी चाहिँ हुँदैनन् । कर्मप्रेम या कामका सट्टा खुट्टा कँपाउने, तिघ्रा अल्छी बनाउने निँचता कतिपय मानिसमा रहेका हुन्छन् । हो, यही स्वार्थीपन र अल्छीपनको चित्रण गरी हास्यव्ङ्ग्य अभिव्यक्ति प्रदान  गर्न ‘स्वादे जिब्रो ः अल्छी तिघ्रो’ निबन्ध सफल तथा सार्थक छ । यो निन्बन्धको नामकरण नेपाली साहित्यको  तथा समाजको उखान पनि हो जुन लोकसाहित्यका रूपमा परिचित छ । काममा भाग्ने र खानमा जाग्ने मान्छेका विकृत स्वभावका चित्रलाई यसमा व्यङ्ग्यकार भट्टराई कलात्मक स्वरूपमा प्रस्तुत गर्दछन् ।

चोर, ढाँट र ठग
चोर, ढाँट र ठगीमा चुर्लुम्म डुबेको हाम्रो समाजलाई यस निबन्धले व्यङ्ग्य वाणको झटारो हानेका छन् । मान्छेका आर्जित मानवीय सभ्यता, मानवीय  अनुशासन, मानवीय परम्परा एवं मानवीय प्रतिष्ठाको शिखरमा एैँजेरुजस्ता बनेका समाजका जाली, फटाहा, डाँका, चोरचकार गर्ने व्यक्तिहरूले अड्डा जमाएको तीतो यथार्थ यसमा प्रकट भएको छ । ‘ आफ्नो नैतिकता ओरोलो लागिसक्दा पनि अरूको नैतिकताको जरो खन्नु चाहिँ भैँसीले आफ्नो रङ्गको ख्यालै नगरी कालो छाता ओढेको देख्दा तर्सिनु जस्तै  हो ।’ (पृ.९) यसमा व्यक्त व्यङ्ग्यविनोदी भाषाले तत् नियतका मान्छेलाई बुद्धू भैँसीको आरोप लगाइएको छ । हुन पनि ठगेर नै जिन्दगी चलाउने र ठगीलाई नै गौरव गरेर झन् अरूलाई गाली गर्न पुग्नेलाई भैँसीस्वभाव वा पशुवत् नामबाहेक अरू के आरोप गरून् त व्यङ्ग्यकार ?

खबरदार ! शपथ नख्वाए आपत पर्ला 
ओहोदाका व्यक्तिहरूले खाने शपथ वा राष्ट्रसमक्ष गरिने प्रतिबद्धताको पालना नभएको कुरालाई यसमा प्रकट गरिएको छ । राष्ट्रका जिम्मेवार व्यक्तिलाई नैतिक लगाम लगाउन शपथ खुवाउने  चलन प्रायजसो  देशमा रहेको छ । शपथको खास तात्पर्य सत्पथमा रही राष्ट्रको सेवा गर्छु भन्ने बचनवद्धता हो । यही बचन नै खिल्ली उडाउने तथा जिम्मेवारहीन बन्ने नेपालको राजनीतिक, प्रशासकीय यथार्थ हो । यसलाई यस निबन्धले सर्वाङ्ग केलाएर  जिम्मेवारी लिएर पनि हीन बनेका व्यक्ति वा प्रविृत्तिलाई कलापूर्ण झापड हान्न व्यङ्ग्यकार सफल छन् । ‘ गोरु जेतिराखेकालाई नैतिकताको आधारमा  राँगो जोत्नु हुँदैन । बोका जोत्न मिल्दैन । अर्थात् एकातिर बोको र अर्कोतिर राँगो जोत्न सुहाँउँदैन । (पृ. १२) । यसमा सत्तामा बस्नेहरूको आचरण उघारिएको छ । सत्आचरण युक्त राजनेताको अभावको महसुस पनि यस  निबन्धले गराएको छ ।

