उहिलेको कुरा हो । एकादेशमा धनी मानिसहरू बस्थे । आजकल त एउटा धनी बन्नका लागि हजार जना गरीब व्यक्तिहरू चाहिन्छन् भने त्यतिखेर त्यो देशमा कति गरीबहरू थिए लेखाजोखा नै थिएन । चानेचुने मानिसहरू त गन्ति नै हुँदैनथे । होउन् पनि किन, तिनै धनीहरूको चाकरी गरेर जीविकोपार्जन गर्नु पर्थ्यो । जहिले पनि हुनेखाने र ठुलाबडाकै चर्चा र पहुँच हुन्छ । साधारण मान्छेको खासै चर्चा हुने कुरा भएन । यो कथा पनि त्यस ठाउँका धनीहरूकै कथा हो ।

एउटा धनी मानिस थियो । उसको घरमा तरकारी पकाउनकै लागि छाकको एक पाथी नुन लाग्दो रहेछ । अनुमान गरौँ ऊ कति धनी होला ! उसको घरमा कति नोकर चाकर होलान् ! हामीलाई एक छाकमा एक चम्चा नुन भए पुग्छ । एक पाथी छाकमा नुन लाग्ने भएपछि सहजै अनुमान हुन्छ कि ऊ ज्यादै धनी थियो । उसको छोरो विवाहको निम्ति योग्य भैसकेकाले कन्याको खोजीमा बुढो लागिरहेको थियो । घुम्दै जाँदा खानदान मिल्दो ठाउँ फेला पारेछ । बुझ्दै जादा केटीपट्टीको घरमा छाकमा एक पाथी बेसार लाग्दो रहेछ । लिने दिनेको कुरा मिलेपछि विहेको टुङ्गो गरेर बुढो घर फर्केछ ।

आजकलको जस्तो सुबिधासम्पन्न युग थिएन । बाटोघाटोको सुबिधा पनि थिएन । यातायातको त कल्पना पनि गर्न सकेका थिएनन् होला मान्छेले । त्यस धनीले आफ्ना सबै इष्टमित्र, नातागोता, छरछिमेक सबैलाई छोराको बिहेमा जन्त बोलाएछ । पाँच सय जतिको जन्तीको बरियाँत हिँडेछ घरबाट । पूरै एक दिन लाग्ने बाटो बाजागाजासहित जन्ती हिँडेको हेर्न धेरै मानिसहरू घरघरबाट बाहिर निस्केछन् । राती धुमधामका साथ बिहे सम्पन्न भएछ । उज्यालो भएपछि एक पाथी बेसार लाग्ने धनाड्यले यथायोग्य सम्मान गरी जन्ती विदा गरेछ । 

दुलही अन्माएपछी जन्तीको लस्कर फर्केछ । फर्कँदै गरेका जन्तीहरू हेर्नेको पनि उत्तिकै ताँती लागेछ । यत्तिकैमा एउटा धनीले त्यो जन्तीको लस्कर देखेर नाक खुम्च्याउँदै भनेछ – ‘कुन चाहिँ बिचराले बिहे गरेछ । त्यति थोरै जन्ती लैजाँदा पनि बाजा बजाएर फुर्ति गर्ने । इज्जतै नभाको रैछ । हेरौँ त त्यसको रमिता ‘ अनि उसले आफ्नो नोकरको नाइकेलाई भन्यो –‘ए, केटाहरूलाई भनेर ऊ त्यो जन्ती आउँदै गरेको बाटोमा आज पारेको नौनी लगेर थुप्र्याइदिन भन् जा जा ! छिटो र्ग । जन्ती आउँदा बाटो छेक्नुपर्छ ।‘ मालिकको आज्ञा पाउनासाथ नोकरहरूले त्यसै दिन मोही पारेर निकालेको नौनी लगेर बाटोमा थुप्रो लगाएछन् ।

