काठमाडौं : रामेछाप, गुन्सीभदौरेकी लीलामाया बस्नेतले आधा दर्जन पटक भोट हालिसकेकी छन् । तर, आफूले भोट दिएर जिताएका नेताले जीवनस्तर उकास्न कुनै काम नगरेको उनको गुनासो छ ।

श्रीमान् बिरामी परेपछि नौ वर्षपहिला काठमाडौं छिरेकी ६४ वर्षीया बस्नेतलाई अहिले एउटै पछुतो छ, गाउँ जाने बाटो नबनेकोमा । मोटरबाटो नभएकै कारण उनले नौ पटक अप्रेसन गरिसकेका श्रीमानलाई गाउँ लैजान सकेकी छैनन् ।

देश चुनावमय भइरहेका बेला उनी फेरि केही आशावादी देखिएकी छन् । चुनाव जितेर जानेहरूले जनताका लागि केही गरिदिउन् भन्ने लाग्छ उनलाई । भन्छिन्, ‘आफ्ना सन्तानले सुख पाउन् । हामीले दुःख काटे पनि हाम्रा बच्चालाई राम्रो भइदिए हुन्थ्यो । अर्काको देशमा बिजोग हुनुभन्दा नेपालमा गरिखाने वातावरण मिलोस् ।’

त्यही आशाकै कारण उनी यसपटक पनि बिरामी श्रीमान्लाई राजधानीमै छाडेर गाउँ जान तम्सिएकी छन्, भोट खसाल्न । ‘गाउँमा दुःखमा सहयोग गर्नेलाई भोट लगाउँछु । हामीलाई वृद्धभत्ता चाहिएको छ । बुढेसकालमा सहारा दिने मान्छे चाहिएको छ । स्वास्थ्योपचारमा सहयोग गर्नेलाई रोज्छु,’ बस्नेतले भनिन् ।

ललितपुर, गिम्दीकी ७२ वर्षीया सोमकुमारी (सानुमैया) दुलाललाई पहिलोपटक कति वर्षको हुँदा भोट हालेको भन्ने पत्तो छैन । तर, उनलाई यति सम्झना छ, पहिलो भोट प्रधानपञ्चलाई दिएकी थिइन् । ‘त्यो बेला नियम(कानुन कडा थियो, प्रधानपञ्चले भनेपछि मान्नुपथ्र्यो’, उनले भनिन्, ‘तर गाउँको विकास केही भएन, हामीजस्ता जनतालाई त बीसको उन्नाइस भएन ।’

‘गाउँमा दुःखमा सहयोग गर्नेलाई भोट हाल्छु । हामीलाई वृद्धभत्ता चाहिएको छ । बुढेसकालमा सहारा दिने मान्छे चाहिएको छ ।’
–६४ वर्षीया लीलामाया बस्नेत

ढोलाहिटी बस्दै आएकी उनी विकास गर्छौं, देश सपार्छौं भन्दै भोट माग्न घर(घर आइपुगेका नेताहरूलाई देख्दा विगत सम्झिन्छिन् । ‘ऊ बेलादेखि नै भोट माग्न आउँदा देश सपार्छौं भन्थे नेताहरू । नपाउन्जेल कस्तो पाएपछि सस्तो हुने रहेछ’, उनको गुनासो छ, ‘भोट त हालियो तर गाउँमा कुनै परिवर्तन भएन ।’ अब बूढाबूढीलाई हेर्ने, सहारा दिने नेतालाई भोट दिने उनी बताउँछिन् । ‘बुढेसकालमा शान्तिको सास फेर्न पाइयोस्, सम्मानपूर्वक बाँच्न पाइयोस्’, उनी भन्छिन् ।

ललितपुर, सुनाकोठीकी ७८ वर्षीया नाति महर्जन आफूलाई राजधानीको अभागी बासिन्दा भन्न रुचाउँछिन् । उनी बस्दै आएको ठाउँमा अहिलेसम्म खानेपानी, ढल, बाटो केही बनेको छैन । ‘नाम मात्रको राजधानी’, उनी भन्छिन् । सानै उमेरमा विवाह गरेकी महर्जनले विवाहपछि भोट हालेर थुप्रै नेतालाई जिताइन् । ‘तर, कसैले आफ्नो ठाउँका लागि केही गरिदिएनन्’, उनको गुनासो छ । जति नै चुनाव भए पनि कुनै परिवर्तन नआएको उनी बताउँछिन् ।

सबै साथी एकैचोटि लाम लागेर पहिलोपटक छाप लगाएको याद छ उनलाई । ‘भोट कसरी हाल्ने थाहै थिएन । पार्टी–पार्टीका मान्छे झगडा गर्थे तर भोट तान्न पैसा खुवाउँदैनथे’, उनी भन्छिन्, ‘आजकल त धेरै आश्वासन दिन्छन् । प्रलोभनमा पार्छन् ।’ उनको चाहना पनि अन्य आमाहरूको जस्तै छ । बूढाबूढीको सहारा बन्नेलाई भोट दिन्छु । हामीलाई औषधोपचारको व्यवस्था गरिदिउन्, खाने, बस्ने व्यवस्था गरिदिउन् । हाम्रो भोट खेर नजाओस् ।’

काठमाडौं, टौदहमा वर्षौंदेखि माछाको आहारा बेचेर गुजारा गर्दै आएकी ६६ वर्षीया मिश्री कार्की वृद्धभत्ताको व्यवस्था गरिदिने पार्टीलाई भोट दिने बताउँछिन् । राजनीति गर्नेहरूले वृद्धवृद्धाको समस्या बुझिदिनुपर्ने उनको भनाइ छ । जम्माजम्मी तीनपटक भोट हालेकी उनलाई पहिलोपटक भोट हाल्दा लामो लाममा बस्नुपरेको सम्झना छ । ‘गरिब, निमुखा र वृद्धवृद्धाका लागि काम गर्ने नेता चाहियो । नत्र भोट खेर गइहाल्छ नि !’ उनी भन्छिन्, ‘हामीलाई आश्वासन होइन, सहारा चाहिएको छ ।’

–नितु घले शनिवार, मंसिर २