अर्को चुनावमा अब आफैं उठ्ने हो
चुनाव पक्का कांग्रेस जित्छ, एमालेले हार्दैन
माओवादी त क्रान्तिकारी पार्टी, उसले हार्ने मिल्दैन {{read_more}}
प्रपा, जपा जति पापा छन् सबले मिठै पापा पाउँछन्,
न देश उठ्यो न जनता उठे, यिनले लोप्पा पाउँछन् ।
उठ्नेले मात्रै चुनाव जित्न सक्छ, नउठ्नेले जित्दैन
पार्टी उठे, नेता उठे, जनता उठ्दै उठ्दैन
जित्नेले हार्नेलाई किन वास्ता गर्नु ?
चुनाव जसले जिते पनि जनतालाई फरक पर्दैन ।
जसले जे परिवर्तन ल्यायो, उसैले पकायो पस्क्यो खायो
सुतीसुती मलाई ख्वाइदेओ भन्नेले कहिले के पाउँछ र के पायो ?
धुलो बनेर बाटोमा छरिएपछि सबै पैतालाहरूले कुल्चनछन्
अब त उठ र उड हे पाइताला मुनिका धुलाहरू हो ! हुरीको मौसम आयो ।
हे पाइताला मुनिका धुलाका कणहरू हो !
मिलेर उडेर सूर्यलाई छेक्न सक्छौ
ठूलाठूला रुख जंगलै छोप्न सक्छौ
आँखामा परेर पैताला रोक्न सक्छौ
उठ र उड हे पाइताला मुनिका धुलाका कणहरू हो !
पैताला पो उड्न सक्दैन तिमी त उड्न सक्छौ ।
भोटै जाबो त कति हालियो हालियो जिन्दगीमा
दिन नै गइयो लिन केहि पाइएन
एउटा भोट खसालेर यिनलाई मालिक बनाउनु भन्दा
अर्को चुनावमा अब आफैं उठ्ने हो, यसपाली त भ्याइएन !
काठमाडौं