दायाँ बायाँ अग्लोअग्लो ढिक भएकाले नौनी थुपारेको ठाउँबाट अघि जाने बाटो बन्द भयो । नौनीमा टेकेर जाउँभने कपडा सबै चिल्लै हुने र चिप्लिने डर भयो । अब कसो गर्ने? केही उपाय निकाल्न नसकेर निकै बेर जन्ती अलमलिएछन् । घीउ थुपार्न लगाउने धनी चाहिँ जन्तीलाई अलमल्याउन सकेकोमा गर्व गर्दै जुँगामा ताउ लगाउँदै बार्दलीमा बसेर त्यो दृश्य रमाइलो मानी मानी हेरिरहेछ । उता जन्तीलाई समस्या परेको र एउटाले घिउ बाटोमा राखेर आफ्नो दादागिरि देखाएको खबर छिनभरमै पारि पाखाको अर्को धनी मानिसलेपाएछ । 

तत्कालै आएर हेरेको त आजभोलि पहिरोले सडक थुने झैँ नौनीले बाटो थुनिएको रहेछ । यो दयनीय दृश्य देखेर त्यसको मनमा दया पलाएछ । अनि तुरुन्तै आफ्नो नोकरलाई अह्राएछ । ‘ए जा त । त्यो साना कोठामा थुनेका बिराला खोलेर ल्याइदे । यो नौनी खुवाएर बाटो खोलाउनु पर्यो ।‘ अनि नोकर पनि तुरुन्तै गएर त्यो धनी मानिसका घरमा पालेका सानो कोठाका बिराला छोडिदिएछ । बिरालाहरूले आधा घन्टा मै नौनी चाटचुट पारेर सकेछन् । जन्तीहरू पनि बाटो खुलेकोमा खुशी हुँदै आफ्नो बाटो लागेछन् ।

बाटोमा धेरै बेर अल्झिनु परेकाले दुलाहाको घरमा समयमा नपुगिने निश्चित प्रायः भैसकेको थियो । त्यसैले दुलाहाको बाबु घाम डाँडामाथि नाईपुग्दै बासको खोजिमा लागेछ । स्तरअनुसार बास दिन सक्ने धनी मानिस खोज्दै जानु उसको बाध्यता नै थियो । अरुलाई छोडेर अघिअघि लागेको बाबुले बास फेला पारेछ । बास दिने धनी मानिसले कति जना हुनुहुन्छ? भनेर सोधेपछि ‘ए, उसो भए म हलीहरूलाई आज लौरो छोडेर जाओ भन्छु । भरे तपाईँहरूलाई दाउराको दुःख हुँदैन ।‘ घाम अस्ताउनै लाग्दा उसको खेत बारी जोत्ने हलीहरू धमाधम आउन थालेछन् । मालिकको आज्ञाबमोजिम सबैले लौरो आँगनमै छोड्दै जाँदै गरेछन् । साँझमा सबै जन्तीहरू बास बसेछन् । खाना पकाउन यिनै लौराहरू प्रयोग गर्नुहोस् । भनेर बास दिने धनीले भनेछ । सबैले खाना खाई सुतेछन् । भोलिपल्ट बिहानै उठेर त्यहाँबाट हिँडेछन् । पुरै बिहान हि.डेर मात्र दुलाहाको घर आइपुगेछ । 

भोजको तयारीमा जुटेका बेला एउटाले उखान हालेछ ‘जन्त जानुभन्दा अन्त जानु जाती!’ हिजो कुकुरले नपाएको दुःख पाइयो । अब त म कहिल्यै जन्त जान्नँ । बाटोमा नौनी नभएको भए हिजै घर आइन्थ्यो । धन्न हिजो साँझ सजिला दाउराले खाना पकाउन पाइयो र दिनभरिको दुःख बिर्सायो । अर्कोले थपेछ ‘त्यो मान्छेले त्यतिका बिराला किन पालेको होला?’ यस्तै यस्तै कुरा चल्दै थिए । दुलाहाको बाबुले मनमनै भन्यो । मेरोमा त एक पाथी नुन मात्र लाग्ने हो । सम्धीकोमा एक पाथी बेसार लाग्दो रहेछ । इज्जत राख्न पो सकिने हो कि होइन । आयो बिहे बाजा बजाई गयो बिहे ढाडमा बजाई भन्छन् । कतै त्यस्तै हुने त हैन !

बम्घा, गुल्मी