राष्ट्रिय जङ्की निकुञ्ज
जङ्की शब्दबाट लाउने, खाने, हिँड्ने बानीलाई बिगारेर वा कुरूप पारेर विद्रुप बन्ने प्रवृत्तिलाई चिनाउँछ । अनावश्यक मात्रामा  भेषभूषा, बोलीचाली, रवाफ देखाउनु, कानमा पुरुषले पनि ढुङ्ग्री–मुन्द्री भिर्नु, कपालमा अप्राकृतिक सजावट गर्नु, ठग्नु, ढाँट्नु, सान देखाउनु, ठाँटबाँट पार्नु तर व्यवहारमा खोक्रोपन हुनुलाई जङ्की चरित्र मानिन्छ । यही उरन्ठेउलेपनलाई लेखक भट्टराई जङ्की निकुञ्ज भनी व्यङ्ग्य गर्न तम्सन्छन् ।

मलामी
जीवनभर यथोचित सम्मान दिन नसक्नु वा नदिनु तर मरेपछि समवेदनाका  नक्कली रूप देखाउने नेपालीहरूका कमजोरी हुन् । यही कुरालाई यस निबन्धमा प्रस्तुत गरिएको छ । संवेदनशील सन्दर्भको मलामीयात्रालाई पनि व्यङ्ग्यकार भट्टराईले हास्यास्प्रद ढङ्गमा व्यक्त गरेका छन् । ‘आफ्ना पूर्वजले इहलोक त्यागेर परलोक जाँदा आफूलाई पनि किन बाँचे हुँ जस्तो लाग्छ ।’ (पृ.१७) । साथै यसमा बाँचुन्जेल अरूको साथ दिनेले आफू मरेपछि मलामी पाउँछ भन्ने समाजदर्शनको एक छेउलाई पनि उजागर गरिएको छ ।

खामभित्रको दाम
यो निबन्ध संस्कारप्रतिको झटारो हो । नेपाली समाजमा मौलाएको लाजगाज  ढाक्ने खामशैलीलाई यसमा कलात्मक रूपमा उतारिएको छ । कसैलाई दानदक्षिणा दिँदा या अन्य सिलसिलामा पैसा  दिँदा सोझै नदिई खाममा राखेर दिने चलनमा दुईटा कुरा देखिन्छ – एउटा सम्मानको स्वाङ र अर्को थोरै दिएको कुरा अरूबाट लुकाउने कला । सामाजिक प्रतिकोणलाई छल्न नेपालीहरूमा कतिपयले खामबन्दी शैली भित्र्याएको र यो एक प्रकारको स्वाङ् काम हो भन्ने कुरा यसमा अघि सारिएको छ ।

किन चाउरिस मरिच ? आफ्नै रोगले !
यसमा आफूभित्र विकृत विचार, विकृत व्यवहार, विकृत संस्कार छ भने त्यसलाई त्यही विकृतिले खोक्रो पार्छ भन्ने कुराको मर्मान्त हास्य पाइन्छ । रोग आफूसँगै पालेर बस्नु कम हानीकारक हुन्न भन्ने सन्दर्भको आकर्षक उठान यस निबन्धको विशेषता हो । ‘१०४ वर्ष शासन  गरेर राणाहरूको रागले राणा शासन चाउरिन पुग्यो पृ २२) ।

ऐना 
वस्तुबिम्बका रूपमा यथार्थलाई बक्ने काम यस निबन्धमा गरिएको छ । ऐनाको  सामु साधु या चोर तत्तत् हुन्छ भनी व्यङ्ग्यकारले व्यङ्ग्य हानेका छन् । प्रतीकात्मक रूपमा ऐनालाई तीतो यथार्थको मीठो बिम्बका रूपमा प्रस्तुत गर्नु यस रचनाको व्यङ्ग्य विशेषता हो । यहाँ विविध निकायमा व्यङ्ग्य हान्न ऐनालाई साथी बनाइएको छ । ‘अन्ततः मैला छिटाहरू मुखमा पोतिएको पत्तै नपाई घूसको बुजोका साथ अन्त्य गर्नुमा आनन्द मान्छन् । यसलाई कानुनविद् बिखे गुण भनी जान्नुपर्छ । र त भन्नै पर्ने हुन्छ – न्यायाधीशको फैसला ऐनाजस्तो सफा, स्वच्छ र निर्भीक हुँदैन । पृ. २५) ।

