लागेको बानी र सिकेको सिप कसैगरी छुट्दैन रहेछ । कुनै काम गर्ने बानी परेपछि काम गर्न नपाउँदा दिन काट्न सारै गाह्रो पर्दोरहेछ ।  सिकेको सिपको सिर्जना गर्न नपाउँदा त झनै सारोे । फित्कौली देखेकै बेलादेखि मट्याङ्ग्रा बाट्ने बानी परेको तर धेरै दिनदेखि फित्कौली कता हरायो कता । बिघ्नै खोजी गरियो । कहिले मर्मतमा छ भन्थे, त कहिले के मा । छिटै फित्कौली भेटिएला भनेर मट्याङ्ग्राहरू चिल्ला चिल्ला पारेर सुकाएर राखेको धेरैले चोरेर लगे कता पु¥याए कता । ठूलै सिकार मारेर खाए कि ? भ्याकुरो पड्काए अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । कतिपल्ट माटो मुछियो, सुक्यो । फेरि पानी हालेर गिलो पारियो, फेरि सुक्यो । अब चाहिं फित्कौली भेटिन्छ कि भन्यो ऊ त मर्मतकै बेडमा सुतिरह्यो ।
 
भरखरै फित्कौलीको तर्फबाट विज्ञप्ति आयो, फित्कौली पूर्ण स्वस्थ्य भएर डिस्चार्ज भयो भनेर । मेरो खुसीको सिमा नै रहेन । विज्ञप्तिमा मट्याङ्ग्राको आवश्यकता पनि देख्दा त तुरुन्तै स्टकबाट माटो झिकेर भिजाई हालुँ जस्तो पनि लाग्यो तर धेरै समयसम्म थन्किएर रहेको माटोको मट्याङ्ग्रा कस्तो बन्ला सिकार त के भ्याकुर पनि ढल्ला कि नढल्ला जस्तो लाग्यो । नयाँ माटोकै जोहो गर्नु पर्ला जस्तो लाग्यो । माटोखानीतिर गएको माटोको रङ्ग नै बेरङ्ग हो कि इन्द्रेणी रङ्ग हो आँखै तिरिमिरी भो । निकैबेर घोरिएर हेर्दा बल्ल आफूले पहिला खनेका डोबहरू फेला प¥यो । माटो लिने विचारले कोट्याएको डोको भरिएला जस्तो लागेन र सोहोरसाहर पारेर फित्कौली सम्झदै मट्याङ्ग्रा बटारेको छु । चिल्लो फुस्रो जस्तो भए नि । 

जहाज प्वाल पर्दा फालहाल्ने मुसाहरू जस्तो हामफाल्ने विचार पनि गरिएन, न त कोमल ओलीले पार्टी परिवर्तन गरेझै मन परिवर्तन गर्न । मुसाहरू झै हाम्फाले पनि आखिर जाकिने त त्यै समुन्द्रमै हो । कोमलले झै जति पार्टी बदले पनि चान्स पाउने उत्तिनै हो । आफू त सुरुदेखि नै फित्कौलीको शुभचिन्तक दायाँबायाँ गर्ने कुरै भएन । मट्याङ्ग्राको लागि फित्कौली जतिको सजिलो अरु के हुन्थ्यो । घुँएत्रोमा मट्याङ्ग्रा हाल्ने कुरै भएन । घुँएत्रोमा त टपक्क ढुंगा टिप्यो हान्यो गरे भै हाल्यो । हुन त फित्कौलीको लोतीमा हालेको मट्याङ्ग्रा तन्काएर सिकार हान्न लाग्दा प्वाट्ट फुट्यो भने रमाउने घुँएत्रोबाजहरूको तमासा पनि देखिन्छ । तिनलाई घुँएत्रो हान्न राखेको ढुंगा चाहिँ कहिल्यै फुट्दैन भन्ने भ्रम भएर हो क्यार । सबै ढुंगाहरू एकनासका हुँदैनन् कुनै त फोस्रा पनि हुन्छन् भन्ने ज्ञान भएको भए त अर्काको मट्याङ्ग्रा फुट्दा तेत्रो अट्टहासै चाहिँ गर्ने थिएनन् होला बबुराहरू । कहिलेकाहीँ घुँएत्रो हान्दा हातबाट घुँएत्रो छुट्ने तालमेल मिलेन भने ढुंगा फर्किएर सिधै टाउकोमा लाग्छ भन्ने त बुझ्नु पर्ने । हुन त आफूलाई बज्रपात नपरी कहाँ थाहा हुन्छ र । फित्कौली बनाउन जति गाह्रो छ मट्याङ्ग्रा बाट्न त्यो भन्दा गाह्रो हुन्छ । घुँएत्रो हान्नेहरूले जतिसुकै फुर्ति लगाए पनि फित्कौलीको झै तारो हान्न सक्ने होइनन् के फूर्ति लगाउनु । कि कसो ?    

काठमाडौं