म किन टेरूँ ?
सपना थ्यो ‘मेरी’ लाई जागिर लाइहालँे,
मिल्ने जति सक्ने जति सबै खाइहालेँ,
गुन्डाराज छोरो थियो विदेश पठाइहालेँ,
राजनीतिमा डर भएका सबैलाई ठटाइहालेँ,
म त हेर्छु भविष्यलाई अन्त किन हेरूँ ?
दुनियाका कुरा मैले अब केलाई टेरूँ ?
पाकेटखर्च चलाउनलाई संस्था खोली हालेँ,
राजनीतिलाई फट्याइँसँग चट्ट घोली हालेँ,
चुनाव जित्न जे जे सक्थेँ सबै तोडी हालेँ,
सात पुस्तालाई चाहिने जति सबै जोडी हालेँ,
म त हेर्छु आफन्तलाई अन्त किन हेरूँ ?
दुनियाका कुरा अब मैले किन टेरूँ ?
स्वदेशमा विदेशमा जता हेरौँ मित्र,
आधा दर्जन नोकरचाकर गर्छन् बाहिर भित्र,
दूतहरू छिमेकका भएगा’का छन् दाइना,
कहिले भ्रमण हिन्दूस्तानमा कहिले उत्तर चाइना,
म त हेर्छु आफ्नै भलो अन्त किन हेरूँ ?
दुनियाका कुरा अब मैले किन टेरूँ ?
यो देशलाई दाम्लो लाउने म त एउटा नायक,
मन्त्रालय ठूलाठूला हाँक्नलाई लायक,
नीति नियम संविधान देखाउने दन्त,
मुलुक डुबे मलाई के र भागी दिउँला अन्त,
म त हेर्छु सुखैसुख दुःख किन हेरूँ ?
ट्याउट्याउ गर्ने जनतालाई अब किन टेरूँ ?
ग्वालटार, सिन्धुली
हाल : काठमाडौं