सारीमा सजिएकी नारी
यस निबन्धमा नारी भेषसम्बन्धी नक्कलपनलाई उतार्न खोजिएको छ । तुलनात्मक रूपमा यस निबन्धले व्यङ्ग्यात्मक उचाइ टेक्न सकेको छैन । किनभने नारीवस्त्रको बयानको साहित्यिक सन्दर्भ र तात्पर्य मिलेको पाइन्न । साथै नारीशील वस्त्रको एक रूप पनि हो जुन समाजमा स्वाभाविक मानिन्छ भने स्वाभाविक रूपलाई व्यङ्ग्यको विषय बनाउनु त्यति उपयुक्त हुन्न । उद्यपि यस रचनामा सारीको महङ्गोपन र आर्थिक अवस्थाको विषमता बीच रहेको असमानतालाई भने उजागर गर्ने कोसिस राम्ररी भएको छ ।

पर–जा–तन्त्र मा ह्वीप
यो व्यङ्ग्यनिबन्ध प्रजातन्त्रको मर्म नबुझ्नेले प्रजातन्त्रको ठूलो स्वर कुर्लेको कुराप्रति प्रहार गर्न केन्द्रित छ । प्रजातान्त्रिक व्यवस्थाको दुहाई दिनेले निर्देशन गरेको ह्वीप आफैमा अप्रजातान्त्रिक भएको कुरालाई रमाइलो ढङ्गले यसमा प्रकट भएको छ । प्रजातन्त्र भनेको विचारको फरक मत प्रकट गर्न सबैलाई छुट दिनु हो तर ह्वीपका नाममा फरक मतमाथि प्रतिबन्ध लाउने प्रवृत्ति बढेकाले त्यसलाई विकृतिको नमुना राजनीति मानेर व्यङ्ग्य प्रहार भएको छ । ‘जल्दो बल्दो, फल्दो, फक्रिँदो अवस्थाको प्रजातन्त्रमा पार्टी नेताले आँखा चिम्लिएर ह्वीप जारी गर्ने र अर्कोतिर फर्किएर उपरखुट्टी लगाएर उग्राउने, घुर्ने हो भने प्रजातन्त्रको पूर्ण प्रयोग तथा उपयोग गर्नेले पछाडिबाट लोप्पा खुवाए भने त्यतिखेर के भन्ने ? पृ. ३१) ।

लौरो 
लौरोलाई साधनको रूपमा विश्लेषण गर्ने हास्यास्प्रद् स्वरूप प्रस्तुत निबन्धमा पाइन्छ । मानिसले लौरोलाई बहुउपयोगमा ल्याउँछन् । बाटो काट्नदेखि मान्छे कुट्सम्म लौरोको उपयोगिता मानवस्वार्थका अवस्थाहरूमा विविध तरिकाले गरिन्छ । यस किसिमको विश्लेषणले लौरोको अवसरवादी प्रयोग, कुटिल प्रयोग र प्रतीकात्मक प्रयोगको सङ्केत गरेको छ । यसमा सामान्य साधनको बहुकोणीय विवेचना रोमाञ्चक शैैलीमा गरिएको भाषिक आकर्षणले बढी प्रभाव जमाएको देखिन्छ ।

जवानीको जानकारी
प्रस्तुत हास्यनिबन्धमा प्राकृतिक अवस्थाको कोणबाट मानव जीवनको खण्डहरलाई चित्रण गरिएको छ । यस निबन्धमा वैचारिक तथा व्यावहारिक विकृतिभन्दा पनि अवस्थाजन्य कुरालाई केन्द्र बनाइएको छ । त्यसकारण यहाँ हल्का साहित्यिकपन मात्र पाइन्छ । 

