फेव्रुअरी १९, २०१७ मा जेठको पास्नीको पार्टी एडेलैडको गोरखा नेपालिज रेष्टुरेण्टमा भइरहेको थियो । गेष्टहरू सबै उपस्थित भएपछि संगीता बुढाथोकीले कार्यक्रमको उद्घोषण सुरु गरिन् । सुरुमा वेलकम नृत्य राखिएको थियो । नृत्यमा मेरी बुहारी रोशनी, रविना, ललिता, बिन्दी, ज्योत्स्नाहरूले भाग लिँदै थिए । त्यसै गरी अर्को गीतमा सनम मैयाँले नृत्य गर्दै थिइन् । नाचको कार्यक्रम सकेर अबको पालो गीतको भन्दै संगीताले मेरो नाम लिएर अब सोहिल दाइको ड्याडले गीत गाउनु हुनेछ भनिन् । म खासै तयारीमा त थिइन तर जुनेश, रविनाको अनुरोध केही पहिलै देखिको हो भरे के पर्ला गीत गाउनु पर्ने नै भयो भने त गाउनै प¥यो भनेर मैले यसो बसिबियाँलो गर्न गीत लेखिराखेको डायरी लिएर गएको थिएँ । सोही डायरी लिएर स्टेजतिर गएँ । अप्ठ्यारो अप्ठ्यारो मान्दै गिटार समाएँ । 

स्टेजमा एउटा कुर्सी त थियो तर माइक्रोफोन राख्ने ठाउँ थिएन । माइक्रोफोन संगीताले समाइदिइन् । छोराले ड्रम बजाउन थाल्यो, मैले डायरी पल्टाएर तिघ्रामा राखेर गिटारले थिचेँ । सुरु भयो गीत अरुण थापाको आँखाको निंद खोसी लाने... गीत गाउँदै मुखडा के सकेको थिएँ गिटार हल्लिएर डायरी भुईंमा खस्यो । डायरी खसेको देखेर बुहारी रोशनी दौडेर आएर उठाइन र मलाई हेर्न सजिलो होस् भनेर देखाई रहिन् । मलाई भने आपत परिसकेको थियो । गीत विचैमा रोक्नु पनि भएन । अन्तरा पनि अरुबेला त सरर आउँथ्यो त्यसवेला मेलो सरेन । डायरी देखाउनेले देखाइरहेकी थिइन् तर आफूले पल्टाएको पाना सही थियो कि थिएन हेरिनन् । माइक्रोफोन समाउनेले पनि समाइरहिन् मलाई अप्ठ्यारो परेको महसुस गरिनन् । छोराले ड्रम लयमा बजाइरह्यो मैले गिटार बजाउन र गाउन पनि छाडिनँ । अन्तराका शब्दहरू अगाडिका पछाडि पछाडिका अगाडि गर्दै भए पनि गीत सकियो । हलमा ताली पड्कियो पट्ट्ट्ट्ट । 

अब पालो थियो हाँस्ने । मैले रोशनीले पल्टाएको पाना देखाएँ, उनी हाँसिन् । ज–जसले वास्तविकता बुझे सबै हाँसे । गीतको अफर अझै आउँदै थियो । केही गीतका टुक्राटुक्री सकेर फुर्सद लिएँ । म एडेलैड पुग्नु अघिदेखि नै छोराले आफ्नो ड्याडीले मिठो गीत गाउनुहुन्छ भन्थ्यो रे उसका साथीभाइहरूसँग मैले कतै त्यो ईमेज बिगारी त दिइनँ आफैलाई प्रश्न गरें । प्रोफेसनल सिंगरहरूले त कतिपय बिगार्छन् आफू परियो टुक्रे उस्ताद चित्त बुझाएँ । सायद छोराले पनि यस्तै सोच्यो होला । अर्को कुनामा छोराकी आमा आफ्नो पतिले गाएको सुनेर मख्ख पर्दै मुसुमुसु हास्दै वरिपरी नजर घमण्डी पाराले डुलाउँदै थिइन् । मनमनले भन्दै थिइन् होला “देख्यौ म पनि राम्रै गायककी पत्नी हुँ ।” सालो सरोज र अंकुरा बहिनी पनि दङ्ग थिए । मैले चाहिं मनमनै भनें जान्नेलाई के उल्टो के सुल्टो । हा... हा.... हा... ।

‘यात्राको डायरी’ बाट