बैँसको नालीबेली
बैँसकोे नालीबेली निबन्धमा पनि जवानीको जानकारी मानवीय अवस्थाविशेषको हास्यास्प्रद् व्याख्या गरेको छ । बैँसको मातमा प्रत्युत्पन्न विकृतिलाई केलाउने व्यङ्ग्यकारको उद्देश्य देखिए पनि त्यतापट्टि खासै केन्द्रित नभएको र हल्का मानवीय क्रियाकलापप्रति ध्यान दिएको पाइन्छ । बैँसको दुरुपयोगले निम्त्याउने विकृतिलाई भने यसमा आकर्षक ढङ्गले उद्घाटन गरिएको छ । खतरापूर्ण रोगको सूचना साहित्यमार्फत दिने काम यस रचनाको महत्वपूर्ण योगदान देखिन्छ ।

भ्रष्टाचारको उपचार
हास्यव्यङ्ग्यमा सर्वप्रिय र सर्वाधिक प्रयोग गरिने विषय नै भ्रष्टाचार हो । व्यङ्ग्यको मूल केन्द्रबिन्दु नै भ्रष्टाचारलाई मानिएको पाइन्छ । यसलाई हास्यव्यङ्ग्य विधाको सान्दर्भिक स्रोत पनि मानिन्छ । नेपालमा भ्रष्टाचार एड्सभन्दा पनि डरलाग्दो रूपमा रहेको छ । राष्ट्रको ढुकुटी रित्याउने काममा भ्रष्टाचारको ठूलो भूमिका देखिन्छ । यही कुरामाथि नै यस रचनामा प्रहार भएको पाइन्छ । पदीय व्यक्तिहरू बेलामौकामा भ्रष्टाचारलाई बाध्यता भन्छन् भने त्यो अर्को निर्लज्जता हो भन्ने कुराको रहस्योद्घाटन यस निबन्धमा भएको छ ।

थोत्रो घरमा मुसाको रजाई
मुसालाई राष्ट्रको अस्मिता एवं ढुकुटी सक्ने तत्व र थोत्रो घरलाई नेपाली गरिबीपनको प्रतीक बनाइएको प्रस्तुत निबन्धले  सान्दर्भिक व्यङ्ग्यचेत पस्केको छ । व्यङ्ग्यकारको आँखा विसङ्गतिका छिद्रछिद्रमा पुग्दछ भन्ने प्रमाणका रूपमा पनि यस रचनालाई लिन सकिन्छ । नेपालको थोत्रोपनमाथि देशी विदेशी, चुसाहा, शोषक वा मुसावृत्तिका मान्छेहरू झन् थोत्रो बनाउन लागिपरेका छन् भन्ने सन्दर्भ यसमा प्रस्तुत भएको छ । यो विषय प्रतीकात्मकता र विषयको व्यङ्ग्य संयोजनको राम्रो उदाहरण मान्न सकिन्छ ।

ऋषिमुनिका सन्तान सिसीमुनि
प्रस्तुत रचना यस कृतिकै शीर्ष वा नामकरणका रूपमा प्रयोग भएको छ । यो निबन्धले व्यङ्ग्विधाको मान्यतालाई कलात्मक रौनक दिएको छ । हास्यव्यङ्ग्यको उत्कृष्ट प्रयोगको सन्दर्भ यसमा प्रस्तुत गरिएको छ । हाम्रो पूर्वीय सभ्यताको परम्पराको सन्दर्भमा ऋषिमुनिहरूको स्थानलाई उल्लेखनीय मानिएको छ । तिनका आचरणभन्दा पनि शास्त्रज्ञान, शाकाहारी भोजनपान, दर्शन र चिन्तनमा लाग्नु, उपदेशमार्फत जीवनसुधारको बाटो देखाउनुजस्ता कुरालाई विशिष्ट मानएिको छ । यद्यपि ऋषिमुनिका सन्तानको वर्तमान खानपिनमा आएको विकृति तथा मदिरापान, कुलतमा फस्नुजस्ता क्रियाकलापलाई मूल विषय बनाएर व्यङ्ग्यकार भट्टराईले उत्कृष्ट व्यङ्ग्यचेत प्रस्तुत गरेका छन् । यो परम्परा र वर्तमानको तुलनामा देखिएको निष्कर्ष पनि हो । मान्छेले धेरै कुराको विकास गरेको भए पनि त्यससँगै नयाँ विकृतिलाई बोक्ने मानवकमजोरीलाई रचनाकार अभिव्यक्त गर्दछन् । त्यसकारण मानव सभ्यताको एउटा महत्वपूर्ण परम्परा ऋषिमुनिहरूमा थियो भने अहिले तिनकै सन्तान सिसीमुनि वा मदिरापानको मातहतमा पुगेको चर्चाले मार्मिक व्यङ्ग्य प्रहार हुन पुगेको छ । ‘ अलि अलि हो र, सिसीको सोमरसले ओठमुख कलेटी परुन्जेल, कलेजो फाटुन्जेल या रगत सुकुन्जेल, मुटु फुटुन्जेल, स्वयं मरुन्जेल आफ्नो शरीरलाई सिञ्चित गर्न किञ्चित पनि अप्ठ्यारो नमानी सदा डुबिरहन चिन्तित हुन्छन् ।’ (पृ. ४९) ।

दुई स्वास्नीको पोइ कुना पसी रोई
यस निबन्धमा सामाजिक सांस्कृतिक विकृतिको भण्डाफोर गरिएको छ । नेपालको सांस्कृतिक सामाजिक  अपराधको रूपमा रहेको बहुविवाह प्रथालाई मूल  विषयवस्तु बनाइएको यो रचनाले पुरुषवृत्तिको विकृति नङ्ग्याइएको छ । बहुविवाहले सामाजिक प्रभाव मात्र होइन, अन्ततः स्वयं  सो पुरुषलाई नै डस्ने गर्छ । यसलाई नेपाली समाजमा चलेको उखान ‘दुई जोइकी पोई कुना पसी रोई’ नै यसमा रचना शीर्षक बनेको छ । 

बाँकी निबन्धहरू ‘कपाल’ मा मानव अङ्गको यथार्थ चित्रणको व्यङ्ग्यात्मक रूप, ‘कोल’ निबन्धमा मान्छेको हेपाहा प्रवृत्ति छ भन्ने कुराको प्रतीकात्मकता, ‘हावा’ निबन्धमा वातावरणीय प्रदुषण बढेको चिन्ता र ‘खोपडीको घनत्व’ निबन्धमा प्राणीशास्त्रीय व्यवस्थालाई आकर्षक शैलीमा प्रस्तुत गरिएको छ ।

समग्र भन्नुपर्दा हास्यव्यङ्ग्यकार शेषराज भट्टराईको प्रस्तुत ऋषिमुनिका सन्तान सिसीमुनि नामक व्यङ्ग्यसङ्ग्रहमा विषयान्तर, भावान्तर, विविध सन्दर्भलाई व्यङ्ग्यको प्रहारबिन्दु बनाइएको छ । उनले प्रस्तुत कृतिमा मानवीय, सामाजिक,  वस्तुजन्य, संस्कारलगायतका प्रमुख पक्षमाथि चिरफार गरेर तिनमा रहेका विसङ्गतिलाई पर्दाफास गरेका छन् । यसबाट व्यक्ति र समाजलाई सुधार गर्ने सन्देश पाइन्छ भने व्यङ्ग्यकारिताको कोणका रूपमा सरल र सरसपनले बोधगम्य देखिन्छ । जीवनको प्रगतिमा बाधक बनेका मूल सन्दर्भलाई विश्लेषण गरी ती विषयका विसङ्गत पक्षको मार्मिक उद्घाटन यस कृतिको प्राप्ति मानिन्छ ।    

hps2066@gmail.com